रुपन्देहीका १९ उद्योगद्धारा काटिएको विद्युत लाइन जडान गर्न माग – Nepalboli

रुपन्देहीका १९ उद्योगद्धारा काटिएको विद्युत लाइन जडान गर्न माग

   २०८० पुष १८, बुधबार  

रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगले विद्युत काटिएका उद्योगको लाइन पुनः निशर्त जडान गर्न माग गरेका छन्। उनीहरुले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाइन काटिएका उद्योगको विद्युत लाइन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरुले यस्तो माग गरेका हुन्। बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगले नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रंकलाइनको छुट बिलिङ गरेकाले कानुनसम्मत नरहेको छुट बिलका विरुद्ध कानुनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले एक्कासी लाइन काटिएको बताउनुभयो। उहाँले उद्योगमा लाइन काटिदा उद्योगीसँगै मजदुर बिचल्लीमा परेको बताउनुभयो।

विद्युत प्राधिकरणले उद्योगमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुई वटा उद्योगको लाइन काटेको प्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगी त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै