Page 53 – Nepalboli

निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।”

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पूर्वसांसद नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिनुभयो ।

प्रधानमन्त्री कार्कीले यहाँसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राख्नुभएको थियो । जवाफमा उहाँले चुनावको तयारी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले उहाँलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “चुनाव हुन्छ, तयारी अवस्थामा रहनू । तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ । अनि मात्र देशमा केही हुन्छ । बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन । पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ । देश युवाले नै हाँक्नुपर्छ । युवामा साहस र ऊर्जा छ ।”

पूर्वसांसद नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ स्थलगत अवलोकन गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिनुभयो ।

 

 

 

 

मधेश प्रदेशसभाको सभामुखमा यादव निर्वाचित

मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित हुनु भएको छ। मधेश प्रदेश सभाको आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सभामुख पदका लागि भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत परेको छ। उक्त सङ्ख्या प्रदेश सभामा कायम रहेको प्रदेशसभा सदस्य १०७ को बहुमत भन्दा बढी रहेकोले यादवलाई सभामुखमा निर्वाचित गरिएको हो। बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा २४ जनाले यादवको विपक्षमा मतदान गर्नु भएको थियोे।

प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि जसपा नेपालकोतर्फ बाट रामअशिष यादव र नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादको उम्मेदवारी परेको थियो।

देशव्यापी आन्दोलन गर्ने जेनजी समूहको घोषणा

जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडौँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको ढुङ्गानाले बताए ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

सो समूहले राज्य पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारबाहीका लागि सर्वपक्षीय गोलमेच सम्मेलन या संविधान परिमार्जन सभा गरी गरी संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै जेनजीहरूमाथि लगाइएका मुद्दा खारेज गरी धरपकट रोनुनुपर्ने तथा जेनजी आन्दोलनमा भएको मानवअधिकार उल्लंघन र घातक दमनको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने पनि एजेन्डा बनाइएको छ ।

हालसम्म सबै तह र निकायमा भएका भ्रष्टाचारको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै त्यसका लागि शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।

साथै गैरआवासीय नेपालीप्रति अपनाइँदै आएको संकुचित दृष्टिकोणको अन्त्य गर्ने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ ।

त्यस्तै उखु किसान, मिटरब्याजपीडित, सहकारीपीडित, लघुवित्तपीडितलगायतको ठगी हिंसा र शोषणका घटनाहरुको तत्काल छानबिन गर्नुपर्ने माग गरिएको छ ।

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए ।

सरकारले विसं २०७८ को जनगणनाको प्रतिवेदनअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्याको प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची (१) लाई संशोधन गर्न सिफारिस गरेको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७४ (पहिलो संशोधन) अध्यादेश, २०८२ ले गरेको व्यवस्था अनुसार आयोगले समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवार सिफारिस गर्दा पछिल्लो जनगणनाबमोजिम समावेशी समूहको प्रतिशत मिलाएर सिफारिस गर्नुपर्ने निर्णय गरेको जानकारी दिए।

राष्ट्रिय तथ्यांक कार्यालयद्वारा गरिएको २०६८ सालको जनगणनामा दलितको जनसङ्ख्या १३ दशमलव आठ रहेकामा २०७८ को जनगणनामा सामान्य घटेर १३ दशमलव चार भएको छ । आदिवासीरजनजातिको अघिल्लो जनगणनामा २८ दशमलव सात रहेकामा पछिल्लोमा २८ दशमलव दुई रहेको छ । खस आर्य समूहको अघिल्लोमा ३१ दशमलव दुई रहेकामा पछिल्लोमा सामान्य घटेर ३० दशमलव तीन पुगेको छ ।

थारु समुदायको छ दशमलव छ बाट छ दशमलव पाँच प्रतिशत भएको छ । मुस्लिम र मधेसीको जनसङ्ख्यामा सामान्य वृद्धि भएको छ । विसं २०६८ को जनगणनामा मुस्लिमको चार दशमलव चार रहेकामा २०७८ को जनगणनामा चार दशमलव नौ प्रतिशत देखिएको छ । मधेसी समुदायको १५ दशमलव तीन बाट बढेर १६ दशमलव तीन पुगेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची-१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने देखिएकाले अध्यादेश जारी भएको हो ।

प्रतिनिधि सभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसङख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने छ ।

उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय सीमा तोकिएको छ ।

दलहरूलाई तालिम लिइँदै
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा उम्मेदवार सिफारिस गर्दा अपनाउनुपर्ने विधि र पद्धतिका सम्बन्धमा यही पुस ८ र ९ गते राजनीतिक दलका प्रतिनिधिलाई तालिम दिँदै छ ।

आयोगका अनुसार तालिममा उक्त प्रणालीका लागि निर्वाचनमा भाग लिन आवेदन दिएका पुराना र नयाँ दलका प्रतिनिधि सहभागी हुनेछन् ।

सोमबार प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
यसैबीच, प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा सोमबार सर्वपक्षीय छलफल हुने भएको छ ।

यसअघि पनि विभिन्न समयमा यसप्रकारका छलफल भएकामा निर्वाचनको तयारीको पछिल्लो उपलब्धि र प्रयास तथा सरोकार भएका पक्षको धारणा बुझ्न सिंहदरवारमा सोमबार छलफल गर्न लागिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरेको हो । बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’ बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ ।

हाल चितवन-पर्सा कम्प्लेक्स र बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहे पनि शुक्लाफाँटा तेस्रो कम्प्लेक्समा रहेकाले उक्त स्थानमा गणना सकिएपछि यहाँ सुरु गरिने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार तेस्रो कम्प्लेक्सअन्तर्गत शुक्लाफाँटामा बाघ गणना हुने छ ।

“त्यसका लागि निकुञ्ज कार्यालयको जनशक्ति तयारी अवस्थामा राखेको छ । बाघ गणनाका लागि निकुञ्जका तर्फबाट सबै तयारी पूरा भइसकेको छ, आवश्यक जनशक्तिसहित हामी तयारी अवस्थामा छौँ”, उनले भने, “विभागबाट तालिम सञ्चालन भइसकेको छ । पहिलो र दोस्रो कम्प्लेक्समा गणना सकिएर क्यामरा यहाँ आएपछि गणना सुरु हुन्छ ।”

पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै गएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय गणना अनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेका थिए । तर निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यसवर्ष ४३ बाघ फेला परेका छन् ।

“निकुञ्ज कार्यालयले पनि हरेक वर्ष बाघको सुपरिवेक्षण गर्छ”, सूचना अधिकारी वाग्लेले भने, “शुक्लाफाँटा सानो क्षेत्रफलमा भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको हो ।”

उनका अनुसार निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रतिवर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनु भएको छ। ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो।

उहाँले प्रतिनिधि छनोट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाको दुरूपयोग गर्ने काम भएको बताउनु भयो। यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिह्न खडा गरेको उहाँको भनाइ छ। उहाँले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताउनु भयो।

उहाँले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताउनु भयो। एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरूलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिनुभयो। उहाँले आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने बताउनु भयो। विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उहाँको भनाइ छ।

उहाँले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्नुहुँदै सामुहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेन्डा भने उठाइरहने बताउनु भयो। उहाँले पार्टीभित्र अपमान हुने गरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो।

पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा समीक्षा गर्ने भेलाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो। निर्वाचनमा सहभागी भएर सफलता हासिल नसकेकालाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उहाँले बताउनु भयो।

 

 

 

 

 

सुशासनको डण्डा चलाएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ- सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गर्नु भएको छ। चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो। पुराना राजनीतिक दलले दुःख दिए पनि नयाँले नदिने उहाँको दाबी छ।

उहाँले भन्नुभयो, ‘मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनु पर्छ। भत्केका संरचना बनाउनुपर्ने छ। टुटेका सपनाहरुमा आवाज दिनुपर्ने छ। यसरी हामी तयार भएर बसेका छौँ। पुरानाले दुःख दिए आजका नयाँले दुःख दिने छैनन्। तपाईंहरुको सबैको साथ, विश्वास र मायाका साथ मुलुकलाई नयाँ दिशामा लैजाने छौँ। आगामी चुनाव तपाईं हामी सबैको भविष्यको लागि महत्त्वपूर्ण छ। सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन गर्न आग्रह गर्दछु।’

उहाँले प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा उज्यालो पार्न आग्रह गर्नुभयो।

 

 

निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताउनु भएको छ । शनिबार काठमाडौँमा आयोजित एकता सभालाई सम्बोधन गर्नुहुँदै प्रचण्डले भन्नुभयो, ‘निर्वाचन अहिले नेपालको राष्ट्रिय आवश्यकता बनेको छ । अब निर्वाचनको विकल्प छैन ।’

उहाँले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल पार्न एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । अब अरु विकल्पमा जाँदा जोखिम हुने भन्दै उहाँले निर्वाचनको विकल्पमा जानुको विकल्प नभएकोमा उहाँको जोड छ । उहाँले निर्वाचनको मिति सार्ने काम सरकारले गर्नु नहुनेमा समेत जोड दिनुभयो । सरकारले निर्वाचनको मिति सार्ने काम गरेमा संविधान मिचिने उहाँले दाबी गर्नुभयो । उहाँले शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्नुभयो । प्रचण्डले नेकपाको शक्तिलाई जिस्क्याउने काम नगर्न चेतावनीसमेत दिनुभयो ।

उहाँले जेनजीको अभिभावक नेकपा भएको भन्दै जेनजीका प्रतिनिधि हामी हौँ भनेर स्टन्ट नगर्नसमेत चेतावनी दिनु भएको छ । ‘अहिले जेनजी युवाका प्रतिनिधि हौँ भनेर स्टन्ट गर्ने धेरै देखिएका छन् । जेनजी युवा भनेको एउटा उमेर समूह हो । त्यो कुनै संस्था, विचार र सङ्गठन होइन । जेनजी यत्रतत्र जतासुकै छन् । जेनजी हाम्रो पेवा भन्ने ठानेको छ भने त्यो भ्रम त्यागे हुन्छ । नेपाली कम्युनिस्ट पार्टीले जसले भ्रष्टाचारविरुद्ध, सुशासनका लागि लडाइँ लडेको छ । हामी नै जेनजी पुस्ताका सही प्रतिनिधि हौँ । कसैले स्टन्ट नगरे हुन्छ । जेनजीको असली अभिभावक नेकपा हो । ’

 

 

 

 

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनु भएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताउनु भयो ।

“मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “ एक खर्ब १९ अर्ब रुपियाँ बराबरको बजेट पुनःप्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको छ, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ ।”

‘हेलो सरकार’मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको र काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको छ भने राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत् थपिएको प्रधानमन्त्रीको भनाइ छ ।

जेनजी आन्दोलनले हाम्रा सडकमा एउटा फरक कम्पन पैदा गर्यो, त्यो छटपटी र त्यो आक्रोशले हाम्रो समाजलाई केही हदसम्म बिथोल्ने प्रयास गरे पनि, त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको छ” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक सङ्कटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्छ ।”

निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ । ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको समेत १०० दिनको उपलिब्धमा उल्लेख छ ।

“आन्दोलनका क्रममा लुटिएका एक हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ, यस अतिरक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ” प्रधानमन्त्रीले कार्कीले भन्नुभयो, “क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका बताउनु भयो ।

“आज एक करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ, ११४ वटा राजनीतिक दल यस प्रक्रियामा सहभागी हुनुले हाम्रो लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित गर्छ, उहाँले भन्नुभयो, “विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौँ ।”

भदौ २३ र २४ को त्यो दुःखद् घटनापछि देश फेरी शान्तिको बाटोमा फर्किएको र ती घटनामा ज्यान गुमाउने योद्धालाई सहिद घोषणा गरी घाइते योद्धाको उपचारका साथै जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

साथै, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मार्फत काम थालिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ती नमीठा पललाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माणतर्फ हातमा हात मिलाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कतिपयको मनमा निर्वाचन र सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ त भन्ने विषयमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो, म तपाइँहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्नेजस्ता हल्ला पूर्णतःनिराधार र भ्रमपूर्ण छन् । यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टानझैँ दृढ छ ।”

उहाँले चुनाव कसैको हार–जित नभई लोकतन्त्र र सुशासन जिताउने अभियान भएको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो भएको स्पष्ट पार्नुभयो ।

“म विशेषगरी हाम्रा ‘जेनजी’ युवालाई भन्न चाहन्छु, तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ, तपाइँको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ ।”

प्रधानमन्त्री कार्कीले आजभन्दा १०० दिनअघि देशको अवस्था हेरेर सबै राजनीतिक पक्षलाई विनम्र अनुरोध गर्दै उहाँले असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन मेरो मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, राष्ट्रसेवक र नागरिक समाजका सदस्यले अथक प्रयास गर्नुभएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “फलस्वरूप मुलुकमा शान्ति स्थापना गरी स्थितिको सामान्यीकरण र कानुनको शासन बहालीमा सफलता मिलेको छ । खासगरी सुरक्षा निकायको मनोबल अहिले र आजका लागि मात्र होइन, दीर्घकालसम्म बढाउने काम गर्दै छौँ ।”

प्रधानमन्त्री कार्कीले विगतमा शक्तिको आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणमा अनुसन्धान गर्ने निकायले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएको र कारबाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको भनाइ राख्नुभयो ।

“कुनै पद वा शक्तिको निकटता नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको छ” उहाँले थप्नुभयो, “मिलेमतोमा ठेक्का हात पार्ने, विकास आयोजनाको कामै नगर्ने र राज्यको स्रोतसाधन दुरुपयोग गर्नेको माखेसाङ्लो तोड्न पनि सरकार लागि परेको छ ।”

जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रिय एकताका लागि आह्वान गर्दछु, चुनावमा कसले जित्छ वा कसले हार्छ, त्यो गौण कुरा हो, हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठुलो कुरा हो, अराजकताले कसैलाई खुसी दिँदैन, केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ, हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन, यो त एउटा लामो र अबिराम यात्रा हो । यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैबाट अथक पसिना र समयको माग गर्ने धैर्यको खाँचो छ ।”

आगामी फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न र राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ । यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस्

भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए। अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे। जवाफमा सौरनले भनेका थिए, “बहिनी यहाँ भएको भए तँ पनि जान्थिस, चिन्ता लिनुपर्दैन केही हुँदैन।”

त्यो बिहान आन्दोलनमा जाने सौरनको हठले जित्यो। अघिल्लो रात बचेको खाना तताएर खाए। दारी काटे र नुहाए। घरबाट निस्किँदै गर्दा साथमा चाउचाउ, चिप्स, पानी र रुमाल राखेको झोला भिरे।

“मुलुकमा देखिएको भ्रष्टाचार र राजनीतिक विसङ्गतिविरुद्ध आह्वान हो, हामी बोल्नुपर्छ बुबा”, घरबाट निस्कन अघि सौरनले बुवालाई सम्झाउँदै भनेका थिए।

अन्तरमुखी स्वभावका सौरन पहिलो पटक आन्दोलनमा सहभागी हुँदै थिए। यता, परिवारको चिन्ता चुलिँदै थियो। सामाजिक सञ्जालमा जेनजीले उठाएको मुद्दाले उनलाई छोएको थियो। राजनीतिप्रति कम चासो लिने उनले त्यो आन्दोलनलाई भने चासोका साथ लिएका थिए।उनी यसपटक दबाबमूलक प्रदर्शनमा सहभागी हुने अठोट गरेका थिए।

काठमाडौँ नगरपालिका–१६ वनस्थलीमा बस्ने सौरन किशोर श्रेष्ठले माइतीघरस्थित जेनजी प्रदर्शनमा सहभागी भएको केही समयसम्म पनि श्रीमती रोजिता श्रेष्ठसँग फोन सम्पर्कमा थिए।

