एनसेल बिक्रीबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग, आजै रास्पाको सचिवालय बैठक पनि बस्दै – Nepalboli

एनसेल बिक्रीबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग, आजै रास्पाको सचिवालय बैठक पनि बस्दै

   २०८० मंसिर २०, बुधबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेल बिक्रीबारे निष्पक्ष छानबिनको माग गरेको छ । रास्वपा सांसदद्वय डा स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले यसबारे निष्पक्ष छानबिन गर्न संसद्को अर्थ समितिको ध्यानाकर्षण गराएका छन् ।

बुधबार समिति सभापति सन्तोष चालिसेलाई ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन् ।

उनीहरूले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।

सचिवालय बैठक बस्दै
रास्वपाले सचिवालयको बैठक आज बोलाएको छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक साँझ पाँच बजे पार्टी कार्यालय वनस्थलीमा बोलाइएको हो ।

उनका अनुसार सचिवालय बैठकअघि यही मङ्सिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएकाहरूको ४ बजे शपथ ग्रहणको कार्यक्रम छ ।

यस्तै बैठकमा पार्टीको समसामयिक विषयदेखि सभापति रवि लामिछानेको मलेसिया भ्रमणको बारेमा ब्रिफिङ हुने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै