लोडसेडिङ कालमा विशेष सुविधा मार्फत बिजुली लिएकाहरु बाट पन्ध्र अर्ब उठाउन अझै बाकी – Nepalboli

लोडसेडिङ कालमा विशेष सुविधा मार्फत बिजुली लिएकाहरु बाट पन्ध्र अर्ब उठाउन अझै बाकी

   १९ भाद्र २०८०, मंगलवार  

केही बर्ष अगाडी लोडसेडिङले आम नागरिक दिक्क-वाक्क भएको वेला औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत प्राधिकरणले छुटै विशेष व्यवस्था गरेर दिएको विजुलीको महसुुल १५ अर्ब उठाउन अझै वाकी रहेको खुलेको छ । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकहरु विद्युत महसुल बक्यौता नतिरे पछि नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे कानुनी व्यवस्थाबमोजिम लाइन काटिने चेतावनी दिएको छ ।

लोडसेडिङको समयमा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र एक सबस्टेसनबाट अर्को सबस्टेसन जोड्ने ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका तर प्रिमियमसहितको महसुल नतिर्ने औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ग्राहक सङ्ख्या ६७ रहेको प्राधिकरणले जनाएको छ ।

बक्यौता तथा जरिबाना गरी यस्तो रकम २०७२ साउनदेखि १५ अर्ब ४२ करोड ८० लाख रुपियाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस्तो रकम किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा दिए पनि भुक्तानी हुन सकेको छैन ।

डेडिकेटेड तथा ट्रङ्क लाइनतर्फका ५१ उपभोक्ताले सो रकम भुक्तानी अस्वीकार गर्दै विभिन्न अदालतमा रिट दर्ता गरेका थिए । तीमध्ये ४३ वटा उपभोक्ताको रिट खारेज गर्दै महसुल तिर्नुपर्ने निर्णय अदालतले सुनाएको थियो तर अधिकांशले शुल्क नतिरेको प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै