राष्ट्र बैंकद्धारा सार्वजनिक तथ्यांकहरुमा अर्थतन्त्रमा सुधारका संकेत – Nepalboli

राष्ट्र बैंकद्धारा सार्वजनिक तथ्यांकहरुमा अर्थतन्त्रमा सुधारका संकेत

   २०८० पुष २६, बिहीबार  

देशमा आर्थिक सुधार भइरहेको ताजा तथ्यांकले संकेत गरेको छ। चालू आर्थिक वर्षको पाँच महिनामा बाह्य तथा आन्तरिक अर्थतन्त्रमा सुधार देखिएको हो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेका तथ्यांकहरुमा आर्थिक सूचकांकमा सुधारहरु देखिएका छन । बाह्य क्षेत्रतर्फ रेमिट्यान्स बढेको, शोधनान्तर स्थिति बचतमा रहेको, विदेशी मुद्रा सञ्चिति बढेको, व्यापारघाटा घटेको देखिँदा आन्तरिक अर्थतन्त्रमा पनि बैंकहरुको कर्जा प्रवाह विस्तार भएको देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक सूचकांकको मुख्य रुपमा रहेको देशको शोधनान्तर बचत २ खर्ब नाघेको छ। बिहीबार सार्वजनिक चालू आर्थिक वर्षको ५ महिना अर्थात् मंसिरसम्मको देशको शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा छ। त्यसैगरी, विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ। रेमिट्यान्स निरन्तर वृद्धि र आयातमा आयको कमीले सञ्चिति निरन्तर उकालो लागेको छ। सोही अवधिमा रेमिट्यान्स ६ खर्ब १३ अर्ब पुगेको छ। रेमिट्यान्स वृद्धि, पर्यटन आगमनमा सुधारलगायत कारणले शोधनान्तर बचत बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो। यस्तै, समीक्षा अवधिमा चालू खाता १ खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक थियो।

रेमिट्यान्समा निरन्तर वृद्धि भएको छ भने आयात गिरावट कारण विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ। साथै, पछिल्लो समय बैंकहरुले निरन्तर निक्षेपको ब्याजदर घटाउन थालेका छन। कर्जाको प्रिमिय घटाएर कर्जा दिन थालेका छन।

त्यति गर्दा पनि कर्जाको माग भने बढ्न नसकेको बैंकरहरुले बताउदै आएका छन। अर्थतन्त्रका सूचकमा सुधार हुँदा पनि कर्जाको माग नबढनु सकारात्मक होइन। मंसिर मसान्तसम्म समग्र निजी क्षेत्रमा जाने कर्जा भने बढेको छ।

प्रणालीमा ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) थुप्रिदा बैंकहरुले लगानी बढाउन नसक्नु चुनौती बनेको छ।

मंसिर मसान्तसम्म बाह्य अवस्था सुधारिएको छ। तर, पछिल्लो समय विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र त्यसले वस्तु आयातको मूल्यमा पार्ने प्रभाव, अमेरिकी डलरको मूल्यमा भएको वृद्धिका कारण रेमिट्यान्समा देखिएको उच्च वृद्धि, पर्यटकीय गतिविधि चलायमान हुँदा सेवा क्षेत्रमा परेको सकारात्मक प्रभावले विदेशी मुद्रामा सकारात्मक प्रभाव परेको छ ।

गत वर्षदेखि विस्तारै नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको र चालू वर्षसँगै पर्यटक आगमनमा पनि सुधार देखिएकाले त्यसको सकारात्मक प्रभाव सेवा क्षेत्रमा परेको छ।

गत वर्ष सेवा क्षेत्रको खुद आय ३० अर्ब ९६ करोडले घाटामा रहेको स्थितिमा सुधार आउँदै चालू वर्ष मंसिर यस्तो घाटा २८ अर्ब ९३ करोडमा खुम्चिएको छ। त्यसअन्तर्गत भ्रमण आय गत वर्षको पाँच महिनाको तुलनामा ४७.५ प्रतिशतले सुधार आएको छ। तै पनि भ्रमण व्यय पनि ५९.५ प्रतिशत बढेको छ।

मंसिर मसान्तमा भ्रमण आय ३३ अर्ब ९५ करोड र भम्रण व्यय ७५ अर्ब ७३ करोड पुगेको छ। जसको समग्र असर नेपालसँग मंसिरमा रहेको विदेशी विनिमय सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। जुन अर्थतन्त्रका लागि राम्रो मानिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै