भोटेकोसी बाढीको क्षतिदेखि जलवायु संकटसम्म: बालेन आज न्युयोर्क जाँदै – Nepalboli

भोटेकोसी बाढीको क्षतिदेखि जलवायु संकटसम्म: बालेन आज न्युयोर्क जाँदै

   २०८३ आश्विन ६, मंगलवार  

काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह न्युयोर्क जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनपछि उनी नेपाल फर्किने कार्यक्रम रहेको छ ।

महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको प्राकृतिक विपद् र त्यसबाट भइरहेको जनधनको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछन् ।

विशेषगरी पछिल्लो समय रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति बारे जानकारी गराउँदै नेपाललाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन विश्व समुदायसँग आग्रह गर्ने तयारी छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनका असर भने ठूलो मात्रामा व्यहोर्नुपरेको विषय प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनेछन् ।

प्रधानमन्त्री शाहले नेपालको प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमालय र विस्तृत नदी प्रणालीमार्फत वातावरण संरक्षणमा नेपालले पुर्‍याउँदै आएको योगदानबारे पनि विश्व समुदायलाई जानकारी गराउनेछन् ।

त्यस्तै, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिइरहेका असर र त्यसबाट उत्पन्न जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको सचिव राईले बताएका छन् ।

यसैबीच, महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै अमेरिका पुगिसकेका छन् । उनले महासभाअन्तर्गतका विभिन्न बैठक तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने र विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै