संसदमा नेपाली काँग्रेसको मोर्चा फराकिलो बन्दै
सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्ने नेपाली काँग्रेसको मागमा राप्रपा, लोसपा सहित सतारुढ दल एकिकृत समाजवादीको समर्थन देखिएको छ । यो संगै संसदमा नेपाली काँग्रेसको मोर्चा फराकिलो बन्दै गएको देखिन्छ ।
मंगलवारसम्म प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उठाउँदै आएको उक्त मागको पक्षमा बुधवारदेखि राप्रपा र लोसपा पनि सहमत भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेससंगै यी दुई दलका सांसदहरुले पनि छानबिन समिति गठनको माग राखेका छन् ।
लोसपाका सांसद रामप्रकाश चौधरीले सहकारीबाट धेरै नागरिक पीडित भएकाले तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । त्यस्तै राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र शाही) ले पनि छानबिन समिति गठन गर्न माग गरे ।
यसको साथै सत्तापक्षकै सांसद राजेन्द्रप्रसाद पाण्डेले समेत घुमाउरो भाषामा आफूलाई संसदीय समिति गठनको पक्षमा उभ्याए । उनले काँग्रेससँग अर्थपूर्ण र सार्थक सहमति गरेर सदनको अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
तर, सत्ता पक्ष भने अहिलेसम्म संसदीय समिति बनाउन तयार भैसकेको छैन । जसका कारण केही दिनयता संसद बैठक प्रभावित हुँदै आएको छ ।आज पनि आकस्मिक समयको कार्यक्रम सकिएलगत्तै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले सभालाई निर्धारित कार्यसूचीमा प्रवेश गराउन खोज्दा काँग्रेस, राप्रपा र लोसपाका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए ।
सभामुखले बारम्बार आग्रह गर्दा पनि सांसदहरुले अवरोध जारी राखेपछि वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।