Page 224 – Nepalboli

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ। सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो। उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताएका छन्। उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको हो। चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ।

चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो। गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उनले जानकारी दिएका छन्। गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो। स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उनले बताए।

विसं २०७३-७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो। आव २०७५-७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो। सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो। स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र रु पाँच करोडका सुन्तलाको कारोबार गरेको छ। फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक सङ्घसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ। फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु २५ देखि अधिकतम रु ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ। फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी रु २५ देखि अधिकतम रु ८५ सम्म कायम भएको छ।

तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उनले बताएका छन्। उनि जिल्लाकै अगुवा सुन्तला किसान हुन्। उनि एक्लैले सुन्तला बेचेर गरेर वार्षिक रु ६० देखि ७० लाखसम्म आम्दानी गर्दै आएका छन्।

स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ। जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ। पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन्।

 

 

सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेश सरकार

मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बिमाको सहुलियत पाउने भएका छन् । सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ । यसै सन्दर्भमा मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबिच सम्झौता भएको छ ।

यो सम्झौताबाट लोकतन्त्र स्थापनाका पक्षमा भएको आन्दोलनमा सहादत प्राप्त गरेका र हराइरहेका व्यक्तिका एक हजार ८१ परिवारले बिमा सुविधा पाउने प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । स्वास्थ्य बिमा गराउने सन्दर्भमा सहिद परिवारको विस्तृत विवरण सङ्कलनमा बोर्डका कर्मचारी खटिएको मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो ।

विवरण अद्यावधिक भइसकेपछि मन्त्रालयले बोर्डलाई प्रतिपरिवार रु तीन हजार पाँच सयका दरले रकम पठाउने सचिव रिजालको भनाइ छ । वार्षिक रु तीन हजार पाँच सय बोर्डमा जम्मा भएपछि परिवारका पाँच जना सदस्यले स्वास्थ्य बिमाअन्तर्गत सहयोग प्राप्त गर्नसक्ने कानुनी व्यवस्था छ ।

प्रदेश सरकारले सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका सहिद परिवारका लागि चालु आर्थिक वर्ष २०८१-८२ मा रु ४० लाख विनियोजन गरेको छ । विनियोजन गरिएको उक्त रकमबाट सहिद परिवारको स्वास्थ्य बिमा गरिने मन्त्रालयले स्पष्ट गरेको छ ।

सहिद परिवारको उपचार प्रबन्धका लागि प्रदेश सरकारले लिएको तत्परता र पहलकदमीलाई यहाँका बुद्धिजीवीले सकारात्मक रूपमा लिएका छन् । यसै सन्दर्भमा जलेश्वरस्थित रामनन्दन, विश्वेशर महेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य अजयकुमार झाले सहिद परिवारको खोजी गरी स्वास्थ्य बिमाको व्यवस्थासहित राहतसहयोग उपलब्ध गराउन बजेटसमेत विनियोजन गरेकामा प्रदेश सरकारलाई धन्यवाद दिँदै अझै लोककल्याणकारी एवं जनमुखी कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो ।

 

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन्। तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार ९५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार ५५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो। उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।

त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताए।

अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ, उनले भने, गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन्। अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ। चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो।

अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ।

 

पर्यटकीय स्थल भेडेटारमा चहलपहल

सुनसरी । पर्यटकीय स्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीय स्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो ।

भोलि बिहीबारसम्म सञ्चालन हुने तीनदिने सो फेस्टिभलले पर्यटन प्रवर्धन, होटल व्यवसाय, व्यापार र कृषि क्षेत्रको प्रचारप्रसारसहित प्रवर्धनमा सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । स्थानीय ‘अर्गानिक’ खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल र खानाका परिकार, हस्तकला, कृषि–औजार, घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनीमा राखिएको फेस्टिभल आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जाडो याम सुरु भएसँगै भेडेटार घुम्न आउने पर्यटकको सङ्ख्या घट्ने क्रम जारी छ, बजारलाई चलायमान बनाउन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी बर्सेनि यस किसिमको फेस्टिभल आयोजना गर्दै आएका छौँ, अहिलेसम्मको परिस्थितिलाई हेर्दा यस वर्ष पर्यटक सङ्ख्या वृद्धि हुने देखिएको छ ।”

फेस्टिभलका अवसरमा पर्यटकीयस्थलमा स्काइवाकको व्यवस्थासहित पाथीभारा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर र ‘होम स्टे’, सूर्योदय बौद्धपार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, ध्वजे डाँडालगायतका पर्यटकीयस्थल घुमाइने आयोजकले जनाएको छ ।

फेस्टिभलमा ५० हजार पर्यटकले अवलोकन गर्ने र रु। तीन करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो । महोत्सवमा धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्ला तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढीलगायतका सहरबाट मानिस आउने आयोजकले जनाएको छ ।

 

नयाँ वर्षमा जानकी मन्दिरमा भिड

अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भिड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजन अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन् ।

जसकारण मन्दिरमा परिसरमा भक्तजनको भिड उल्लेख्य छ । धार्मिकस्थलका साथै जनकपुरधाम पर्यटकीयनगरी समेत हो । जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरूको भिड लाग्ने गर्छ ।

नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।

मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरूप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उहाँले घोषणा गर्नुभयो । “हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो ।

 

 

 

बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा अभियानकर्मीहरुसँग मङ्गलबार भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिनुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बालविवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बालविवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गर्नुभयो । मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।

भेटमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुुम्बिनी प्रदेशका पूर्व मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुको उपस्थिति रहेको थियो ।

 

 

 

गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकताः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताउनुभयो ।

सभापति देउवाले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकताबद्ध गर्नुपर्ने जिकिर गर्नुभयो । सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बिचमा एकता गर्नु आजको आवश्यकता भएको बतउनुभयो । सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको औंल्याउनुभयो ।

‘‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनुपर्छ । अझै प्रभावकारी बनाउनुपर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘मधेश, पहाड र हिमालका सम्पूर्ण नेपालीहरु बिच एकता र मेलमिलाप हुनुपर्छ । सम्पूर्ण नेपालीहरुको बिचमा एकता गर्न आजको आवश्यकता हो । पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरुका विभिन्न चाहनाहरु होलान् तर त्यसको समन्वय गरेर एकताबद्ध भई एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ ।’’

सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताउनुभयो ।

 

 

 

हर्कराज राई प्रतिनिधि सभाको सचिव नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभाको सचिव पदमा हर्कराज राईलाई नियुक्त गर्नुभएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति पौडेलले मङ्गलबार राईलाई सचिव पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम कोशी प्रदेश झापा जिल्लाको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर २ निवासी राईलाई सचिव पदमा नियुक्त गर्नुभएको हो।

 

 

संविधान संशोधनका लागि मधेसी शक्तिलाई एक हुन सुझाव

दुई ठुला दलले संविधान संशोधनका लागि गरिरहेको गृहकार्यमा मधेस शक्ति केन्द्रले चासो लिनुपर्ने सरोकारवालाहरूले सुझाव दिनुपर्ने सुझाव दिएका छन् । मधेस एकता समाजले आयोजना गरेको मधेसी शक्ति आवश्यकता, सहकार्य र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले संविधान संशोधनका लागि मधेसी शक्तिलाई एक हुन सुझाव दिएका हुन् ।

मधेस मामिलाका जानकार तुलानारायण साहले दुई ठुला दल संविधान संशोधनकै लागि एकीकृत भएको बताउँदै निर्वाचन प्रणालीमा संशोधन हुन लागेको बताए । निर्वाचन प्रणाली संशोधन गरेर समानुपातिक प्रणाली समाप्त गर्न लागेको तथा थ्रेसहोल्ड लगाएर मधेसी दललाई समाप्त गर्ने षड्यन्त्र भइरहेकाले त्यसको विरुद्धमा मधेसवादी दलहरू एक हुनुपर्नेमा उनले जोड दिए ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले एक हुनसक्छन् भने मधेसवादी दलहरू किन हुँदैन भन्दै मधेसवादी दलहरूलाई समाप्त गर्ने भइरहेको षड्यन्त्रलाई समाप्त गर्न एक हुनुपर्ने बताए ।

नेपालको राजनीति संविधान संशोधनको बाटोमा हिँडेको बताउँदै उनले मधेसी दललाई शक्तिमा रोक्न थ्रेसहोल्ड ल्याउने प्रयास भइरहेको बताए । थ्रेसहोल्ड बढायो भने कांग्रेस, एमाले र माओवादी मात्र रहने बताउँदै उनले यसमा मधेसवादी दलहरू सचेत रहनुपर्ने बाए ।

उनले संविधान संशोधन राजनीतिक सहमतिमा हुनुपर्ने कुरामा मधेसवादी शक्तिले जोड दिनुपर्ने सुझाव दिए ।