Page 228 – Nepalboli

टाँगाले वीरगञ्ज सहरको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै

वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटनामा पर्ने गरेका छन् । अर्कोतर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जभाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए । ‘अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ,’ उनले भने, ‘टाँगा चालकलाई बसपार्कदेखि रजतजयन्ती चोकदेखि मितेरीपुलसम्म चलाउन अनुरोध गर्दै आइरहेका छौँ । मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापनमा पनि विभिन्न खालका अप्ठेरा देखिरहेका छन् ।’

टाँगालाई सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुहरूको मुख्य रोजाइमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शङ्कराचार्य गेट नजिकै रोकिने भए पनि टाँगाहरू भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा टाँगा पर्ने गर्छ । भारतीय टाँगाहरू पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन ।

वीरगञ्ज आसपासमा दुवैतर्फका करिब डेढ सयको हाराहारीमा टाँगा चल्ने गर्छन् । जसमा नेपाली नागरिकले सञ्चालन गरेका ७५ र भारतीय नागरिकले सञ्चालन गरेका ७५ वटा टाँगा रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दसैँलगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आइरहेका छन् । ट्राफिक प्रहरीले गत मंगलबार घण्टाघर क्षेत्रमा चलाएका चार वटा टाँगालाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गराएको थियो ।

प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले पनि टाँगा नचलाउनको लागि अनुरोध गर्दै आइरहेको बताए । वीरगञ्ज टाँगा सङ्घका अध्यक्ष शेख कलामले घण्टाघर–रेल्वे अटोरिक्सा चोकमा धेरै यात्रु पाइने भएकाले पनि बसपार्कबाट टाँगा चलाउन अप्ठेरो भइरहेको बताए ।

‘एकदमै आर्थिक अवस्था कमजोर भएकाले टाँगा चलाउने भएकाले पनि प्रहरी प्रशासनले तोकेको रूटमा टाँगा चलाउन कमाइ नहुने देखिएको छ,’ उनले भने, ‘अटोरिक्सा किन्नका लागि चार लाखभन्दा धेरै मूल्य पर्ने भएकाले पनि समस्या भइरहेको छ ।’ वीरगञ्जमा टाँगा तान्ने घोडासहित औषतमा ६० हजार रुपैयाँदेखि एक लाख रकममा खरिद गर्न सकिन्छ ।

 

 

 

कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै अनाज खेती

कृष्णसारको आहारा संकट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए ।

उनले भने, ‘पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ ।’ पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनः दोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ ।

वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक बासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो । कृष्णसारको प्राकृतिक बासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको छ । कृष्णसारले यस्तो दुबोको टुसा खान मनप राउने बताइएको छ ।

गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संक्षण क्षेत्र कार्यालयको तथ्यांक छ । कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउँछन् ।

यथेष्ट आर्थिक अभावकाबीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।

 

 

 

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न, पेट्रोल र मट्टितेल आयात सुरु

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए ।

‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौं’, प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।’

यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने छ ।’

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५ किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताए ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।

यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ ।

परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।

‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो’, प्रमुख आचार्यले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन्छ ।’

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ ।

नागरिकता वितरण संविधान र कानुन अनुसार- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई नागरिकता दिने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिले बुझाएको अध्ययन प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनको गहन अध्ययन र समीक्षा हुने जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले प्रतिवेदनमा औंल्याइएका समस्या र समाधानका उपयाहरूबारे सरकारले अध्ययन गरेर काम अघि बढाउनुभयो । उहाँले नागरिकता निकै संवेदनशील विषय भएको उल्लेख गर्दै नागरिकताका विषयमा संवेदनशील, गम्भीर र जिम्मेवार बन्नुपर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो प्रतिवेदन प्राप्त भइसकेपछि यसको गम्भीरतापूर्वक अध्ययन गर्नेछौँ । कहाँ के समस्या औंल्याउनुभएको छ, समाधानका के उपाय सुझाउनुभएको छ । यसको निष्कर्ष के दिनुभएको छ, त्यो कुरा अध्ययन गर्नेछौँ । साथै यो विषयमा थप गर्नुपर्ने आवश्यक काम गर्नेछौँ । नागरिकता निकै संवेदनशील विषय हो ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘यो विषयलाई निकै संवेदनशील, गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्छ । नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता प्राप्त गर्नुपर्छ, कुनै पनि नेपाली नागरिक जसले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो, संविधान र कानुन बमोजिम उसले नागरिकता प्राप्त गर्नैपर्छ । तर नागरिकता प्राप्त गर्न नहुने मानिसले नागरिकता प्राप्त गर्ने स्थिति बन्नु हुँदैन । यि दुई कुरामा स्पष्ट छौँ ।’’

गृहमन्त्री लेखकले नागरिकता प्राप्त गर्न नहुने मानिसले नागरिकता प्राप्त गर्ने स्थिति बन्नु नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’

सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी केन्द्रित भएका छन् । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले समितिका बैठकलाई परिणामुखी बनाउन आआफ्ना सांसदलाई निर्देशनसमेत दिएका छन् ।

सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौला समितिका बैठक नियमित राख्न नसकिएको, बैठकमा ‘कोरम’ नपुगेको यथार्थलाई स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर समितिलाई क्रियाशील बनाउन सत्ता साझेदार दलहरू केन्द्रित रहेको बताउनुहुन्छ । “समितिको बैठक नियमित राख्ने र हरेक बैठकअघि सम्बन्धित समितिका सभापति, प्रमुख सचेतक र सचेतकमार्फत पार्टीका सांसदलाई जानकारी दिन भनेका छौँ”, उहाँले भन्नुभयो, “सत्ता पक्षका सांसद अनुपस्थित भएर समिति बैठकमा कोरम पुगेन भन्ने छुट छैन ।”

पछिल्ला दिन संसदीय समितिका बैठक लगातार बसिरहेका छन् । हाल प्रतिनिधि सभाका विभिन्न समितिमा १५ र राष्ट्रिय सभाको विधायन समितिमा चार वटा विधेयक छलफलकै क्रममा छन् । मुख्य सचेतक बर्तौलाले समितिका बैठक र काम कारबाहीबारे निगरानी गरिने र प्रत्येक दलले विशेष परिस्थितिबाहेक अन्य काममा जोडिएर विधि निर्माणको काममा उपस्थित हुन नसकेको भन्न नपाइने गरी सबै सांसदलाई निर्देशित गरिएको स्पष्ट पार्नुभयो ।

विधेयक निर्माणमा भएको विलम्बलाई लिएर सांसदको आलोचना हुँदै आएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा ढिलाइ भएपछि समयसीमा तोकेर जान आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो । “संसदीय समितिलाई परिणामुखी बनाउन सत्तारुढ दलका तर्फबाट एक प्रकारको ‘आन्तरिक ह्विप’ नै जारी गरिएको छ”, मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “संसदीय मामिलामा अनिवार्य उपस्थिति भएर बैठकमा सहभागी हुने, विधेयकमा सक्रियताका साथ भूमिका निर्वाह गर्ने र छिटोभन्दा छिटो विचाराधीन विधेयकलाई प्रतिवेदनसहित सदनमा पेस गर्न निर्देशन दिएका छौँ ।”

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा पाँच, राज्यव्यवस्था तथा सुशासन समितिमा चार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, कानुन, न्याय मानवअधिकार समितिमा एक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एक वटा विधेयक विचाराधीन छन् ।

“हाल सांसदहरू सिहंदरबारमा बैठकमा मात्रै बसिरहनुभएको छ, सांसदलाई भ्याइनभ्याइ छ, संशोधनकर्ता आफ्नो संशोधनको प्रतिरक्षा गर्न दौडिरहनुभएको छ”, सत्तारुढ दलका मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “यही पुस २५ गतेभित्रमा १५ मध्ये महत्त्वपूर्ण पाँचरसात वटा विधेयकहरूलाई संसदमा पुर्‍याउँछौँ ।”

विधेयकलाई तीव्रता दिन सत्ता साझेदार दल एमाले र कांग्रेसले मसिनो ढङ्गले छलफल अघि बढाइरहेको जानकारी दिँदै उहाँले दुवै दलका तर्फबाट सांसदलाई समितिमा समय दिई विधि निर्माणमा जुट्न आग्रह गरिएको बताउनुभयो । बर्तौलाले विधेयक निर्माणमा सांसदको भूमिका कस्ता रह्यो, संसदीय काम प्रक्रियामा ध्यानपूर्वक सहभागितालगायत कोणबाट पार्टीले मूल्याङ्कन गरिने बताउनुभयो । “सांसदको कामको मूल्याङ्कन गर्ने विधि संसदीय मामिला र विधेयक निर्माणमा खेलेको भूमिकालाई आधार बनाइने छ”, उहाँले भन्नुभयो ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सदन सरकार गठन गर्ने ठाउँका रूपमा मात्रै नभई जनसरोकारका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिनुहुन्छ । “संसद्लाई प्रभावकारी तुल्याउन अहिलेको नियन्त्रणकारी अभ्यास हटाउनुपर्छ ”, उहाँले भन्नुभयो । संसदको अभ्यास र गतिशीलतालाई हेररे आफ्नो पार्टीले काम गरिरहेको उहाँको भनाइ छ ।

कुन समितिमा कुन विधेयक विचाराधीन ?
अर्थ समितिमा भन्सार विधेयक, २०८०, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), २०८१ विधेयक विचाराधीन छन् ।

यस्तै, राज्यव्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० र सङ्घीय निजामती सेवा विधेयक, २०८० मा छलफल चलिरहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०, पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० र जलस्रोत विधेयक, २०८१, कानुन, न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक, २०८० विचाराधीन छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पछिल्लो पटक गठन भएको संसद्को चौथो अधिवेशनसम्म आइपुग्दा सदनमा ३७ सरकारी र तीन वटा गैरसरकारी गरी ४० विधेयक दर्ता भएकामा १७ वटा विधेयक दुवै सदनबाट पारित भएको जानकारी दिनुभयो ।

पहिलो अधिवेशनमा १०, दोस्रोमा ११, तेस्रोमा नौ र चौथो अधिवेशनमा १० विधेयक दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० भने सरकारले फिर्ता लिएको छ ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, विधायनसम्बन्धी विधेयक, २०८० र बैंकिङ कसुर तथा सजाय विधेयक (दोस्रो संशोधन) विधेयक, २०८० समितिको प्रतिवेदनसहित सदनमा पेस भइसकेका छन् ।

सरकारले यही पुस अन्तिम साता वा आगामी माघको पहिलो सातासम्म संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार एउटा र अर्को अधिवेशनको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

संसदको वर्षे अधिवेशन गत वैशाख २८ गते प्रारम्भ भई गत भदौ ३१ गते अन्त्य भएको थियो । सामान्यतय नेपालमा वर्षे र हिउँदे अधिवेशन गरी वर्षमा दुई अधिवेशन चल्ने गरेको छ ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी विषयमा छलफल, बहस हुन्छ भने हिउँदे अधिवेश विधेयक अर्थात् विधि निर्माणमा केन्द्रित हुने गरेको छ । हिउँदे अधिवेशन समान्यतयः पुसको अन्तिम साता सञ्चालन हुने तथा वर्षे अधिवेशन वैशाखको अन्तिम सातातिर चल्ने अभ्यास छ ।

जनप्रतिनिधिको सर्वोच्च थलोका रूपमा रहेको सङ्घीय संसद्ले कानुन निर्माण, सरकार गठन, सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल, बहस र पारित, सरकारको कामकारबाहीको निगरानी, महाअभियोग, सन्धिसम्झौताको अनुमोदनलगायत मुख्य कार्यभार रही आएको छ ।

 

जलवायु परिवर्तनले २०२४ मा थरी-थरीका विपत्ति

सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेनन् । यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमका लागि इन्धनको काम गर्‍यो ।

विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावित गर्छ भन्ने बारेको विशेषज्ञ विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) ले विगत १२ महिनामा विश्लेषण गरिएका लगभग हरेक विपत्ति जलवायु परिवर्तनद्वारा तीव्र भएको बताएको छ । “जीवाश्म इन्धनको तापक्रम वृद्धिको प्रभाव सन् २०२४ भन्दा बढी स्पष्ट वा विनाशकारी कहिल्यै भएको छैन । हामी एउटा खतरनाक नयाँ युगमा बाँचिरहेका छौँ”, डब्लुडब्लुए सञ्जालको नेतृत्व गर्ने जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले भन्नुभयो ।

गर्मी

जुनमा साउदी अरबमा मुस्लिम हज यात्राका क्रममा एक हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यहाँ तापक्रम ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) पुगेको थियो । कहिलेकाहीँ ‘साइलेन्ट किलर’ (मौन हत्यारा) भनिने चरम गर्मी थाइल्यान्ड, भारत र संयुक्त राज्य अमेरिकामा पनि घातक साबित भयो ।

मेक्सिकोमा अवस्था यति तीव्र थियो कि रुखबाट हाउलर बाँदरहरू खसेर मरेका थिए भने पाकिस्तानले पारो ५० डिग्री सेल्सियसभन्दा माथि पुगेका कारण लाखौँ बालबालिकालाई घरमै राखेको थियो ।

ग्रिसले आफ्नो सबैभन्दा प्रारम्भिक गर्मीको लहर रेकर्ड ग्रयो र यसको प्रसिद्ध एक्रोपोलिसलाई बन्द गर्न बाध्य तुल्यायो । युरोपको अहिलेसम्मकै सबैभन्दा गर्मी गृष्म ऋतुको सुरुआतमा भयानक डढेलो फैलियो ।

बाढी
जलवायु परिवर्तन केवल तातो तापक्रम मात्र होइन, तातो महासागरहरूले बढी वाष्पीकरण गर्छन् र तातो हावाले बढी आर्द्रता सोस्छ । यो भारी वर्षाका लागि अस्थिर सूत्र हो । अप्रिलमा संयुक्त अरब इमिरेट्समा एक दिनमा दुई वर्षको बराबर वर्षा हुँदा मरुभूमि–राज्यका भागहरूलाई समुद्रमा परिणत गर्‍यो र दुबईको अन्तर्राष्ट्रिय विमानस्थललाई अवरुद्ध गर्‍यो ।

केन्या एक पुस्ताकै सबैभन्दा ठुलो खडेरीबाट मुक्त हुन नपाउँदै दशकौँकै सबैभन्दा खराब बाढीले पूर्वी अफ्रिकी राष्ट्रमा लगातार विपत्तिहरू निम्त्यायो ।

ऐतिहासिक बाढीले पश्चिम र मध्य अफ्रिकामा एक हजार पाँच सयभन्दा बढी मानिसको ज्यान लिएपछि ४० लाख मानिसलाई सहायताको आवश्यकता परेको थियो । युरोप विशेषगरी स्पेनले ठुलो वर्षाको सामना गर्दा घातक बाढी निम्तियो ।

सन् २०२४ मा अफगानिस्तान, रुस, ब्राजिल, चीन, नेपाल, युगान्डा, भारत, सोमालिया, पाकिस्तान, बुरुन्डी र संयुक्त राज्य अमेरिकामा बाढी आएको थियो ।

चक्रवात

तातो महासागरीय सतहले उष्णकटिबन्धीय चक्रवातहरूलाई जमिनतर्फ बढ्दा ऊर्जा प्रदान गर्छ र यसले तीव्र हावा र विनाशकारी क्षमता बढाउँछ । सन् २०२४ सिजनमा प्रमुख आँधीबेहरीले संयुक्त राज्य अमेरिका र क्यारेबियन विशेष गरी मिल्टन, बेरिल र हेलेनलाई औसतभन्दा माथि आँधीबेहरी गतिविधिको धक्का दियो ।

फिलिपिन्सले दक्षिणपूर्वी एसियामा फैलिएको टाइफुन यागीको सामना गरेको दुई महिनापछि नोभेम्बरमा मात्रै छवटा ठुला आँधीबेहरीको सामना गर्‍यो ।

विश्वव्यापी तापक्रमले चक्रवात चिनोलाई श्रेणी ४ आँधीबेहरीमा तीव्र बनाउन मद्दत गरेको डिसेम्बरमा वैज्ञानिकहरूले बताए । यो फ्रान्सको सबैभन्दा गरिब समुद्रपारको क्षेत्रलाई तहसनहस पार्दै मायोटसँग ठोक्किएको थियो ।

खडेरी र डढेलो

जलवायु परिवर्तनले वर्षाको ढाँचा परिवर्तन गर्दा केही क्षेत्रहरू ओसिलो हुन सक्छन् तर अन्य सुक्खा र खडेरीका लागि बढी संवेदनशील बन्दै छन् । सन् २०२४ मा अमेरिकाले गम्भीर खडेरीको सामना गर्यो र सामान्यतया पृथ्वीको सबैभन्दा ओसिलो ठाउँहरू मध्ये एक पश्चिमी संयुक्त राज्य अमेरिका, क्यानाडा र अमेजन बेसिनमा लाखौँ हेक्टरमा डढेलो लाग्यो ।

जनवरी र सेप्टेम्बरको बीचमा दक्षिण अमेरिकाभरि चार लाखभन्दा बढी आगलागी रेकर्ड गरिएको थियो । आगलागीबाट महादेशलाई घाँटी अवरुद्ध गर्ने धुवाँले ढाक्यो ।

विश्व खाद्य कार्यक्रमले डिसेम्बरमा दक्षिणी अफ्रिकामा दुई करोड ६० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको थियो । दक्षिणी अफ्रिकामा एक महिना लामो खडेरीले गरिब क्षेत्रलाई सुक्खा बनाएको थियो ।

आर्थिक क्षति

चरम मौसमले सन् २०२४ मा हजारौँको ज्यान लियो र अनगिन्ती मानिसलाई निराश गरिबीमा छाड्यो । यस्ता विपत्तिहरूको दीर्घकालीन क्षतिको मूल्याङ्कन गर्न असम्भव छ । जुरिचस्थित पुनर्बीमा दिग्गज स्विस रीले डिसेम्बरको सुरुआतमा जारी गरेको विज्ञप्तिमा आर्थिक नोक्सानीको हिसाबमा विश्वव्यापी क्षतिको बिल तीन खर्ब १० अर्ब डलर रहेको अनुमान गरेको छ ।

युरोपमा विशेष गरी स्पेनको भ्यालेन्सिया प्रान्तमा बाढी, तूफान हेलेन र मिल्टनले लागत बढाएको कम्पनीले जनाएको छ । भ्यालेन्सियामा अक्टोबरमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

नोभेम्बर १ सम्म संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा २४ वटा मौसम प्रकोपको सामना गरेको थियो । यसमा प्रत्येकले एक अर्ब डलरभन्दा बढी नोक्सान व्यहोरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

ब्राजिलमा खडेरीले यसको कृषि क्षेत्रलाई जुन र अगस्टको बिचमा दुई अर्ब ७० करोड डलरको क्षति पुर्‍यायो । एक उद्योगका अनुसार ‘जलवायु चुनौतीहरूले’ विश्वव्यापी वाइन उत्पादनलाई सन् १९६१ पछि सबैभन्दा कम स्तरमा पुर्‍याएको छ ।

जनकपुरधाममा ट्रफी प्रदर्शन, स्थानियहरुद्धारा भव्य स्वागत

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि हात पारेको खुसीमा जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीका साथमा ट्रफी प्रदर्शन सुरु भएको छ। एनपीएलको उपाधि जनकपुर बोल्ट्सले पाएपछिको खुसीमा शुक्रबार जनकपुरधाममा खेलप्रेमीको साथमा ‘ट्रफी परेड’ गरिएको हो। प्रदेशको आठ वटै जिल्लामा ट्रफी प्रदर्शन हुनेछ।

परेडमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत सहभागी भएर खेलाडी र आयोजकको हौसला बढाउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट सुरु भएको परेड थापा चोक, पिडारी चोक, रामानन्द चोक, जिरोमाइल, विश्वकर्मा चोक, राम चोक हुँदै जानकी मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो।

त्यस्तै शनिबार महोत्तरी, सर्लाही र रौतहट, आइतबार बारा र पर्सा, सोमबार सिराहा र सप्तरीमा परेड गरिने कार्यक्रम रहेको छ। जनकपुरधामको परेडमा मधेश प्रदेश क्रिकेट सङ्घ, नागरिक समाज र खेलप्रेमी सहित मधेशका विभिन्न क्षेत्रका स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

गत शनिबार आयोजित फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो । यो ऐतिहासिक विजयले मधेश प्रदेशलाई नेपाली क्रिकेटमा विशेष पहिचान दिलाएको छ।

 

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताउनुभयो ।

त्रिविले शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष समिक वडालले स्ववियु निर्वाचनको तयारी आफ्नो सङ्गठनले गरिरहेको बताउनुभयो ।

उहाँले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पार्नका लागि उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा स्ववियु घोषणापत्र तयारी कमिटी गठन गरिएको छ । अध्यक्ष वडालले स्ववियु निर्वाचन लागि सङ्गठनले यही पुस २५ र २६ गते अनेरास्ववियुका जिल्ला अध्यक्ष भेला र आगामी माघ ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको बताउनुभयो ।

यस्तै नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले निर्वाचन हुने सबै क्याम्पसमा प्रतिनिधि खटाइसकेको जानकारी दिनुभयो । उहाँले सबै क्याम्पसमा सङ्गठन विस्तारका साथै स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिएको बताउनुभयो । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले क्याम्पस कमिटीलाई स्ववियु निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेको बताउनुभयो ।

“हामी अहिले महाधिवेशनमा रहेकाले पर्याप्त तयारी गर्न पाएका छैनौँ । महाधिवेशन सकिएलगत्तै नयाँ नेतृत्वको एकसूत्रीय माग स्ववियु निर्वाचन नै हो”, उहाँले भन्नुभयो, “स्ववियु निर्वाचन समयमा नै हुन्छ । त्यसको तयारीमा हामी छौँ ।” प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन ।

विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला नौ वटा आङ्गिक क्याम्पस निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

 

 

 

 

 

 

 

 

रवि लामिछानेसँग बयान सुरु, शुक्रबार पनि हुने

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।

अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गरेका छन् ।

समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले छलफल गर्ने

संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूको विषयमा सत्तारूढ दलहरूले आ–आफ्नो दलमा छलफल गर्ने भएका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियारको अध्यक्षतामा आज बसेको सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलको बैठकले विचाराधीन विधेयकहरूको विषयमा दलहरूले छलफल आन्तरिक छलफल गर्ने निर्णय गरेको हो ।

‘१७ गतेभित्र आआफ्नो दलमा छलफल गर्ने निचोडमा हामी पुगेका छौँ‚’ सहमहामन्त्री परियारले भने ।

दलहरूले समितिमा विधेयकको अवस्था‚ छलफल पश्चात् भएका प्रगति लगायत विषयमा छलफल गर्ने र १८ गते बस्ने संयन्त्रको बैठकमा छलफल गर्ने सहमति बनेको उनले बताए ।