रास्वपाको अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न – Nepalboli

रास्वपाको अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न

   २०८२ चैत्र ४, बुधबार  

राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो ।

कार्यक्रमको सुरुवातमा पार्टीका सभापतिद्धय डीपी अर्याल र डा।स्वर्णिम वाग्लेले घण्टी बजाएर संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

उपसभापति डा वाग्लेले आफ्नो सम्बोधनमा प्रभावकारी संसदीय अभ्यास, नीतिगत स्पष्टता र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । त्यस्तै उपसभापति अर्यालले चुनावी अभियानका अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिए ।

सहमहामन्त्री विपिनकुमार आर्चायले सञ्चालन गरेको सो कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने उद्देश्य लिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, सङ्घीय संसद्को संरचना तथा कार्य प्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्ड जस्ता विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। पूर्व सचिवहरू, विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै