मधेश प्रदेशका २४ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट – Nepalboli

मधेश प्रदेशका २४ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

   २०८२ मंसिर ७, आईतवार  

चालु आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि मधेश प्रदेशका २४ स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेको छैन । संवैधानिक व्यवस्था अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने व्यवस्था भए पनि मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये ११२ ले मात्र बजेट सार्वजनिक गर्न सकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, देशभर ७२८ स्थानीय तहले बजेट प्रस्तुत गरिरहेका छन् भने २५ तहले अझै बजेट ल्याएका छैनन् ।

तीमध्ये २४ स्थानीय तह मधेश प्रदेशका छन् । सो मध्ये सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान–विहुन गाउँपालिका र कल्याणपुर नगरपालिका हालसम्म बजेट सार्वजनिक गर्न नसकेको तथ्यांकमा उल्लेख छ ।

धनुषाको धनौजी गाउँपालिका, महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका तथा मलङ्गवा नगरपालिका चालु आवको बजेट सार्वजनिक गर्न सकेको छैन ।

त्यस्तै सिराहा जिल्लाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाले पनि बजेट प्रस्तुत गर्न सकेको छैन ।

रौतहटका कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका तथा पर्साको पकाहा मैनपुर गाउँपालिकाले पनि बजेट सार्वजनिक गर्न सकेको छैन ।

यी स्थानीय तहहरूमध्ये अधिकांशले कर्मचारी अभाव, स्थायी प्रमुख प्रशासकीय अधिकृत नहुनु, राजनीतिक अस्थिरता तथा आन्तरिक प्रक्रियागत ढिलाइलाई कारण देखाएको मन्त्रालयको भनाइ छ । बजेट अभावका कारण ती स्थानीय तहमा विकास योजना, सेवाप्रवाह र वित्तीय प्रतिबद्धता अनिश्चित बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै