लेखा समितिद्धारा एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई निर्देशन – Nepalboli

लेखा समितिद्धारा एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई निर्देशन

   २०८० मंसिर २०, बुधबार  

एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबारको बसेको समितिको बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने औंल्याएको छ ।

विस्तृत अनुसन्धान नहुँदासम्म एनसेलको सेयर खरिदबिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न (रोक्न) निर्देशन दिएको हो ।

‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलको अवधिभरका लागि यस सेयर खरिद बिक्री कारोबारसम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न) तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’, समितिको बैठकमा भनिएको छ ।

लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।

‘प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेल को ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा सरकारको थप धारणा र अन्य महन्वपूर्ण समसामयिक विषयमा बुझ्न समितिको आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने’, समितिको निर्णयमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै