कार्यवाहक वडाध्यक्षको विवादले ३८ दिनदेखि कामकाज ठप्प – Nepalboli

कार्यवाहक वडाध्यक्षको विवादले ३८ दिनदेखि कामकाज ठप्प

   २०८१ बैशाख ३, सोमबार  

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको कामकाज ठप्प भएको ३८ दिन पुगेको छ । सो वडाका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परेसँगै वडाको काम ठप्प भएको हो ।

अध्यक्ष काफ्ले निलम्बन परेको सोमबार ३८ दिन पुगेको छ । तर लामो समयसम्म कार्यवाहक वडाध्यक्षको जिम्मेवारीको विषयलाई लिएर वडाध्यक्षले गर्ने सम्पूर्ण काम ठप्प भएको छ ।

गएको स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष काफ्ले, वडा सदस्य प्रचण्डदीप कार्की र विमला मिजार, नेकपा (माओवादी केन्द्र) बाट सदस्यमा देवी पोखरेल, नेकपा (एकीकृत समाजवादी) बाट सदस्यमा लीलामणि मोक्तान निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष निलम्बन भएपछि कार्यवाहक वडाध्यक्षको जिम्मेवारीको विषयलाई लिएर वडा सदस्यबिच सहमति हुन सकेको छैन । वडा कार्यालयले पटकपटक छलफल गर्दासमेत निर्णय हुन नसकेपछि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको थियो ।

वडा र गाउँपालिका कार्यालयको दुई हप्ता तालाबन्दीपछि गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीको उपस्थितिमा चार जना वडा सदस्यलाई आलोपालो कार्यवाहक दिने सहमति गरिएको थियो ।

सहमति अनुसार वडा सदस्यहरू प्रचण्डदीप कार्कीलाई यही चैत १४ देखि २०८१ साल असार ३१ गतेसम्म, लीलामणि मोक्तानलाई साउन १ गतेदेखि असोज ३० गतेसम्म, देवी पोखरेललाई कात्तिक १ देखि पुस २९ गतेसम्म र विमला मिजारलाई माघ १ देखि चैत १ गतेसम्म कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकिएको थियो ।

सोही अनुसार तामाकोशी गाउँपालिका अध्यक्ष केसीले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँपालिकाको कार्यालय र वडा नम्बर ३ को कार्यालयलाई बोधार्थ दिएर पत्र पठाउनुभएको थियो । सोही पत्रलाई आधार मानेर तामाकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमल निरौलाले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेका वडा सदस्य प्रचण्ड दीप कार्कीको नमुना हस्ताक्षर लिएर जिल्ला प्रशासन कार्यालय दोलखामा पत्र पठाउनुभएको थियो । यसरी गाउँपालिका अध्यक्ष केसी र अधिकृत निरौलाले पत्र पठाए पनि चार जना वडा सदस्यबिच सहमति गर्नुपर्ने भएकाले वडा सदस्यहरू बिच सहमति जुट्न नसक्दा कामकाज हुन नसकेको तामाकोसी गाउँपालिकाले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै