Page 223 – Nepalboli

अलैँची बेचेर वार्षिक ३४ लाख कमाउँछन् इलामका गिरिराज खनाल

नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ। कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन। पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् । कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहण बनेका छ इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल। उनले यसवर्ष ३४ लाख माथिको अलैँची उत्पादन गरेका छन् ।

सन्दकपुर गाउँपालिका २ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेको बताए । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात प्रतिमन एक लाख १५ हजार रहेको छ। ३० मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको दरले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

गाउँगाउँमा पुगेका ब्यापारीले महँङ्गो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले एक लाख १० हजारमाथि खरिद गर्ने गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएका छन्।

बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । केही वर्षअघि दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसान समक्ष बिरुवा पुर्‍याएको उनको भनाइ छ ।

धेरै मेहनतसमेत नलाग्ने अलैँची खेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन केही खर्च हुने र अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन खर्च हुने गरेको किसान खनालको भनाइ छ। समय-समयमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ।

हाल उनले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा सो खेती गरेका छन् । हिउँद्को समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ । उनले यसवर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन् ।

आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए । अलेँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए ।

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनी बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्छ भन्ने सोचका साथ आफूले कृषि पेसा रोजेको उनी बताउँछन् ।

उनले जस्तै जिल्लाका अन्य किसानले समेतयस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुने गर्दछ ।

चालु आव २०८१-८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०-८१ को सोही अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो।

अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गर्दछ । गर्मीमासमेत अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गरिन्छ । मसलाका रुपमा समेत अलैँचीको प्रयोग हुन्छ । गाउँघरमा मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाउने गरिन्छ । सर्बत पानीमासमेत यसलाई प्रयोग गरिने गरिन्छ ।

नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट पर्फिम वा सुगन्धित तेल निर्माण हुने गर्दछ । विकसित मुलुकमा यसबाट निर्माण भएको पर्फिम निकै मूल्यमा बिक्री हुने गर्दछ । नेपालमा उत्पादित अलैँचीको उचित प्रशोधन र प्रमाणीकरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको छ ।

झापामा यसको प्रशोधनका लागि एउटा मात्र प्रशोधन केन्द्र हुँदा ब्यवसायी समस्यामा परेको बताउँछन् ।

 

बाख्रापालेर वार्षिक ५ लाख बढी आम्दानी

देउखुरी । घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् । घरमा आमाले घरखर्चका लागि पाल्नुभएको पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्‍याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन् ।

‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै’ भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ’, खनालले भने । अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकाले खोर बाहिर राख्ने गरेको उनले बताए ।

खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएका छन् । ‘अहिले सोचेजति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक पाँच लाख ५० हजारसम्म आम्दानी हुन्छ । घरखर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन’, उनले भने, ‘युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ।’

खनालले बाख्रालाई खुवाउन १२ कठ्ठामा वर्षिम, पाँच कठ्ठामा जौँ र १० कठ्ठा जमिनमा नेपियर घाँसखेती गरेका छन् । उनले एकजना सहयोगी पनि राखेका छन् । एक सय वटा माउ बाख्रा पाल्ने र एक वर्षमा एक सय खसी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।

‘पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाले यहाँ केही गर्नुपर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ’, खनालले भने। आफ्नै जमिनमा लगानी गरी खोर तयार गरेर बाख्रापालन सुरु गरेको उनले बताए ।

संघ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुने पनि आफूले अहिलेसम्म कुनै निकायबाट सहयोग नगरेको उनले गुनासो गरे ।

‘लगानी लगाउने वित्तिकै आम्दानी वा नाफा खोज्नु हुँदैन, धैर्य गरेमा सफल भइन्छ । निरन्तर मेहनत भने गर्नुपर्छ’, खनालले भने । हालसम्म १२ लाख लगानी गरेर व्यवस्थित दुई वटा खोर बनाएको बताउँदै उनले गत दसैँमा मात्र रु पाँच लाख ५० हजारको खसीबोका बेचेको जानकारी दिए । एउटा खसीलाई रु ६० हजारसम्म बाख्रा बिक्री गरेको उनले उल्लेख गरे ।

अहिले खोरमा बिक्री गर्न १५ वटा खसीबोका तयार रहेका खनालले बताए । दाङसहित रोल्पा, रुकुम र प्यूठानबाट पनि ग्राहक बाख्रा खोज्न आउने उनले उल्लेख गर्दै भने, ‘बाख्रा खरिद गर्न व्यापारी घरमा आउँछन्, गत दसैँमा मात्रै रु पाँच लाख ५० हजारको खसीबोका बिक्री भएको थियो।’

यो वर्षको विस्तारै आम्दानी बढ्ने अपेक्षा रहेको बताउँदै खोर बनाउँदाको रकम चुक्ता भएपछि मुनाफामा जाने उनले उल्लेख गरे ।

आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उहाँले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

स्वदेशमै केही गर्न चाहेने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोेडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ ।

सन् २०२४- जलवायुजन्य सङ्कटलाई उजागर गरेको बर्ष

विश्व नै यतिबेला जलवायु परिवर्तनले निम्त्याउन थालेको असरको मारमा पिल्सिएको छ । विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरूपमा लामो अन्तरालमा आउने परिवर्तन नै जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिमहरू आज विश्वभरि तीव्र र अप्रत्याशित रूपमा फैलिरहेका छन् । जसले भूमण्डलीय जलवायु सङ्कटलाई थप गम्भीर बनाइरहेको छ । विभिन्न अध्ययनहरूले यो सङ्कट बढ्दो गति र जटिलतासाथ फैलिरहेको र समाधानको प्रक्रिया सुस्त रहेको देखाएका छन् । जलवायुजन्य सङ्कटको समाधान गर्न अब ढिलो गर्न नहुने भन्दै व्यापक आवाज उठिरहेको छ । प्रत्येक वर्ष तापक्रम र समुद्री सतहको वृद्धिले प्राकृतिक प्रकोपको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिएको छ । सङ्कटलाई समाधान गर्न विभिन्न देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूले कडा कदम चाल्नुपर्ने बहस पनि चर्किएको छ ।

जलवायुले सिर्जित प्रशस्त उदाहरणहरूका साक्षी हामी बनिरहेका छौँ । कालान्तरमा यसले निम्त्याउन सक्ने भयानक समस्याहरूले चिन्ता बढाएको छ । कालान्तरमा जलवायु सङ्कटका समस्याले कतै पृथ्वी अनि यी मानव जातिकै अस्तित्व धरापमा हुने पो हो कि अर्को चिन्ता पनि छ । तिनै सङ्कट समाधानका लागि आवश्यक कार्यको गति निकै सुस्त भएको आलोचना पनि उस्तै बढेको छ । जलवायु न्यायको पक्षमा विश्वव्यापी चासो र सक्रियता बढेको छ ।

अध्ययन अनुसन्धानहरूले डरलाग्दो तथ्यहरू प्रस्तुत गरिरहेका छन् । अध्ययनहरूले विश्वव्यापी रूपमा नै जलवायुजन्य सङ्कटको चाप बढिरहेको देखाएका छन् । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित सन् २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गरेको छ । सन् २०२४ को जनवरीदेखि सप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्तिअघि भन्दा १.५४ (०.१३ डिग्री सेल्सियसले बढी) डिग्री सेल्सियस भएको देखिएको छ ।

सन् १८५० देखि सन् १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १।३ डिग्री सेल्सियस मानव सिर्जितरूपमा तापमान वृद्धि भएको समेत अध्ययनले देखाएको छ । समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठुला आर्थिक र मानवीय क्षति भइरहेको भन्दै डब्लुएमओले प्रेस विज्ञप्ति नै जारी गरेको छ । सङ्गठनले सन् २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता हुने सम्भावना समेत औँल्याएको छ ।

यसले जलवायु परिवर्तनको तीव्र गति र यसको असरलाई थप प्रस्ट्याएको छ । एल निनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४.७७ मिमी बढेको छ । यसैगरी सन् २०२३ मा ग्लेसियरले १.२ मिटर पानी बराबरको बरफ गुमाएको र यो सन् १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना हो ।

सङ्गठनले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेसँगै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो सङ्कटबारे चिन्ता व्यक्त समेत गर्नुभएको छ । “जलवायु सङ्कटले स्वास्थ्यमा समस्या, असमानतामा वृद्धि, दिगो विकासलाई बाधा पुर्‍याएको छ र शान्तिको जग हल्लाएको छ । सबैभन्दा बढी प्रभावित कमजोर वर्गहरू छन्”, उहाँले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै भन्नुभएको छ, “वातावरणीय सङ्कटसँग जुध्नका लागि अहिलेको प्रयास नै भविष्यको सुरक्षा हो । जलवायु सङ्कट समाधानका लागि तत्काल कार्य गर्न जरुरी छ ।”

महासचिव गुटेरेसले अत्यधिक गर्मीको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई तीव्र बनाउन आग्रह गर्नुभएको छ । चार प्रमुख क्षेत्रमा केन्द्रित हुनसमेत उहाँको आह्वान छ । अत्यधिक गर्मीले सबैभन्दा बढी असर गरेका समुदायहरूलाई विशेष प्राथमिकता दिनुपर्ने, श्रमिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै कार्यस्थलहरूलाई गर्मी प्रतिरोधी बनाउने, अर्थतन्त्र र समाजको सुदृढीकरणका लागि तथ्याङ्क र विज्ञानको प्रयोगबाट अर्थतन्त्र र समुदायहरूलाई गर्मीसँग जुध्न सक्षम बनाउन उहाँको आह्वान छ ।

तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न जीवाश्म इन्धनको प्रयोग रोक्दै दिगो र स्वच्छ ऊर्जा स्रोतहरूमा लगानी बढाउने, नवीकरणीय ऊर्जा प्रवर्ध्दनका लागि हरित ऊर्जा प्रणालीको विकासलाई तीव्र बनाउनुपर्नेमा उहाँको जोड छ । सङ्गठनको अध्ययन अनुसार पछिल्लो समय जलवायु परिवर्तनले ल्याएको सङ्कटका कारणल विश्वले रेकर्ड तोड्ने वर्षा तथा बाढी जस्ता मनसुनजन्य विपद्को सामना गर्नुपरेको छ । कैयौँ स्थानमा अत्यधिक वर्षा र बाढीले जनधनको ठुलो क्षति पुर्‍याएको छ ।

विश्वभर जलवायु सङ्कटका कारण अत्यधिक गर्मी बढिरहेको छ । अझै बढ्ने क्रममा रहेको अध्ययनले देखाएको छ । विश्वको ७० प्रतिशतभन्दा धेरै श्रमिक (झण्डै २ अर्ब ४० करोड मानिस) अहिले चरम गर्मीको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । यीमध्ये सबैभन्दा कमजोर समुदायहरू सबैभन्दा धेरै प्रभावित भएको बताइएको छ । अध्ययनअनुसार श्रम क्षेत्रमा समेत नकारात्मक असर परिरहेको छ ।

नेपाल लगायतका अति कम विकसित मुलुकहरूमा अझै जलवायु परिवर्तनको जोखिम बढ्दो छ । यी मुलुकहरूको जलवायुजन्य जोखिम अनुकूलन तथा न्यूनीकरणका लागि लगानी गर्नसक्ने क्षमता कम छ । विश्वव्यापीरुपमा बढिरहेको तापमान वृद्धिको प्रभाव नेपालले पनि भोगिरहेको छ । भविष्यमा पनि अझै बढी भोगिरहने छ । बर्सेनि मुलुकले जलवायुजन्य सङ्कटको सामना गरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमालहरू काला पत्थरमा परिणत हुने खतरा छ । हिमाली क्षेत्रमा पर्ने बाक्ला हिमपात अहिले पर्न छाडेको छ । अध्ययनहरू हेर्दा हिमालको पहिचान माथिको सुरक्षामा चुनौती खडा भएको छ ।

एसियाली विकास बैंक (एडीबी) को नयाँ अनुसन्धानले जलवायु परिवर्तनको प्रभावले विकासशील एशिया र प्रशान्त क्षेत्रमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।

जलवायुले ल्याएका अन्य भयानक सङ्कटहरू हामीले झल्दै आइरहेका छौँ । गत साउन ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढीले पुर्‍याएको क्षति पनि जलवायुजन्य सङ्कटकै एउटा उदाहरण रहेको विज्ञहरूको भनाइ छ । गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यका लगायतका मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले धेरैले अकालमै ज्यान गुमाए र कयौँ अझै घाइते छन् । कति सर्वसाधारणलाई घरबारविहीन बनायो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । अठार जना अझै बेपत्ता छन् भने एक सय ७८ जना घाइते भएका छन् । झण्डै छ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । तीन वर्षअघि पनि बेमौसमी बाढीका कारण झण्डै आठ अर्बभन्दा बढी मूल्य बराबरको धानमा क्षति पुगेको मन्त्रालयको तथ्याङ्क छ । तीन वर्षअघि नै मनसुन सुरु भएको सातादिन नपुग्दै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा दुई अर्बभन्दा बढी क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिको तथ्याङ्क छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण मात्रै चार सय ९५ जानाले अकालमै ज्यान गुमाएका छन् भने ६६ जना बेपत्ता र पाँच सय २२ जाना घाइते भएका छन् । जलवायुका यी र यस्ता ज्वलन्त उदाहरणहरू हामीसँग थुप्रै छन् । खाद्य सुरक्षामा चुनौती थपिएका छन् । पानीका मुहानहरू सुक्ने खतरा उत्तिकै बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ४७ ओटा ठुला हिमताल जोखिममा रहेको र यी हिमतालहरू फुटेमा मुलुकले खर्बौँ मूल्यको आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने छ । जोखिममा रहेका हिमतालमध्ये २५ वटा चीनमा, २१ वटा नेपालभित्रै र एउटा भारतमा छन् ।

– विश्वव्यापी पैरवी गर्न कोप –

गत नोभेम्बर ११ देखि नोभेम्बर २४ सम्म बाकुको अजरबैजानमा जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसङ्घीयय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९ औँ शिखर सम्मेलन सम्पन्न भएको छ । विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको समस्याले विश्वभरका वातावरणविद्देखि सरोकारवालाहरूले चिन्ता जनाउन थालेपछि कोप सुरु भएको हो । जलवायुजन्य सङ्कटको समाधानका लागि विश्वभरका विज्ञदेखि, राजनीतिक दलका नेतृत्व तथा अन्य सरोकारवालाहरूबिच छलफल र समस्या समाधानका लागि पैरवी गर्ने लक्ष्यका साथ झण्डै तीन दशकयता चलिरहेको कोपमा जलवायु सङ्कटको विषयमा छलफल हुँदै आइरहेको छ ।

कोप जस्ता अन्तराष्ट्रिय सम्मेलनमा जलवायुजन्य सङ्कट, यसले निम्त्याउन सक्ने विकराल अवस्था र समस्या समाधानका उपायलगायतका विषयमा विश्वभरका एक सय ९२ भन्दा बढी मुलुक एकै छानामुनि भेला भएर बहस सुरु भएको हो । सबै देशका प्रतिनिधिहरू एकै स्थानमा भेला भएर जलवायुजन्य सङ्कट समाधानका लागि आवश्यक छलफल तथा पैरवी अगाडि बढाउने यो सुनौलो अवसर हो ।

सन् १९९२ जुन महिनामा १७२ राष्ट्रका प्रतिनिधि र सरकार प्रमुखहरूको पहिलो पटक ब्राजिलको राजधानी रिओ डि जेनेरिओमा सम्मेलन भएको थियो । त्यसपछि नै जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रियकरण भयो । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा भएको सम्मेलनले उठाएको वातावरणसम्बन्धी मुद्दा नै पछि जलवायु परिवर्तन र यसको न्यूनीकरणमा विकसित र विकासशील राष्ट्रहरूले खेल्नुपर्ने भूमिकामा छलफल भएको थियो । नेपालले भने स्टकहोममा भाग नलिए पनि रिओमा आफ्नो सहभागिता जनाएको थियो । त्यसपछिका हरेक जलवायु सम्बन्धी सम्मेलनमा सहभागिता जनाउँदै आइरहेको छ ।

– कोप २९- नतिजामा असन्तुष्ट –

कोपमा भएको पैरवीमा सहमति जुट्न नसेपछि २२ नोभेम्भरमा सम्पन्न हुने गरी कार्यतालिका तय भए पनि दुई दिन ढिला गरी सकिएको थियो । अति कम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप उपलब्धिमूलक नरहेको र संवेदनशील मुलुकहरूका लागि ठुलो धोका भएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । धनी तथा कार्बन उत्सर्जक मुलुकहरुले जलवायु परिर्वतन न्यूनीकरणका लागि ठोस निर्णय लिन आनाकानी गरिरहेको भन्दै एलडिसीले आपत्ति जनाएको हो ।

कोपको नतिजाबाट जलवायु सङ्कटको मुख्य जिम्मेवारी बोकेका देशहरूले फेरि एकपटक अति कम विकसित मुलुकहरूलाई असफल बनाएको एलडिसीको टिप्पणी छ । “हामी बाकु छाड्दै गर्दा न त महत्त्वाकांक्षी जलवायु वित्त लक्ष्य छ, न त १.५ डिग्रीमा तापक्रम वृद्धिलाई सीमित गर्न ठोस योजना, न त अनुकूलन र क्षति तथा नोक्सानका लागि आवश्यक व्यापक सहयोगको विषयमा स्पष्ट नतिजा देखियो,” एलडिसीका अध्यक्ष इभान्स न्जेवाले प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको थियो, “यो असफलता मात्र होइन, यो विश्वासघात हो ।”

– मागअनुसार जलवायु वित्त सहयोग न्यून –

बाकुमा सम्पन्न भएको कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) मा भएको सहमति भने उपलब्धिकैरुपमा रह्यो । विकसित देशहरूले विकासोन्मुख देशहरूलाई वार्षिक तीन खर्ब डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकरात्मक उपलब्धिका रूपमा विश्लेषण गरिएको छ । तर विकासोन्मुख राष्ट्रहरूको माग वार्षिक १३ खर्ब डलर थियो । मागभन्दा निकै कम जलवायु वित्तमा प्रतिबद्धता भएको छ ।

– हानी नोक्सानी कोषको आकार स्थिर –

जलवायु वित्त कोप २९ को मुख्य एजेन्डा थियो । विशेष गरी विकासशील र जलवायु परिवर्तनको मारमा परेका देशहरूले ‘नोक्सानी तथा क्षति कोष’ को तत्काल कार्यान्वयन माग गरेका थिए । धनी राष्ट्रहरूले यो कोष स्थापनामा सहमति जनाए पनि कोषमा आवश्यक रकम उपलब्ध गराउने र यसको व्यवस्थापन कसरी हुने भन्ने विषयमा कोप २९ मा स्पष्ट प्रतिबद्धता आउन नसकेको भन्दै नतिजामा असन्तुष्टि जनाइएको छ । जलवायु परिवर्तनका कारण गरिब देशहरूमा बढ्दो प्राकृतिक विपद् (जस्तै, बाढी, आँधी, खडेरी) को प्रभावलाई सम्बोधन गर्न ‘नोक्सानी र क्षति कोष’ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो । तर, कोष स्थापना गर्ने प्रक्रियाबारे सहमति भए पनि त्यसको दिगोपनामा प्रश्न उठेका छन् । हानी नोक्सानी कोषमा हाल करिब ७७ करोड डलर मात्रै जम्मा भएको छ । कोषमा खर्ब अमेरिकी डलरको माग छ ।

– अब यथाशीघ्र कार्यको खाँचो –

प्राकृतिक विपदहरूको तीव्रता विश्वव्यापी चिन्ताको विषय बनेको छ । अस्ट्रेलिया र क्यालिफोर्नियाका जङ्गलमा लागेको भीषण आगलागीका घटनाहरू होस् या अटलान्टिकमा भएका विनाशकारी आँधी नै किन नहोस्, यी जलवायुजन्य सङ्कटका उदाहरणहरू हुन् । जलवायुजन्य विश्वव्यापी उदाहरणहरू अरू थुप्रै छन् ।

यही भयावह अवस्थाले जलवायु परिवर्तनका प्रभाव निराकरणमा चेतना बढ्दै गएको छ । विश्वका सरकार प्रमुखदेखि विधायिकासम्मलाई विश्वभरिका जलवायु नीतिहरूलाई अझ बलियो बनाउनका लागि दबाब पनि बढ्दै गएको छ । विश्वव्यापी दबाब र पैरवी बढिरहँदा जलवायुको सिर्जित नकारात्मक अवस्था समाधान हुनेमा आशा बाँकी छ । जलवायु न्यायको पक्षमा बुलन्द आवाज उठिरहेको छ ।

जलवायुको बढ्दो सङ्कट समाधानका लागि यथाशीघ्र कार्य गर्न नसके अझै हामीले जलवायुजन्य विपद्को सामना गर्नुपर्ने छ । सङ्कट समाधानमा जोड दिएर विश्वको अर्थतन्त्रमा ह्रास हुनबाट जोगाउनु छ । प्राकृतिक विपद् न्यूनीकरण गर्नु छ । मानिसलाई बचाउनु छ । पृथ्वी र हिमालको सुरक्षा गर्नु छ । हाम्रो भविष्यको रक्षा गर्नु छ । तसर्थ चाँडोभन्दा चाँडो जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन गर्न विश्वव्यापी सहकार्यको आधारमा कार्य अगाडि बढाउन आवश्यक छ ।

यतिबेला हामी सन् २०२५ मा प्रवेश गरेका छौँ । बढ्दो तापमान वृद्धिले गम्भीर विपद् ल्याउन सक्ने, जैविक विविधताको हानी र पारिस्थितिकी प्रणालीमा क्षति पुग्दै छ । जलवायु परिवर्तन विरुद्धको लडाइँ केवल एक वातावरणीय मुद्दा मात्रै होइन । यो त मानवतावादी मुद्दा पनि हो । जलवायु परिवर्तनको चुनौतीलाई पराजित गर्नैपर्छ । यसका लागि सबैको सक्रिय योगदान आवश्यक छ । विश्वव्यापी सहकार्य जरुरी छ । आज नगरे कहिले गर्ने ? अहिले नगरे अब कहिले गर्ने ? भन्ने प्रश्नलाई आत्मसात् गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।

 

पूर्वाधार क्षेत्रमा बढ्दो गुनासोः उजुरीका चाङैचाङ

प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ । समितिद्वारा आयोजित छलफल कार्यक्रममा भौतिक पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या तथा ऊर्जा क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा सरोकार भएका संस्था तथा व्यक्तिले गुनासोसहित उजुरी दर्ता हुनेक्रम बढेको भनी चिन्ता र चासो व्यक्त गरिएको छ ।

समितिमा परेका गुनासा सम्बोधन गर्ने उद्देश्यले दुई वटा उप-समिति गठन गरेको जानकारी दिँदै समितिका सभापति दीपकबहादुर सिंहले नीतिगत अस्पष्टताका सन्दर्भमा तालुक मन्त्रालयसँग समन्वय गरी आवश्यक रायसुझाव दिन भनी उपसमिति गठन गरेको बताउनुभयो । उहाँका अनुसार ऊर्जा क्षेत्रमा देखिएका समस्या र परेका उजुरी सम्बोधनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा रहिसक्नुभएका पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसक्नुभएका पूर्वमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा पूर्वाधार क्षेत्रमा देखिएका समस्या र उजुरी सम्बोधनका लागि अर्को उपसमिति गठन भएको छ । समितिका सभापति सिंहले सरोकार भएका व्यक्ति तथा निकायसँग छलफल गरी पूर्वाधार क्षेत्रमा देखिएका विकृति, विसङ्गति र गुनासो सम्बोधनका पक्षमा सहयोग र सहजीकरण गर्न उपसमिति क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो ।

“जनताको जग्गा पूर्वाधार निर्माणको नाममा लिनुहुँदैन, लिनुपर्ने भए जनतालाई उचित क्षतिपूर्ति र मुआब्जा तिर्नुपर्छ भनेर उप-समिति गठन गरिएको हो”, उहाँले भन्नुभयो, “प्रसारण लाइन तथा ऊर्जा क्षेत्रमा पनि समस्या छन्, देखिएका समस्या समाधानका पक्षमा उपसमितिले काम गर्ने छ ।” नागढुङ्गा सुरुङमार्गमा परेका घरजग्गाको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति रकम उपलब्ध गराइदिन माग राखी उजुरी-निवेदन परेको, काठमाडौँ तराई द्रुतमार्ग आयोजनाको खोकना क्षेत्रमा सांस्कृतिक, धार्मिक, आध्यात्मिक तथा पुरातात्विक महत्त्वका सम्पदा मासिन लागेको भनी त्यसको सम्बोधनका पक्षमा समेत समितिमा उजुरी परेको बताइयो ।

पृथ्वी राजमार्गअन्तर्गत पूर्वीखण्डतर्फको डुम्रेस्थित सडकको मापदण्ड र मुआब्जाका विषयमा निवेदन परेको, छोड्नुपर्ने मापदण्ड छोडिएको, मुआब्जामा राख्न नपर्ने भनी नराखिएको र सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्दा घरमा कुनै असर नपर्ने भनिए सटर-कवल आधा ढाकिने गरी पर्खाल लगाउन थालिको हुँदा क्षतिपूर्तिका लागि संसदीय समितिसमक्ष उजुरी परेको समितिले जनाएको छ ।

यसैगरी सफा तथा खिया नलागेको फलामे डण्डीको प्रयोग र तिनका रक्षकका रूपमा रहेको गुणस्तरीय ढलान र प्रविधिको प्रयोग गर्नुपर्ने सम्बन्धमा पनि उजुरी-निवेदन प्राप्त भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले हेटौँडा–बागमती-टीकाभैरब-भैँसेपाटी-एकान्तकुना सडकखण्डलाई कान्ति राजपथ बनाउने र ललितपुरस्थित एकान्तकुनालाई कान्ति राजपथको प्रस्थानबिन्दु बनाउने प्रस्ताव कुन आधारमा मन्त्रिपरिषद्समक्ष पेस गरेको र मन्त्रिपरिषद्ले कुन आधारमा निर्णय गरेको भन्ने विषयमा पनि उजुरी परेको सभापति सिंहले जानकारी दिनुभयो ।

यसैगरी बुटवल भैरहवाका छ वटा उद्योगको विद्युत् महसुल विवादका सम्बन्धमा उजुरी परेको, ट्रङ्क वा डेडिकेटेड लाइनको माग स्वीकृतिसहित उपभोग नगरेका धान-गहुँ कुटानीपिसानी तथा घरेलु उपभोग्य प्लास्टिकजन्य सामान बनाउने उद्योगलाई बिनाप्रमाण ट्रङ्क लाइनको बक्यौता तिर्न भनी नेपाल विद्युत् प्राधिकरणले पठाएको बिलभाउचरका सन्दर्भमा पनि उजुरी परेको समितिले जनाएको छ । त्यस्तै ट्रङ्क तथा डेडिकेटेड लाइनका लागि निवेदन नदिएको, प्राधिकरणबाट स्वीकृत नभएको, विद्युत् खपतसमेत नगरेकोलगायतका विवरण विद्युत् प्राधिकरणले उपलब्ध नगराएकोजस्ता विषय समेटेर उजुरी परेका छन् ।

यसैगरी उजुरीमार्फत ललितपुरका गुइटोल, पिन्छे, सुवाहा, सोकोःलगायत क्षेत्रमा कुनै धारामा पानी आउने र कुनैमा नआउने समस्या रहेको, पानी नआउने ग्राहकको पहिचान गरी जरिवाना तथा शुल्क मिनाहाको माग गरिएको छ । पेटी ठेक्काको पुनःनिर्माण सम्पन्नपश्चात् भुक्तानी नपाएको रकम दिलाउन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा पानी वितरण गर्ने पाइपमा समस्या रहेको, कतिपय स्थानमा पाइपमा समस्या भई पानी चुहावट भइरहेकाले समस्या समाधानका लागि समेत उजुरी परेको सभापति सिंहले बताउनुभयो ।

यसैगरी टेकु–कालीमाटी पुल सञ्चालन नगरी त्यसमा अनियमित काम भएको र निर्माणमा संलग्न ठेकेदारलाई दुःख दिएको आरोपसहितको उजुरी समितिमा परेको सभापति सिंहले बताउनुभयो । यसैगरी नेपाली सेनाको जिम्मामा रहेको काठमाडौँ तराई जोड्ने दूर्तमार्ग निर्माण आयोजनाको काम कारबाहीका सन्दर्भमा समेत उजुरी परेको समितिले जनाएको छ ।

पूर्वाधार क्षेत्रमा देखिएको समस्या समाधानमा समितिको चासो

यसैगरी उजुरीमाथि भएको छलफलमा समितिका सदस्यहरूले विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएका समस्यालाई समयमै सम्बोधन गरी सकारात्मक परिणाम दिनेतर्फ पूर्वाधार विकास समितिको ध्यान जानुपर्नेमा जोड दिनुभयो । छलफलमा भाग लिँदै सांसद ठाकुर गैरेले राष्ट्रिय गौरवका आयोजनाको काम समय नै सम्पन्न हुन नसक्नु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसतर्फ समितिले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद शङ्कर भण्डारीले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरी विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएका समस्याको पहिचान तथा समाधानका विषयमा स्पष्ट हुन समितिको तर्फबाट अनुगमन हुनुपर्ने माग गर्नुभयो ।सांसद प्रकाश ज्वालाले समितिमा परका गुनासोका सन्दर्भमा सम्बन्धित सरकारी निकायसँग सम्पर्क, समन्वयसहित सहकार्य गरी अघि बढ्नुपर्ने र मुलुकको विकास निर्माणसँग सम्बन्धित गतिविधिलाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी ९पिपिपी० मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ।

सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने र विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल (बाजुरा) लाई नियुक्त गर्ने पनि निर्णय गरेको छ।

“आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँमा सरूवा गर्ने निर्णय भएको छ”, सरकारका प्रवक्ता गुरूङले भन्नुभयो।

 

 

बन्दीपुर भ्रमण वर्ष शुभारम्भ

तनहुँ । ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष २०२५ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज शुभारम्भ गरेका छन् । सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो । बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

भ्रमण वर्षका क्रममा बन्दीपुर-छिम्केश्वरी-मनकामना-गोरखा मन्दिर-लिगलिगकोट-भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ । भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्न सक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिए । भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उनको भनाइ थियो ।

बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान गरी तिनीहरूको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रियस्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने भ्रमण वर्षको उद्देश्य रहेको जनाइएको छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा ९मिनी ग्रेटवाल०, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

 

‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’

सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताउनुभएको छ । “बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,” वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको रूपरेखा दिने बताउनुभयो । सिङ्गापुरको प्रमुख प्राथमिकताहरूमा आर्थिक प्रतिस्पर्धात्मकता बढाउने, नागरिकहरूका लागि अवसर तथा राम्रो रोजगारी सिर्जना गर्ने र बढ्दो जीवनयापन लागतको प्रभावलाई कम गर्ने समावेश छ ।

“हामीले विशेष गरी वृद्ध व्यक्तिहरू तथा कम आय समूहकाहरूलाई थप लक्षित समर्थन प्रदान गर्नेछौं,” वोङले बताउनुभयो । वृद्ध आमाबाबु तथा साना बच्चाहरूलाई बेवास्ता गरिने छैन । नोभेम्बरमा, व्यापार तथा उद्योग मन्त्रालयले सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन वृद्धि सन् २०२४ को लागि करिब ३ दशमलव ५ प्रतिशत हुने अनुमान गरेको थियो ।

विश्व अर्थतन्त्र २०२४- कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू-राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन-रुस युद्ध, मध्यपूर्वको विवाद, र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित गर्यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल गर्यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो । विश्व तापमानमा ऐतिहासिक वृद्धि र प्राकृतिक प्रकोपहरूले जलवायु सङ्कटलाई थप गम्भीर बनाएको यो वर्ष आर्थिक, सामाजिक, र प्रविधिक दृष्टिले महत्त्वपूर्ण रह्यो । विश्व अर्थतन्त्रका महत्त्वपूर्ण घटना र उपलब्धीलाई राससले समीक्षा गरेको छ ।

कमजोर आर्थिक वृद्धि

यो वर्ष कमजोर आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीति र नियन्त्रणकारी मौद्रिक नीतिको वर्ष रह्यो । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले सन् २०२४ मा विश्व आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत र विश्व बैंकले दुई दशमलव छ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर यसवर्ष तीन दशमलव दुई प्रतिशत रहने छ । आइएमएफद्वारा प्रकाशित ‘वर्ल्ड इकोनोमिक आउटलुक’ अनुसार भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारण विश्वको आर्थिक वृद्धि कोभिड-१९ पूर्वको तुलनामा अझै कमजोर छ । यसवर्ष विकसित मुलुकको अर्थतन्त्र एक दशमलव आठ र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर चार दशमलव दुई प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । यसवर्ष भारतको आर्थिक वृद्धिदर सात प्रतिशत र चीनको आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ ।

अघिल्ला वर्षहरूको तुलनामा विश्वको मुद्रास्फीतिमा सुधार हुँदै आएको छ । सन् २०२३ मा विश्वको उपभोक्ता मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहेकोमा यसवर्ष पाँच दशमलव आठ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । यसवर्ष भारतको मुद्रास्फीति चार दशमलव चार प्रतिशत र चीनको मुद्रास्फीति शून्य दशमलव चार अनुमान गरिएको छ । मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तर्राष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा साढे पाँच प्रतिशत पुर्‍याएको ‘फेडरल फन्ड रेट’लाई क्रमशः घटाउँदै २०२४ सेप्टेम्बरमा चार दशमलव ७५ प्रतिशतदेखि पाँच प्रतिशत कायम गर्यो भने २०२४ नोभेम्बरमा साढे चार प्रतिशत देखि चार दशमलव ७५ प्रतिशत कायम गरेको छ ।

युरोपियन केन्द्रीय बैंकले पनि २०२४ अक्टोवरमा निक्षेप सुविधा दरलाई २५ आधार विन्दुले घटाई तीन दशमलव २५ प्रतिशत कायम गरेको छ । यसवर्ष मौद्रिक क्षेत्र व्यवस्थापनका लागि ठुलो अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकहरूले समेत कडा मौद्रिक नीति अबलम्बन गरे । जसले मुद्रास्फीति नियन्त्रण गर्न केहि मद्दत पुर्‍याए पनि सार्वजनिक वित्तमा भने दबाब सिर्जना गर्यो ।

ब्रिक्सद्वारा अमेरिकी डलरको निर्भरता घटाउन पहल

गत अक्टोबरमा रूसका कजानमा सम्पन्न ब्रिक्स राष्ट्रहरूको १६औं सम्मेलनले अमेरिकी डलरप्रतिको निर्भरता घटाउने योजना माथि छलफल गरेपछि त्यसको चर्चा विश्वभरि चुलियो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूले डलरको स्थानान्तरण गर्न खोजे ती देशहरूले महँगो भन्सार दर र व्यापार प्रतिबन्धसमेतको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । हाल विश्वमा अमेरिकी डलरको प्रभुत्व घटिरहेको छ, तर यो अझै पनि सबैभन्दा बढी प्रयोग हुने मुद्रा हो । डलरले विश्व केन्द्रीय बैंक रिजर्भको करिब ५९ प्रतिशत हिस्सा ओगटेको छ । ब्रिक्स राष्ट्रहरूले डलरको प्रयोग घटाउने प्रयास गरे पनि यो प्रक्रिया शुरु हुन अझै समय लाग्नेछ । यद्यपि ब्रिक्स राष्ट्रहरूले डिजिटल मुद्राको प्रयोग र साझा मुद्रा निर्माणको प्रस्तावलाई प्राथमिकता दिएका छन् ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

२०२४ अक्टोबर १४ मा स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सले यसवर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार ड्यारन एसिमोग्लु, साइमन जोनसन, र जेम्स ए। रोबिन्सनलाई प्रदान गर्ने निर्णय गर्यो । यी तीन जना अर्थशास्त्रीले ‘सामाजिक संस्थाहरू कसरी निर्माण हुन्छन् र तिनले मुलुकको आर्थिक विकास तथा समृद्धिमा कस्तो प्रभाव पार्छन्’ भन्नेबारे अध्ययन गरेका थिए । बढी समावेशी संस्थाहरू भएका देशहरूमा समृद्धि सम्भव भएको तर शोषणकारी संस्थाहरू भएका देशहरू आर्थिक असमानतामा फसिरहेका निष्कर्ष उहाँहरूको अनुसन्धानको थियो । समावेशी संस्थाहरूले दीर्घकालीन लाभ पुर्याउने तर शोषणकारी संस्थाहरूले अल्पकालीनरूपमा सत्तामा रहेका व्यक्तिलाई मात्र फाइदा पुर्‍याउँछन् ।

दुई अमेरिकी बैंक डुबे

सन् २०२३ मा अमेरिकामा पाँचवटा बैंक बन्द भएकोमा यसवर्ष थप दुईवटा बैंक डुबे । अमेरिकाको ओक्लाहोमा राज्यको ‘द फस्र्ट नेसनल बैंक’ र पेन्सिलभेनिया राज्यको ‘रिपब्लिक फस्र्ट बैंक’ यस वर्ष बन्द भए । झुटा तथा भ्रामक बैंक रेकर्ड, ठगी, क्रिप्टोमा लगानी जस्ता कारण यी बैंकमा समस्या देखिएपछि अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले टेकओभर गरेर व्यवस्थापन गरेको थियो ।

फस्टाउँदो ‘फिनटेक’

सन् २०२४ मा फिनटेक क्षेत्रमा प्रविधिको विकाससँगै त्यसले प्रयोगकर्ता आएको परिवर्तनका कारण ठुलो रूपान्तरण देखियो । अन्तरदेशीय (क्रस–बोर्डर) भुक्तानी क्षेत्रमा ‘ब्लकचेन’ र ‘स्टेबलकोइन’ प्रविधिको प्रयोगले अन्तर्राष्ट्रिय कारोबारलाई छिटो, सस्तो, र पारदर्शी बनाउँदै लगेको छ । डिजिटल वालेटहरू बहुआयामिक वित्तीय प्लेटफर्मका रूपमा उदाएका छन् । वालेटका रूपमा उदाएका ‘एप्पल पे’ ‘गुगल पे’ जस्ता प्लेटफर्महरू क्रिप्टोकरेन्सी कारोबार, क्रस–बोर्डर भुक्तानीलगायतका क्षेत्रमा आक्रामक रूपमा अघि बढिरहेका छन् । ‘ओपन बैंकिङ’ को अवधारणा, अमेजनजस्ता इकमर्स प्लेटफर्महरूले आफै भुक्तानी सेवा उपलब्ध गराउन थाल्नु, कृत्रिम बौद्धिकताको प्रयोगबाट लगानीको जोखिम विश्लेषणलगायतका प्रविधिमा आधारित विषयहरू यस वर्ष चर्चामा रहे । यी प्रवृत्तिहरूले फिनटेक क्षेत्रलाई तीव्र विकास मात्र होइन, उपभोक्तामुखी र वातावरणीय रूपमा उत्तरदायी सेवाहरूलाई प्राथमिकता दिने नयाँ दृष्टिकोण विश्वव्यापी रूपमा स्थापित हुन थालेको छ ।

गुगललाई विश्वको जिडिपीभन्दा बढी जरिवाना

रुसको एक अदालतले गत अक्टोबरमा गुगल कम्पनीलाई हालसम्मकै ठुलो रकम जरिवानाको फैसला गर्यो । युट्युवमा रुसका सञ्चारमाध्यामलाई प्रतिबन्ध लगाएपछि दुई अन्डेसिलियन (दुईको पछाडि ३६ वटा शून्य) बराबरको जरिवानाको फैसला रुसको अदालतले गरेको हो । यो जरिवाना रकम विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा पनि बढी हो ।

ऐतिहासिक बिन्दुमा क्रिप्टो बजार

सन् २०२४ मा क्रिप्टोकरेन्सी बजारले ऐतिहासिक बिन्दु कायम गर्‍यो । यस वर्ष बिटक्वाइनको मूल्य एक लाख अमेरिकी डलर नाँघ्यो । गतवर्षको तुलनामा बिटक्वाइनको मूल्य १२० प्रतिशत ले र इथरको मूल्य ५५ प्रतिशतभन्दा बढीले वृद्धि भयो । यस्तो वृद्धिको प्रमुख कारणमध्ये ‘बिटक्वाइन एक्सचेञ्ज-ट्रेडेड फन्ड’ लाई अमेरिकाले स्वीकृति दिनु, विटक्वाईनमा संस्थागत लगानीकर्ताको चासो बढ्नु र नयाँ क्रिप्टो नियमहरू लागु हुनु लगायत हुन् । नेपालको छिमेकी देश भुटानले यसवर्ष अमेरिकी डलर तीन करोड ५० लाख बराबरको बिटक्वाइन बेचेको विषय पनि चर्चामा रह्यो ।

ठुला मर्जर र एक्विजिसन

सन् २०२४ मा व्यवसायिक क्षेत्रमा निकै महत्त्वपूर्ण प्राप्ति (मर्जर) र अधिग्रहण (एक्विजिसन) का सम्झौता भए । यसवर्ष ‘क्यापिटल वान फाइनान्सियल कर्पोरेसन’ले डिस्कभर फाइनान्सियल सर्भिसेजलाई ३५ दशमलव ती अर्ब अमेरिकी डलर बराबरको स्टक(आधारित सम्झौतामा अधिग्रहण गर्ने घोषणा गर्यो । यस मर्जरले क्रेडिट कार्ड र उपभोक्ता बैंकिङ क्षेत्रमा ठुलो प्रतिस्पर्धी संस्था निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, जोन्सन एन्ड जोन्सन (जे एन्ड जे) ले १३ दशमलव एक अर्ब डलरमा शकवेभ मेडिकललाई अधिग्रहण गर्‍यो । जसले इन्ट्राभास्कुलर लिथोट्रिप्सी (आइभिएल) प्रविधिमा आधारित मेडिकल उपकरण निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ठानिएको छ ।

त्यस्तै, हेव्लेट प्याकार्ड इन्टरप्राइजले १४ अर्ब डलरमा जुनिपर नेटवक्र्सलाई गरेको अधिग्रहण, एक्सोन मोबिलले पायोनियर नेचुरल रिसोर्सेसलाई करिब ६० अर्ब डलरको स्टक–आधारित सम्झौताको अधिग्रहणलगायतका व्यावसायिक सम्झौताहरू चर्चामा रहे ।

साइबर हमला

सन् २०२४ मा भएका विभिन्न साइबर हमलाले विश्वभरका धेरै वटा संस्था र महत्त्वपूर्ण सेवा प्रवाहमा अवरोध सिर्जना भयो । २०२४ जनवरीमा अमेरिकाको लोन डिपो कम्पनीमा ‘र्यान्समवेयर’ आक्रमण हुँदा उक्त कम्पनीको एक करोड ६० लाख भन्दा बढी ग्राहकको व्यक्तिगत जानकारी चोर्नुका साथै कम्पनीलाई करिब दुई लाख ७० हजार अमेरिकी डलर बराबरको घाटा लाग्यो । चिनीयाँ ह्याकरहरूको समूह ‘भोल्ट टाईफुन’ ले अमेरिकाको ऊर्जा, पेट्रोलियम पाइपलाईनजस्ता महत्त्वपूर्ण पूर्वाधार परियोजनामा साइबर आक्रमण गरे । अमेरिकाको ‘चेन्ज हेल्थ केयर’ आक्रमण, अस्ट्रेलियाको ‘मेडि सेक्युअर’ डाटा चोरी, बेलायतको ‘एनएचएस’ आक्रमण, स्नोफ्लेक आक्रमणलगायतका घटनाले साइबर सुरक्षाको क्षेत्रलाई तरङ्गित बनायो ।

यसरी सन् २०२४ मा राजनीति, जलवायु, युद्ध, सूचना प्रविधिलगायतका क्षेत्रमा महत्त्वपूर्ण घटना घटे । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले पुनरागमन गर्दै विश्व राजनीतिमा ठुला बदलावको सङ्केत दिए । उनको ‘अमेरिका फस्र्ट’ नीतिले अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अघि बढ्छ भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । जलवायु परिवर्तनको असरले सन् २०२४ लाई इतिहासकै सबैभन्दा तातो वर्ष बनायो । बढ्दो तापक्रम र प्राकृतिक प्रकोपहरूले वातावरणीय सङ्कटलाई थप जटिल बनाए । युक्रेन-रुस युद्धको तेस्रो वर्षमा द्वन्द्व अझै तीव्र बन्यो, र दुबै पक्षले ठुलो क्षति व्यहोर्नुपर्यो । मध्य पूर्वी देशको विवाद पनि उत्कर्षमा रह्यो ।

 

प्रतिनिधिसभाका सचिव राईद्वारा शपथ ग्रहण

सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित शपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।

सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त सचिव राई लामो समय शिक्षक पेसामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकका रूपमा काम गर्दै आउनुभएको थियो ।

 

 

सदस्यता नै नभएपछि विकल्पबाट हिँड्न बाध्य भएँ – भीम रावल

नेकपा (एमाले) बाट निकालिएका भीम रावलले विकल्पबाट हिँड्न बाध्य भएको बताएका छन्। एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।

देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरू केपी ओली गुटको कोपभाजनमा पर्न थाले। यस्तै कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु, उनले भने।

रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको उल्टो आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए।

केपी ओलीमाथि प्रश्नको वर्षा
भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । पत्रकार सम्मेलनमा रावलले ओलीले फरक मतलाई सम्बोधन नगरेको, पार्टीलाई विधिसम्मत सञ्चालन नगरेको, पार्टीमा विभाजनको बिउ रोपेको, पार्टीको निर्णयलाई चुनौती दिने काम गरेको भन्दै सयौँ प्रश्न गरेका हुन् ।

एक घण्टाभन्दा लामो समय पत्रकार सम्मेलनमा उनले आफ्नो लिखित धारणा राख्दै ओलीलाई प्रश्नको वर्षा गरेका हुन् । कविताबाट पत्रकार सम्मेलन सुरु गरेका उनले त्यसपछि अधिकांश समय ओलीकै आलोचना गर्दै ओलीले पार्टी र सत्ता सञ्चालनका क्रममा कैयन गल्ती गरेको आरोप लगाए ।

उनले ओलीलाई विभिन्न समयमा राष्ट्र हित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिबद्धता पुरा नगरेको, सङ्क्रमणकालीन न्यायसम्बन्धी काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गरे । उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरे ।

रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खान मिल्छ र ? भनेर पनि प्रश्न गरे । त्यसक्रममा उनले दुई दिनसम्म प्रतिनिधिहरूलाई अलपत्र पारेको, अन्यलाई एकएक गरेर बोलाएर धम्क्याएको, चुन्ने र चुनिने अधिकारको अभ्यास गर्नु गलत हो र ? भन्दै प्रश्न गरे ।

रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर भनेको जस्ता विषय हास्यास्पद भएको बताए । रावलले आफूलाई एमालेले सोधेको स्पष्टीकरण पनि विधिसम्बत नरहेको बताएका छन् ।

उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरेपनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका गुनासो गरे । उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने समेत बताए ।

‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’, रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको ?’

कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे । उनले पार्टीलाई विग्रह र विभाजनतर्फ धकेल्ने काम ओलीले गरेको आरोप लगाउँदै उनी नसच्चिए ०८४ सम्म पार्टी कुन हालतमा पुग्छ भन्ने अहिले नै अनुमान गर्न सकिने बताए ।