उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षारतामा मात्रै सिमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले समाजमा सबैमा समानताको भावना जागृत गर्ने एवम् देशको विकास र समृद्धिमा सहयोग गर्ने माध्यम पनि शिक्षा नै भएको बताउनुभयो । उपराष्ट्रपति यादवले उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित श्री सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै शिक्षाको महत्त्वमा जोड दिनुभएको हो ।
‘‘शिक्षा भनेको समाजको आधारभूत स्तम्भ हो, जसले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउँदछ ।,’’ उहाँले भन्नुभयो, ‘‘ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्त्वपूर्ण प्रक्रिया पनि शिक्षा नै हो । यसले हामीलाई जीवनको कठिन समयमा चुनौतीहरूको सामना गर्न सहयोग गर्दछ ।’’
उहाँले सहरमा शिक्षा प्राप्त गर्नु सजिलो भए पनि दुर्गम गाउँमा अझै पनि धेरैको पहुँचमा यो नरहेको उल्लेख गर्दै खासगरी, छोरी चेलीहरूलाई कम उमेरमै शिक्षाबाट बञ्चित गराएको अझै पनि पाइने गरेकोले यसतर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताउनुभयो ।
‘‘शिक्षाले व्यक्तिलाई सभ्य र संस्कारयुक्त जीवन जिउने गरी रूपान्तरण गर्न सक्नु पर्दछ ।,’’उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘सदाचार, मर्यादित र असल बानी–व्यवहार एवम् आचरण देखाउने गरी व्यक्तित्व निर्माण आजको आवश्यकता हो ।’’
उहाँले शिक्षाले श्रमलाई पनि सम्मान गर्न सिकाउने बताउनुभयो । ‘‘शिक्षासहित हरेक क्षेत्रमा ‘विविधतामा एकता, हाम्रो मौलिकता’, पहिचानलाई सर्वस्वीकार्य र सर्वसम्मत बनाउँदै अघि बढ्न सक्नु पर्दछ ।’’ उहाँले भन्नुभयो ।
उपराष्ट्रपति यादवले दुर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्त्वपूर्ण उद्देश्यहरूलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्नमा सहयोगी भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसा गर्नुभयो ।
‘‘यहाँका शिक्षकवर्ग, विद्यार्थी, कर्मचारी लगायतको अथक प्रयास र समर्पण प्रशंसनीय छ । तपाईंहरूले यस विद्यालयलाई एउटा प्रतिष्ठित संस्थानको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘यस स्वर्ण जयन्ती समारोहमा, म यहाँका सम्पूर्ण विद्यार्थीलाई विशेष सन्देश दिन चाहन्छु–तपाईंहरू नै देशको भविष्य हुनुहुन्छ । तपाईंहरूको मेहनत र लगनशीलताले मात्र समाज र राष्ट्रको प्रगति सम्भव छ । तपाईंहरु आफ्नो अध्ययनप्रति निष्ठावान एवम् लगनशिल रहनुहोस् र जीवनका हरेक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने प्रयास गर्नुहोस् ।’’
उपराष्ट्रपति यादवले विद्यालयले आगामी वर्षहरूमा शैक्षिक गुणस्तरलाई अझ सुधार गर्ने योजनामा जोड दिँदै आधुनिक प्रविधिको प्रयोगमा आधारित शिक्षालाई थप प्रभावकारी बनाउन र विद्यार्थीको समग्र विकासमा ध्यान दिने लक्ष्यका साथ अघि बढ्न सक्नु पर्ने बताउनुभयो । ‘‘विद्यालयको पूर्वाधार सुधार गर्ने र विद्यार्थीको लागि थप शैक्षिक सामग्रीहरू उपलब्ध गराउने योजना पनि विद्यालयले बनाउन सक्नु पर्दछ’’ उहाँले भन्नुभयो, ‘‘यसमा शिक्षक, अभिभावक, स्थानीय सरकार लगायतको भूमिका पनि आवश्यक छ ।’’