तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल – Nepalboli

तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल

   २०८३ भाद्र २४, बुधबार  

काठमाडौं— रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा जारी ८८खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार तथा समग्र सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिइरहनुभएको छ ।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार अभियान, राहत तथा उपचारको अवस्था, सुरक्षा परिचालन र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ । बाढीपछि बेपत्ता भएकाको खोजी तथा प्रभावितको उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै