एमबीएसको परीक्षा सुरु भएकै मिनेटमा प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो। हजारभन्दा बढी सदस्य रहेको ‘एमबीएस प्रथम सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र मात्र पोस्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो।
परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने यो घटना बाहिरिनेबित्तिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तत्काल कदम चाल्नुभयो। मन्त्रीको सक्रियताकै कारण २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यही साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भएको थियो। ग्रुपमा ‘सुलभ सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको ९अर्थशास्त्र० को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए। परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी सङ्गठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो।
प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गर्नुभयो। उहाँले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई २४ सै घण्टा परिचालन गर्न निर्देशन दिनुभयो।
मन्त्री पोखरेलको निर्देशन र शून्य सहनशीलताको नीतिका कारण प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्यो। नतिजास्वरूप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलभ सर’ सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो।
शिक्षामन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै शैक्षिक अपराधमा कसैलाई छुट नदिइने स्पष्ट पार्नुभयो। उहाँले त्रिविको परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरबाही गर्ने आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरी दोषीलाई कारबाही गरिने बताउनुभयो।
यसैक्रममा त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले पनि प्रा डा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले परीक्षा केन्द्रको सुरक्षा, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउने छ।