यस कारण बन्द हुने अवस्थामा पुुगे अमेरिकी बैंकहरू – Nepalboli

यस कारण बन्द हुने अवस्थामा पुुगे अमेरिकी बैंकहरू

   १ चैत्र २०७९, बुधबार  

अमेरिकामा पछिल्लो हप्ता तीन वटा बैंक बन्द भए। निरन्तर रुपमा तीन बैंक बन्द भएपछि विश्वभरीको ध्यान खिचिएको छ। अघिल्लो हप्ताको बुधबार स्यान डिएगोमा रहेको सिल्भर गेट बैंकले आफ्नो सम्पूर्ण कारोबार बन्द गर्ने र बैंकलाई विघटन गर्ने प्रक्रियामा लाने घोषणा गर्‍यो। यो बैंकको मुख्य लगानी नै क्रिप्टोमा थियो। क्रिप्टो डिजिटल मुद्रा हो। अमेरिकामा क्रिप्टोमा लगानी गर्ने एकाध बैंकहरूमा सिल्भर गेट प्रमुखमध्येमा पर्थ्यो। यद्यपि, सिल्भरगेटले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्ने बताएको छ।

सिल्भरगेटको तरंग सेलाउन नपाउँदै शुक्रबार सिलिकन भ्यालीमा रहेको सिलिकन भ्याली बैंक बन्द भयो। बचतकर्ताहरूले केही समयमै ४२ विलियन डलर झिकिदिएपछि यो बैंक बन्द हुने स्थितिमा पुग्यो। अमेरिकाको प्रमुख २० बैंकहरूको समूहमा पर्ने यो बैंक बन्द भएपछि अमेरिकामा सन् २००८ पछिको अर्को आर्थिक संकट सुरु भएको अनुमान गरिएको छ। तर, संघीय सरकार र अन्य नियमाक निकाय भने त्यसलाई अस्वीकार गर्छन्।

सिलिकन भ्याली बैंक (सीभीबी) स्टार्टअपमा र प्रविधिमा लगानी गर्ने बैंक थियो। तर, यो पनि सिल्भरगेटजस्तै क्रिप्टोमैत्री नै थियो।

सिलिकन बैंक बन्दको खबरले सशंकित भइरहेका बेला आइतबार अर्को क्रिप्टोमा लगानी गर्ने बैंक सिग्नेचर बैंक पनि बन्द भयो। यो न्यूयोर्कको ठूलो मानिएको बैंक हो। यसलाई अमेरिकी नियमाक निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन आफैंले बन्द गरिदियो।

ठूलो भनिएको सिलिकन भ्याली बैंक कसरी ध्वस्त भयो
सिलिकन भ्याली बैंकसँग २०२१ मा १८९ अर्ब डलर निक्षेप थियो। सिलिकन भ्याली बैंकले विगत २ वर्षमा आफ्ना ग्राहकको पैसाले अर्बौं डलरको ऋणपत्र खरिद गरेको भए पनि ब्याजदर न्यून भएकाले सो लगानीमा उचित प्रतिफल पाउन सकेको थिएन। यसैबीच, फेडरल रिजर्भ बैंकले प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरूको लागि ब्याजदर बढाइदियो।

यो बैंकका धेरैजसो ग्राहकहरू स्टार्टअप र प्राविधिक कम्पनीहरू रहेकाले ब्याजदर बढेपछि प्राविधिक कम्पनीहरूमा लगानीकर्ता घटेका थिए। पूँजी नपुगेपछि कम्पनीहरूले पनि बैंकबाट बाँकी रकम झिक्न थालेपछि बारम्बार नगद निकासीका कारण बैंकले पनि आफ्नो सम्पत्ति बेच्नुपरेको थियो। जसका कारण बैंकले आफ्नो धेरै धितोहरू घाटामा बेच्नु परेको थियो।

यता बैंकले पूँजी विस्तार गर्न नयाँ सेयर बिक्रीको घोषणा गर्‍यो। यसले धेरै ठूला पूँजी कम्पनीहरूमा डरको वातावरण सिर्जना गर्‍यो र फर्महरूले कम्पनीहरूलाई बैंकबाट पैसा फिर्ता लिन सल्लाह दिए।

सिलिकन भ्याली बैंक बन्द गराउनुमा केन्द्रीय बैंकको नीति प्रमुख रहेको आलोचना पनि हुने गरेको छ। ब्याजदरमा वृद्धि गर्नुले लगानीकर्तामा लगानी गर्नुमा विश्वास नबढेकोले बैंकहरू संकटमा पुगेको आरोप लाग्ने गरेको छ।

एकथरी अर्थशास्त्रीहरू भने क्रिप्टोको भविष्य नरहेकोले उक्त क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाको औचित्य समाप्त भइसकेको बताउन थालेका छन्। सन् २००८ मा अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीको सुरुआती झल्को दिने गरि बैंकहरू बन्द हुन थालेपछि त्यसको असर भने संसारभरी देखिन थालेको छ। पछिल्ला दिनमा नेपालसहित संसारभरीको सेयर बजार खस्किरहेका छन्।

शृखंलावद्ध रुपमा तीन वटा बैंक बन्द भएपछि अमेरिका आर्थिक मन्दीको डिलमै रहेको अड्कलबाजी गरिएको छ। यसको असर यूरोपदेखि भारतसम्म देखिएको छ। तर, राष्ट्रपति जो बाइडेन भने अमेरिका आर्थिक संकटबाट टाढा रहेको दाबी गरिरहेका छन्। यद्यपि, बाइडेन सरकारले निक्षेपकर्ताहरूको बचत सुरक्षित रहेकोले नआत्तिन पनि आग्रह गरेका छन्।

तीन बैंकजस्तै अरुमा संकट आउन नदिन के गरिरहेको छ अमेरिका
अमेरिकी बैंकहरूलाई नियमन गर्ने फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन र फेडेरल रिर्जभले अन्य बैंकहरू यस्ता संकटबाट प्रभावित नहोउन् भनेर कोष सिर्जना गर्ने योजना गरिरहेका छन्।

अमेरिकी फेडरल रिजर्भले पनि सोमबार, १३ मार्चमा आपतकालीन बैठक बोलाएको थियो। यसमा अमेरिकी फेडरल रिजर्भ बोर्ड अफ गभर्नरले यस संकटसँग जुध्न उपायहरूबारे छलफल गरेका छन्। उक्त बैठकपछि छिट्टै विशेष योजनाहरू सार्वजनिक गर्ने बताइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै