Page 229 – Nepalboli

मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

सञ्चारमन्त्री गुरुङले सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

यसैगरी, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

 

 

संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशसँग संसदीय मैत्री समूह गठन

सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गर्नुभएको छ । बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरुसँगको छलफलका क्रममा उहाँले संसदीय मैत्री समूहका संयोजकहरुसँग यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिनुभयो ।

सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा। अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लीलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा। चन्दा कार्की र नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताउनुभयो ।

त्यस्तै, नेपाल-संयुक्त राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा प्रकाशशरण महत, नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल-बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल-जापान संसदीय मैत्री समूहको संयोजकमा डा नारायण खड्का, नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।

‘‘नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ हुनुहुन्छ । जो नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल र साउदी अरब संसदीय मैत्री समूहको संयोजकमा उदयशमशेर राणा, नेपाली काँग्रेसकै दलबाट प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस । नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा। अञ्जान शाक्य, नेकपा एमाले ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लीलानाथ श्रेष्ठ, नेकपा एमाले । नेपाल–जर्मनी ससदीय मैत्री समूह कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले । नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा। चन्दा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी । नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरी, नेकपा (माओवादी केन्द्र), नेपाल–इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी गरेर ४१ समूहका संयोजकहरु सकिएको छ । बाँकी तीन समूह बनाइसकेका छौँ । संयोजकमा केही मिलाउन बाँकी छ । सकेसम्म चाँडो मिलाउनेछौँ ।’’

सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

 

एमाले अध्यक्ष केपी ओली विरुद्ध उत्रन पार्टी पंक्तिलाई भीम रावलको अपिल

नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने पार्टी अध्यक्ष केपी ओलीको निर्णयको विरोध गर्न भीम रावलले एमालेका कार्यकर्ताको साथ खोजेका छन् । बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा सोही पार्टीका कार्यकर्ताको समर्थन खोजेका हुन् ।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समार्फत भनेका छन् ।

पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई रावलले ओलीको निरकुंश, स्वेच्छाचारी र तानाशाही भनेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट हटाउनुका साथै बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भनेका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

मौसम पूर्वानुमान- शुक्रबार साँझदेखि चिसो बढ्ने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसम आंशिकदेखि साधारण बदली हुने बताएको छ। महाशाखाले बिहीबार अपरान्ह एक सूचना जारी गर्दै पश्चिमी न्युन चापीय प्रणालीका कारण भोलि साँझदेखि नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया मौसम बदलीको सम्भावना रहेको बताएको हो।

महाशाखाका अनुसार उक्त मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्न सक्ने छ। भोलिदेखि पर्सी शनिबारसम्म सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ।

यसैगरी, सुदूरपश्चिम, कर्णालीका धेरै स्थानमा र लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

सङ्‍खुवासभामा सुन्तला उत्पादन बढ्यो, ३४ करोड बढीको कारोबार

सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ ।

‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजार रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म ३४ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ,’ प्रमुख यावदले भने ।

यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ ।

परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ ।

उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ । सङ्‍खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौंसम्म पुग्ने गर्दछ ।

 

 

बागलुङ र गुल्मी जोड्ने सडकको निर्माण ५ वर्षदेखि रोकियो

बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो । मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण हुन नसकेको हो । सडक कालोपत्रका लागि पाँच वर्ष अगाडि क्याराभान एण्ड शर्मा जेभीले ठेक्का लिएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेश रिगलले जानकारी दिए ।

उनीका अनुसार निर्माण कम्पनीले रु २८ करोड ५८ लाख ५७ हजार आठ सय १७ मा ठेक्का लागेको थियो। विसं २०७८ मा सम्पन्न गर्ने गरी जिम्मा लिए पनि चार पटकसम्म म्याद थप गर्दा करिब ५८ प्रतिशत मात्रै भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

आगामी चैत मसान्तसम्मका लागि अन्तिम पटक म्याद थप गरे पनि फिल्डमा काम सुरु नभएको उनको भनाइ छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले निर्माण कम्पनीलाई बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गरेको बताए ।

ट्रयाक खुलेको १५ वर्ष बित्न लाग्दासम्म सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ । दैनिक सयौँ यात्रुले यात्रा गर्ने सडक साँघुरो र अप्ठ्यारो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०८१-८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो। गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पेट्रोलको आयात १६.२३ प्रतिशत र राजस्वको आधारमा भने १२.५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ। नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ।

यसैबीच, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताएका छन्।

 

 

माझीदाइका गुनासा- दिनभरि काम गर्‍यो, फर्कँदा रित्तै

रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍यायो । त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुङ्गाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

पुछिघाटका अधिकांश मानिसहरूको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुङ्गाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ । स्थानीयको दुःखमा सहारा बनेका डुङ्गा चालक भने यसबाट आफूहरूले कुनै सहुलियत नपाएको गुनासो गर्छन् । दिनभर डुङ्गा तार्ने तर साँझ घर फर्कंदा रित्तो हात हुने भएपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको डुङ्गा चालक हिराबहादुर माझीको गुनासो छ ।

उनी भन्छन्, “दिनभर डुङ्गा तार्दा कसैले दया लागेर चिया खाऊ भनेर दिएको रु २०–५० भन्दाबाहेक अरू कुनै आम्दानी हुँदैन । जिल्ला प्रशासनले पनि पैसा लिन मिल्दैन भनेको छ न त हाम्रो जीविकोपार्जनका लागि कुनै निर्णय गरिएको छ । यस्तो अवस्थामा आफ्नो घरपरिवार कसरी चलाउनु रु”

पुछिघाटको पुलभन्दा करिब दुई किलोमिटरभन्दा माथिको नदी क्षेत्रमा यी डुङ्गा चलाउने गरिन्छन् । अर्का डुङ्गा चालक साइते माझी पनि आफ्नो पारिश्रमिकका बारेमा कुनै निर्णय नहुँदा समस्या भएको बताउछन्। “कहीँ कतैबाट कुनै किसिमको सेवासुविधा नपाएपछि हामीले गाउँमा पालो लगाएर डुङ्गा तार्ने व्यवस्था गरेका छौँ तर त्यो पनि खासै प्रभाकारी भइराखेको छैन”, उनले भने ।

यसरी डुङ्गा तार्ने चालकलाई राज्यबाट कुनै सेवासुविधा नहुँदा मन लगाएर निश्चित समयमा काम नहुँदा बालबालिका तथा शिक्षकहरूलाई विद्यालय जानआउन समस्या भइरहेको स्थानीय शिक्षक इन्द्रबहादुर श्रेष्ठले बताए । उनले भने, “पालिकाले वा जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले समस्या समाधान गरिदिनुपर्यो । चालकलाई तलब दिनुपर्यो नभए डुङ्गा तर्नेसँग निश्चित रकम उठाउन पाउने व्यवस्था गर्नुपर्यो । नत्र डुङ्गा बन्द हुने अवस्था आउँछ ।”

यहाँको डुङ्गाबाट सुनकोशी नदी तरेर खाडाँदेवी गाउँपालिका–४ का करिब २६ जना विद्यार्थी र शिक्षक सुनकोशी गाउँपालिकाको खाल्टेमा रहेको श्री दीर्घ प्रदीप माध्यामिक विद्यालयमा अध्ययन अध्यापन गर्न र पचासभन्दा बढी कृषकहरू दैनिकजसो वारपार गर्छन् । माझीलाई सन्तुष्ट पार्न नसक्दा समस्या भइरहेको स्थानीय विन्दा नेपालीले बताइन् ।

स्थानीय विद्यार्थी विना माझीले विद्यार्थीले तालिमसमेत नदिएका डुङ्गा चालकसँग जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा अलिपर रहेको भत्केको झोलुङ्गे पुलमा झुन्डिएर थप जोखिमको सामना गर्दै दैनिकजसो आउजाउ गरिरहनुपरेको गुनासो गर्नुरिन् । लामो समयसम्म कुर्दा पनि डुङ्गा चालक नआउने भएपछि विद्यालयमा ढिला पुग्नुपर्ने र शिक्षकहरूको गाली खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले समस्याबारे आफूहरू जानकार रहे पनि समाधानका लागि पालिकामा बजेट नभएकाले चालकलाई तलब र जीर्ण पुलको मर्मत गर्न नसकिएको बताए । उनले डुङ्गा चालकका समस्या सम्बोधनका लागि भने छलफल अगाडि बढाइएको जानकारी दिए ।

यहाँबाट दैनिक रूपमा आवतजावत गर्ने करिब दुई सयभन्दा बढी मानिस प्रभावित भइरहेकाले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको खाँडादेवी गाउँपालिका–६ का अध्यक्ष नारायण कार्कीको आग्रह छ । “हामीले समस्या समाधान गर्ने स्रोत छैन । स्रोत भएका निकायले पुल निर्माण नहुँदासम्म तत्कालका समस्या समाधानमा ध्यान दिनुपर्छ”, उनले भने ।

 

 

 

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनक

पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनक ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो । बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ । पोखरालाई साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।

‘हाम्रो मुख्य उद्देश्य साहसिक गतिविधिबाट अन्तर्राष्ट्रिय जगतमा पोखरालाई चिनाउने हो, मङ्गलबारदेखि सुरु भएको महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको सहभागिताले हामीलाई उत्साहित बनाएको छ’, उनले भने । उनका अनुसार महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यालोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनीलगायत छन्।

पोखरा पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बेलुन महोत्सव पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताए। उनले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिसकेकाले यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विविध कारणले सुस्ताइरहेको पर्यटनलाई गतिशील बनाउन बेलुन महोत्सवले सघाउ पुर्‍याउने विश्वास पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको छ। ‘पर्यटकीय नगरीलाई थप ‘भाइब्रेन्ट’ बनाउन पर्यटकीय गतिविधि भइरहनुपर्छ। पछिल्लो समय हट एयर बेलुनजस्ता महोत्सवले यस सहरको चिनारीलाई थप अन्तर्राष्ट्रियकरण गरेको छ।’

महोत्सवको स्थानीय संयोजनको जिम्मा फेवा क्लबले लिएको यस महोत्सवमा ‘बिवाइडी’ मुख्य प्रायोजक रहेको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारले प्रवर्द्धकका रुपमा सहयोग गरेका छन् । पोखरा पर्यटन परिषद्ले महोत्सवमा सहकार्य गरेको छ ।

बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी छन् । पोखराको आकाशमा एकैपटकमा १७ वटा विभिन्न आकार र डिजाइनका हटएयर बेलुन उड्न सुरु भएसँगै आकाश रङ्गिन बनेको छ।

महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुनसहित बेलुन पाइलटहरु सहभागी छन् ।

महोत्सवको ब्राण्ड एम्बासडर राजेश हमाल र प्रियङ्का कार्कीकोसमेत महोत्सवमा सहभागिता छ । महोत्सव स्थलसम्म जानआउन लेकसाइड डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था मिलाइएको छ ।

महोत्सव पामे क्षेत्रको लौरूकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा सञ्चालित छ । बिहान ६ देखि ९ बजेसम्म व्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने जनाइएको छ ।

साँझ ४ देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुन उडान भर्नेछन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा साङ्गीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान गर्दै आएको छ ।

दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन- स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। उहाँले नेपाली कांग्रेस र नेकपा ९एमाले० समीकरणमा संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको बताउनुभयो।

उहाँले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताउनुभयो। उहाँले दुई ठुला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताउनुभयो। उहाँले दुई ठुला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिको एकीकृत स्वरूप निर्माण भएको बताउनुभयो। उहाँले एकीकृत स्वरूप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा सरकार बनेको छ। संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको छ। यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको आशा गर्न सक्ने स्थिति हुन सक्दैन। त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण हुनु हो।’’

उहाँले सरकारको जस्तै पत्रकार महासङ्घमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई पत्रकारको पेशागत मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो।