माओवादी अध्यक्ष प्रचण्ड दिल्लीमा, भारतीय प्रम मोदीसँग आइतवार भेटवार्ता हुने
शुक्रबार भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने निश्चित भएको छ । आइतवार बिहान प्रचण्ड र मोदीबीच भेटवार्ता हुने निश्चित भएको हो । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने तय भएको हो ।
नयाँ दिल्ली पुगेलगत्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता शुरु भएको छ। शुक्रवार साझ भारतीय जनता पार्टी (भाजपा) ले प्रचण्डको सम्मानमा नयाँ दिल्लीको मानसिंह रोडस्थित होटल ताजमा रात्रिभोज आयोजना गर्दैछ।
उक्त रात्रिभोजमा भारतीय जनता पार्टीका वरिष्ठ नेताहरु, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा र भारतीय विदेश मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। दाहाल शुक्रबार दिउँसो नयाँ दिल्ली पुगेका हुन्।
प्रचण्डसहितको टोलीलाई होटल ताजमा राखिएको छ। प्रचण्ड बसेको होटल वरपर सुरक्षा सतर्कता उच्च बनाइएको छ।
उनको सुरक्षामा नयाँ दिल्लीका वरिष्ठ प्रहरी अधिकारी खटिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। प्रचण्ड शुक्रबार साँझ अबेरसम्म भाजपाले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।
शनिबार दिनभर प्रचण्डको ब्यस्त कार्यतालिका छ। उनी शनिबार बिहान नेपाली राजदूत डा शंकर शर्माले उनको सम्मानमा दिने ब्रेकफास्टमा सहभागी हुनेछन्। दूतावासका कर्मचारी र माओवादी समर्थित भारतस्थित प्रवासी नेपाली उक्त ब्रेकफास्टमा सहभागी हुनेछन्।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । मोदीसँगको भेटपछि प्रचण्डले भाजपाको कार्यालय भ्रमण गर्ने बताइएको छ । त्यहाँ भाजपाका अध्यक्ष नड्डासहित अन्य नेताहरुसँग भेटघाट र दिवा भोजको आयोजना हुने बताइएको छ ।
यस्तै प्रचण्डले शनिबार बिहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्नेछन् भने त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट हुने कार्यक्रम छ। शनिवार नै प्रचण्ड फाउण्डेशन फर पब्लिक अवेरनेश एण्ड पोलिसी संस्थाले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम छ ।
यस्तै प्रचण्ड शनिबार नै भारतीय विदेश मन्त्री जयशंकरले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने बताइएको छ । शुक्रबार साँझ भने प्रचण्ड र भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट भएको छ । विदेश सचिव क्वात्रा नेपालका लागि पूर्व भारतीय राजदूत हुन् । उनी नेपालमै राजदूत हुँदा सचिवमा बढुवा भएर दिल्ली फर्केका थिए ।