भारत सरकारको अनुदानमा नुवाकोटमा विद्यालय भवन निर्माण
भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । मंगलवार नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव श्री प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख श्री राजिन्द्र विक्रम सिंह ठकुरीले विद्यँलय भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन । उद्घाटन पश्चात जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ ।
कार्यक्रममा विदुर नगरपालिकका मेयर श्री राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियो ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यो विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर श्री के आई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन् । यस विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विद्याँलयले जनाएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।