केही समय लगत्तै सम्पर्क टुट्यो। यता प्रदर्शनकारीमाथि सरकारको दमन र मृत्युको समाचारमा मृतकको सङ्ख्या बढ्न थाल्यो। तत्कालीन समयमा अमेरिकामा रहेका बुबा किशोरले समाचारबाट थाहा पाए, छोराले सहादत प्राप्त गरेछ।

“सरकारको दमनबाट प्रदर्शनकारीको मृत्यु भएको समाचारबाटै थाहा पाए, त्यो घटनामा हाम्रो छोरा परेछ। तर श्रीमतीलाई भनिन्, कसरी भन्न सकू”, छोरोबारे कुरा गर्दै गर्दा काखमा छ वर्षे नाति, सौरनको छोरा श्रेयनलाई च्यापिरहनु भएको छ, “संसद् भवन अगाडिको एक नम्बरको गेटमै हुनुपर्छ। सुरुआत दमनमै छोरोमाथि गोली प्रहार भएको रहेछ। छातीको दायाँपट्टी दुई वटा गोली, हात र घाँटीमा छर्रा लागेको रहेछ।”

नेपालमै रहेकी सौरनकी श्रीमती रोजिताले त्यसअघि नै खबर पाइसकेकी थिएन। घाइते सौरनलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल९सिभिल० हुँदै केएमसी अस्पताल पुर्याइएको थियो। प्रदर्शनकारीहरुले नै उनलाई सिभिलसम्म पु¥याएको थियो। सौरनले अचेत हुनुअघि श्रीमतीको नम्बरसम्म भन्न भ्याए।

श्रीमान्को खबरले विक्षिप्त उनी आफ्नो छ वर्षे छोरो च्यापेर अस्पताल पुगिन्। पुगेको केही समयमै अस्पतालले मृत घोषणा ग¥यो। वृद्ध आमाबुबाले छोरो गुमाए, छ वर्षे नाबालकले बुवा र रोजिताले जीवनसाथी। ३८ वर्षीय सौरन श्रेष्ठ पाँच वर्षको कोरिया बसाइपछि स्वदेशमा केही गर्न सकिन्छ भन्ने अपेक्षाले देश फिर्ता आएका थिए। तर केही समयसम्मको नेपाल बसाइँपछि उनले पुनःविदेशिने निर्णय गरेका थिए। यसपटक उनको रोजाइ क्यानडा थियो।

अमेरिका भ्रमणमा रहेका बुवा र आमा फर्किएपछि दसैँलगत्तै परिवारको पुनःमिलनको प्रतिक्षामा थियो, श्रेष्ठ परिवार। सौरनको मृत्युको खबरलगत्तै आमाबुवा नेपाल फर्किनुभयो। दसैँपछि परिवार पुनःमिलन कुरिरहेको छोराको गोली र छर्रासहितको शव बुझ्दै गर्दाको दृश्यले श्रेष्ठ दम्पती विगत तीन महिनादेखि निदाउन दिएको छैन।

“हामीलाई नै कुरेर बसिरहेको थियो। दसँैपछि हामी नेपाल फर्किन्छौँ भन्ने तयारीमा थियौँ। तर ऊ आफँैले दसैँ पनि मनाउन पाएन। हामीलाई धेरै पीडा भइरहेको छ”, आमा, निरु श्रष्ठले हरेक पटक सौरनको कुरा निस्किँदा आँसु थाम्न सकन्नुहुन्न, “परिवारलाई माया गर्ने। मेरो बाबु सोझो थियो, ज्ञानी थियो। के गर्नु।”

पहिलो पटक आन्दोलनमा भएको थियो, पहिलो लटमै पर्यो

सौरन बिबिएस पढ्दापढ्दै कोरिया गएका थिए। क्रिकेटमा रुचि राख्ने उनी अधिकांश समय परिवारसँग बिताउन मनपराउथे। उनी घरको जेठो छोरा हुन। श्रेष्ठ दम्पतीको पहिलो सन्तान उनको बहिनी अमेरिकामा बस्दै आएकी छिन्। बागलुङ स्थायी ठेगाना भएका उनी र सपरिवार वनस्थली बस्दै आएका थिए।

उनले बागलुङ नगरपालिकामा विद्यालय तह र कक्षा १२ काठमाडौँको भिएस निकेतनमा अध्ययन गरेका थिए। उनका धेरै साथीहरु भएको परिवार सदस्यहरु जानकार छैनन। “आखाँमा नबिझाउने केटो थियो, मेरो छोरा”, ६० वर्षीया निरुले भन्नुभयो, “उसलाई परिवारभन्दा अरु चासो थिएन। हतपत बाहिर नहिँड्ने, सहभागी नहुने केटो आन्दोलनमा गयो। उसको राजनीतिज्ञसँग सहमत नै हैन, त्यस्तो साथीहरु थिएनन्।”

सिंहदरबार धाइरहेको सहिद परिवार

सौरनका बुबा किशोर अहिले हरेक दिनजसो सिंहदरबार धाउनु हुन्छ। सौरन र ऊ जस्तैले दिएको बलिदान खेर नजाओस् भन्नेमा उहाँ दृढ हुनुहुन्छ। यस्तै विषयमा सरकारका मन्त्री प्रधानमन्त्रीलाई बेलाबेलामा झक्झकाइरहनुहुन्छ।

पेसाले व्यवसाय गर्दै आएका उहाँ आफूसँगै अन्य सहिद परिवारको आवाज बोकेर सिंहदरबारभित्र मन्त्री र सचिवको कार्यकक्ष धाइरहेको बताउनुहुन्छ। सहिद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनको नै उहाँहरुको मुख्य माग हो।

“मेरो घरमा प्रधानमन्त्री, सञ्चारमन्त्रीलगायत तत्कालीन मन्त्रीहरु आउनुभयो। तीन चार समूहका जेनजी नानीबाबु पनि आउनुभयो। सरकारले गर्छु भनेको छ। प्रधानमन्त्री सुशीला कार्कीले रुँदै छोराको शवमा फूल चढाउनुभयो”, ६३ वर्षीया किशोर श्रेष्ठ भन्नुहुन्छ, “तर सरकारका मन्त्रीहरुको आश्वासनको बाबजुत कर्मचारीतन्त्र अझै अलमलमा देखिन्छन। मन्त्रीहरु हुन्छ, हुन्छ भन्नुहुन्छ, कर्मचारीहरु भएन, भएन भन्छन्।”

जेनजी प्रदर्शनमा सहिद भएका परिवारहरुले विभिन्न मागसहित कार्यान्वयनका लागि पहल गरिरहनुभएको छ। सरकारसँगको विश्वास र अपेक्षामा सिंहदरबार धाइरहनुभएका उहाँलाई कर्मचारीतन्त्रबाट हतोसाहित हुने गरेको गुनासो सुनाउनुहुन्छ।

“सहिदको बालबच्चालाई कक्षा १२ सम्म अध्ययनको व्यवस्था, परिवारलाई योग्यताअनुसारको रोजगारी, बुवा आमालाई जीवननिर्वाह भत्ता, स्वास्थ्य बिमा र यातायात, बैंकलगायतमा सुविधा पाउनुपर्छ भन्ने माग राखेका छौँ”, उहाँले भन्नुभयो, “संसद् भवन अगाडि सहिदहरुको शालिक बनाउनुपर्छ।”

गृहमन्त्रालयअन्तर्गत सहसचिवको नेतृत्वमा बनेको संयन्त्रबाट पास भएर गएका विषय मन्त्रिपरिषद्मा जाने र सचिवले गर्ने प्रायः धेरै काम रोकिएको छ। मन्त्रीहरुले हुन्छ भनेको काम सचिवबाट रोकिएको छ। कहिले के भएन भन्ने कहिले के, टिप्पणी उठदैन। संयन्त्रमा सहमति भयो तर कार्यान्वयन भएको छैन। पास गर्न सकिएको छैन। त्यही कारण हामी सिंहदरबार धाएको धाए छौँ, कहिले मन्त्री स्वयंले समय दिनुहुन्छ, कहिले के हुन्छ यसैगरी चलिरहेको छ।”