सरकारको ध्यान शासकीय प्रणाली सुधारमा केन्द्रित – प्रधानमन्त्री – Nepalboli

सरकारको ध्यान शासकीय प्रणाली सुधारमा केन्द्रित – प्रधानमन्त्री

   २०८० मंसिर २०, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ । बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताउनु भयो । उहाँले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्‍याउनु भयो ।

‘‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौँ । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ । त्यसकारण यो छलफलले हाम्रो त्यो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्छ भन्ने मैले महसुस गरेको छु ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘हामीले सेवा प्रवाहको क्षेत्रमा सानासाना कामहरूमा सुधार गरेर अनि ठुलाठुला कामहरूलाई प्रायोटाईज गरेर जान जरुरी छ । जनताले प्रत्यक्ष रूपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरूप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि जनताको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने हुन्छ ।’’

प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै