असोजमा मात्रै एक खर्ब १७ अर्बको प्रशासनिक खर्च
असोज महिनामा मात्रै सरकारले एक खर्ब १७ अर्ब रूपैयाँको चालु खर्च गरेको छ। कर्मचारीको तलब–भत्ता, प्रशासनिक खर्च र स्थानीय तहमा जाने अनुदान सहितको यस्तो खर्चको लागि ११ खर्ब ४० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा असोजमा मात्रै १० प्रतिशत माथिको खर्च भएको छ।
सरकारले असोज महिनामा तुलनात्मक रूपमा चालु खर्च बढी गर्छ। यो समयमा सरकारले अतरिक्त एक महिनाको तलब दिनुका साथै अन्य भुक्तानीहरू पनि गर्ने भएको कारणले चालु खर्च बढ्ने गरेको हो।
साउन र भदौमा गरिएको चालु खर्चको तुलनामा असोजमा मात्रै ३० प्रतिशत बढी खर्च भएको छ।
भदौ मसान्तसम्म ८७ अर्ब ६६ करोड रूपैयाँको चालु खर्च भएकोमा असोज २८ गतेसम्म दुई खर्ब पाँच अर्ब रूपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
सरकारको खर्चको तुलनामा आम्दानी नहुँदा बजेट घाटा यो अवधिसम्म ४६ अर्ब रूपैयाँ पुगेको छ। असोज २८ गतेसम्म दुई खर्ब २२ अर्ब रूपैयाँको सरकारी आम्दानी भएकोमा दुई खर्ब ६८ अर्ब रूपैयाँको खर्च पुगेको छ।