एक दर्जन भन्दा वढी महत्वपूर्ण विधेयक संसदमा अलपत्र – Nepalboli

एक दर्जन भन्दा वढी महत्वपूर्ण विधेयक संसदमा अलपत्र

   २०८० आश्विन २, मंगलवार  

६ महिना अघि संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि संसदीय समितिले अझै सहमति जुटाउन सकेको छैन । यो विद्येयक २५ फागुन २०७९ मा संसदमा दर्ता भएको थियो ।

यो मात्र होइन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि कानुन न्याय तथा मानव अधिकार समितिमै छलफलमा छ । यो विद्येयक २७ माघ २०७९ मा संसदमा दर्ता भएको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार दशैंको लामो विदाअघि संसदको अधिवेशन अन्त्य हुनुअघि केही महत्वपूर्ण विधेयक पास गर्ने तयारीमा रहेको दावी गरेका छन ।

प्रतिनिधि सभाको बैठक असोज १४ गतेका लागि बोलाइएको छ । असोज २८ गते हिन्दुहरुको पर्व दशैंको घटस्थापना छ, त्यसअघि नै संसदको अधिवेशन अन्त्य हुनेछ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभामा हाल १२ वटा विधेयक र राष्ट्रिय सभामा तीन वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभामा विचाराधीन तीन वटा विधेयकमध्ये अध्यागमन विधेयकमाथि विधायन व्यवस्थापन समितिले दफावार छलफल सकेर विधेयकको प्रतिवेदन सभामा पेश गरेको छ । विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा छलफलमा छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधीन छ । समितिका सचिव हृदयराम महर्जनका अनुसार विधेयकमाथि दफावार छलफल गर्नका लागि उपसमिति गठन भएको छ ।

प्रतिनिधिसभामै दर्ता भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराका अनुसार समितिमा चारवटा विधेयक विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, भ्रष्टाचार निवारण (पहिलो) संशोधन विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक र अनुगमन तथा मूल्यांकन विधेयक राज्य व्यवस्था समितिमा छ ।

सार्वजनिक सेवा प्रसारण विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ ।

पछिल्लो समय प्रतिनिधि सभामा दर्ता भएका विद्यालय शिक्षा विधेयक २०८० र विद्युत विधेयक २०८० पनि प्रक्रियामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै