Page 222 – Nepalboli

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ ।

“मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्र्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।

महाकुम्भ २०२५- उत्सव सुरु, सङ्गममा बिहान गङ्गा आरती

महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरु’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, सङ्गमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ । यसअघि उत्तर प्रदेशको प्रयागराजको त्रिवेणी सङ्गममा विशेष गङ्गा आरतीमा महिलाहरूले भाग लिएका थिए । यो विधि आगामी कुम्भ मेलाको पूर्वाभ्यास पनि थियो । “आज एक विशेष आरती गरियो । यो कुम्भ मेलाको पूर्वाभ्यास थियो । केटाहरूले त्रिवेणी आरती र केटीहरूले गङ्गा आरती गर्नेछन् । आरती गर्ने यी बालबालिकाहरूलाई सबैले प्रेरित गर्ने छन् भन्ने हामीले आशा गरेका छौँ।।। सनातन धर्ममा कुनै सीमा छैन भन्ने हामी सन्देश दिन चाहन्छौँ”, प्रयागराज तीर्थ पुरोहित प्रदीप पाण्डेले भन्नुभयो ।

महाकुम्भ १२ वर्षपछि मनाइँदैछ र जनवरी १३ देखि फेब्रुअरी २६ सम्म प्रयागराजमा भक्तजनहरूको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको छ । शाही स्नान (राजकीय स्नान) भनेर चिनिने मुख्य स्नान जनवरी १४ (मकर सङ्क्रान्ति), जनवरी २९ (मौनी अमावस्या) र फेब्रुअरी ३ (बसन्त पञ्चमी) मा हुनेछ । दुर्घटना हुन नदिन जिल्ला प्रशासनले विशेष गरी भिड व्यवस्थापन र आगलागीबाट बच्न भक्तजनको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चालेको छ ।

जिल्ला प्रशासनले महाकुम्भ समारोहअघि नयाँ दमकल केन्द्रहरूको उद्घाटन गरेको छ, जहाँ आगलागी भएमा द्रुत प्रतिक्रिया सुनिश्चित गर्न कम्तीमा ३६५ वटा सवारी साधन तैनाथ गरिएको छ । यसबाहेक सामान्य मानिसहरु सानो आगलागी घटनामा नआत्तिउन् भनेर अधिकारीहरूलाई जनचेतना अभियान र नक्कली अभ्यासहरू सञ्चालन गर्न भनिएको छ ।

एडिजी फायर पद्मजा चौहानले जनचेतना फैलाउन खटिएका अधिकारीहरूले मानिसहरूलाई यस्ता आगलागी घटनाहरू सम्हाल्न पनि सिकाउने बताउनुभयो । “हामीले अधिकारीहरूलाई पालहरूमा जान, जनचेतना फैलाउन र नक्कली अभ्यास गर्न भनेका छौँ । यदि कुनै सानो आगलागी घटना भएमा मानिसहरू नआत्तिउन् । अधिकारीहरूले मानिसहरूलाई यस्तो आगलागी कसरी नियन्त्रण गर्ने भनेर पनि सिकाउनेछन्”, उहाँले भन्नुभयो

यस पटक महाकुम्भका लागि प्रशासनले भक्तजनहरूको सुरक्षा सुनिश्चित गर्न कर्मचारीहरूको तैनातीसँगै प्राविधिक उपकरणहरू छनोट गरेको छ । चौहानले प्रशासनले श्रमशक्ति बढाएको र कुनै पनि भूभागमा चल्न सक्ने क्विक रेस्पोन्स भेहिकल, अलटेरेन भेहिकल (एटिभी), फायर फाइटिङ रोबोट र फायर मिस्ट बाइक तैनाथ गरेको जानकारी दिनुभयो ।

चौहानका अनुसार प्रशासनले आगो निभाउने डुङ्गाहरू पनि ल्याएको छ । ती डुङ्गा एक हप्तामा तैनाथ गर्न तयार हुनेछन् । डुङ्गाहरूले आगो निभाउन नदीको पानी प्रयोग गर्ने छन् । यसैबिच डिजिटल फड्को मार्दै उत्तर मध्य रेलवेको प्रयागराज डिभिजनले आधुनिक प्रविधिमार्फत टिकटिङ प्रक्रियालाई सरल बनाउन नयाँ पहल सुरु गरेको छ ।

महाकुम्भको समयमा प्रयागराज जङ्क्सन र अन्य प्रमुख स्थानहरूमा वाणिज्य विभागका समर्पित रेलवे कर्मचारीहरू तैनाथ गरिनेछ । यी कर्मचारीहरूलाई तिनीहरूको हरियो ज्याकेटहरूद्वारा सजिलैसँग पहिचान गर्न सकिन्छ, जसमा पछाडि क्युआर कोड छापिएको हुनेछ । तीर्थयात्रीहरूले आफ्नो मोबाइल फोनबाट यो क्युआर कोड स्क्यान गरेर युटिएस (अनरिजभ्र्ड टिकेटिङ सिस्टम) मोबाइल एप डाउनलोड गर्न सक्नेछन् ।

यो एपले यात्रीहरूलाई लामो लाइनमा नबसी अनरिजभ्र्ड टिकट बुक गर्न अनुमति दिन्छ । यो अभूतपूर्व पहलले रेलवे स्टेशनहरूमा भीड कम गर्ने छ र तीर्थयात्रीहरूलाई सहज रूपमा टिकट खरिद गर्न सक्षम बनाउनेछ । डिजिटल भुक्तानी विकल्पहरू प्रक्रियामा एकीकृत गरिएको छ । यसले महाकुम्भमा आउने लाखौँ भक्तजनका लागि समय बचत र झन्झट-मुक्त अनुभव प्रदान गर्ने वाचा गर्दछ ।

 

तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

धनुषालगायत मधेशका जिल्लामा बाक्दो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ। चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक चन्देश्वर महासेठको सुझाव छ।

“यसका साथै बाथ तथा गेठियाका रोग लागेका विरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुन्छ। चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरिर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक छ”, महासेठले भने।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले केहीदिन देखि यहाँ अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे। “अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन्। जनकपुरधाम क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ। यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ। त्यसैले विशेष सतर्कताका लागि हाम्रो आग्रह छ”, उनले भने।

चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए।

चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

 

पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

म्याग्दीको धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ। हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा मुना मालिकामा पर्यटकीय गतिविधि बढ्न नसकेका गाउँपालिका–३ का वडाअध्यक्ष देवेन्द्र रोकाले बताए ।

उनका अनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ। मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिए ।

मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यस क्षेत्रमा जालिका, मालिका र कालिका देवीका थान रहेका छन् । बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

मालिका गाउँपालिकाको देविस्थान र धवलागिरिको मुनाका बासिन्दा यहाँ पूजाआजाका लागि आउने गर्छन् । पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगितासमेत हुने गरेको जानकारहरू बताउँछन् । यो मुनाका कृषकहरुको गाईभैंसी र भेँडाबाख्रा चरिचरन गराउने महत्वपूर्ण क्षेत्र पनि हो ।

धवलागिरिको केन्द्रसमेत रहेको मुनादेखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । यहाँ होटल तथा रेष्टुरेन्ट नभएकाले पाहुना, पर्यटक र भक्तजनले खाने र बन्दोबस्तीका सामान आफैँ लैजानुपर्ने हुन्छ । पछिल्लो समय यहाँको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले चासो देखाउन थालेको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाअध्यक्ष रोकासहित जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी, स्थानीयवासी र गाउँपालिकाका कर्मचारीहरुको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रवद्र्धन कार्यक्रमसमेत गरिएको थियो।

यसबाहेक यहाँ सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु २० लाख र गाउँपालिकाबाट रु १५ लाख बजेट विनियोजन गरिएको छ। यसको कार्यान्वयनबाट यहाँको विकासमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमा यहाँ यात्रा गर्न सकिने वडाध्यक्ष रोकाले बताए ।

यात्राअवधि र बाटो छोट्याउन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ ।

 

 

 

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

भोजपुर । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो ।

आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताए । सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उनले जानकारी दिए ।

गुप्तेश्वर महादेव मन्दिरमा राम नवमी र बालाचर्तुदशीमा मेला लाग्ने गरेको छ । भोजपुर र खोटाङसँगै देशका विभिन्न स्थानबाट भक्तजन पूजार्चनाका निम्ति यहाँ आउने गरेका छन् ।

 

 

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग

टीकापुर । सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख छिन् । अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा छन् । कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ । “अरु साथीहरु साइकल चढेर विद्यालय गएको देख्थे, मेरो पनि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो”, सपना भन्छिन्, “अब साथीहरुसँगै म पनि लैजान्छु ।”

टीकापुर नगरपालिका–४ ले वडामा रहेका १८ जना छात्रालाई साइकल किनिदिएपछि अन्य छात्रा पनि यस्तै सोचिरहेका छन् । साइकल पाएपछि छात्रा मात्र होइन उनीहरुका अभिभावक पनि खुसी भएका छन् । रुपा चौधरीकी आमा शिला चौधरी पनि छोरीले साइकल पाएपछि खुसी छिन् । “छोरी आधा घण्टा बढी समय हिँडेर विद्यालय जान्थिन”, शिलाले भनिन्, “पढाइमा राम्रो नतिजा ल्याउने छोरीको आवश्यकता साइकल भए पनि किनिदिन सकेका थिएनौँ ।”

हीराकुमारी डगौरा थारुकी छोरी आयुषा चौधरी सरस्वती मावि वनगाउँमा अध्ययन गर्छिन् । घरबाट विद्यालय पुग्न आधा घण्टा बढी समय लाग्ने भए पनि आयुषा नियमित विद्यालय उपस्थित हुन्थिन् । “मलाई कहिलेकाहीँ ढिला हुन्थ्यो, ढिलो भएको दिन आमा आज नजा भन्नुहुन्छ, तर म मान्दिनथेँ”, आयुषाले भनिन्, “अब साइकलमा २० मिनेटमै पुग्छु, समय पनि बचत हुन्छ । आमालाई पनि घरको काममा सघाउन भ्याउँछु ।”

कक्षा ११ मा अध्ययनरत सन्ध्या चौधरीलाई पनि क्याम्पस जान समस्या हुन्थ्यो । “बिहान ६ बजे कलेजका लागि हिँड्नुपर्ने भएकाले समस्या थियो”, उनले भनिन्, “अब सजिलो भएको छ । आजदेखि कलेज साइकलमा जान्छु ।” टीकापुर नगरपालिका– ४ ले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको हो । वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरुको शैक्षिक विकासका सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको छ ।

वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभाष गराउन साइकल दिएको बताए । “यति धेरै समस्या र गरिबी भएर पनि छोरीहरु पढाइमा अब्बल छन्”, उनले भने “यस्ता छोरीहरुको सहयोगी सरकार बन्नुपर्छ भनी यो सहयोग गरेका हौँ ।”

वडाले रु एक लाख ६० हजार बजेटमा १८ साइकल वितरण गर्यो । साइकलका लागि ६० बालिकाको निवेदन परेको थियो । जसमा विपन्न र जेहेन्दारलाई प्राथमिकता दिइएको बताइएको छ । कार्यपालिका सदस्य रुपमति डगौराले छात्राहरुको विद्यालयमा पहुँच वृद्धि गर्न साइकलले मद्दत पुग्ने बताइन् । “लगनशील भएर पढ्नुहोला”, उनले भनिन्, “राम्रो पढ्नलाई आर्थिक समस्याले पछि पार्दैन, नगरपालिकाले विपन्न, पढाइमा लगनशील विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ ।”

 

 

 

हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरूष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन् । पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ ।

अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताए ।

चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन् । ‘अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस–माघमा हामी यत्तिकै बस्नुपथ्र्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन् । यसले होटल व्यवसायलाई राम्रो भएको छ”, होटल व्यवसायी जाङ्मु शेर्पाले भने ।

खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ । हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उनले बताए ।

करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन् । जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौँसहित अन्यत्र गएका छन् । खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।

समृद्ध नेपाल निर्माणमा संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभारबैठकमा सम्बोधान गर्नुहुँदै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुुसन्धानमा सरकारले ध्यान दिने बताउनुुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको आधुुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरुको उचित जगेर्ना गर्ने पनि स्पष्ट गर्नुभयो । बैठकमा सहकुुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुुभयो ।

उपकुलपति प्रा डा धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिहरुको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आयव्यय (बजेट) पारित गरेको थियो ।

पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्त्व पाउँछ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको बताउनुभएको छ। जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो।

‘आजदेखि निकै उत्साहपूर्ण रुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी रुपान्तरण र पुनर्निर्माणको अभियानमा जाँदैछौं, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ।’

पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उहाँले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताउनुभयो।

पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो। त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने पनि उहाँले स्पष्ट गर्नुभयो।

महासंघका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीले आफूहरुले गरेका सुधारका प्रयास र चुनौतीका बारेमा चर्चा गरेका थिए।

 

 

सन् २०२४ मा एक सयभन्दा बढी देशमा चुनाव

जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनु अपरिहार्य मानिन्छ । प्रजातान्त्रिक मुलुकहरूमा जनताले मत दिएर चुनिएका जनप्रतिनिधिबाट शासित हुने अपेक्षा हरेक नागरिकले राखेका हुन्छन् ।

सन् २०२४ मा विश्वका १०० भन्दा बढी देशमा चुनाव भए र यी देशमा विश्वको कुल जनसङ्ख्याको झण्डै आधा व्यक्ति बसोबास गर्दछन् जसमा विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका १० मध्ये सात वटा मुलुकमा चुनाव सम्पन्न भएका छन् । यसै वर्ष ठुलो जनसङ्ख्या भएका ब्राजिल, भारत, संयुक्तराज्य अमेरिका, पाकिस्तान, मेक्सिको, इन्डोनेसिया, फ्रान्स, बेलायत, दक्षिण अफ्रिका र रसियामा चुनाव भए । साथै युरोपेली संसद्का लागि जुन महिनामा चुनाव भयो । नेसनल डेमोक्रेटिक इन्स्टिच्युटका अनुसार, यी चुनावमा लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमध्ये ८० प्रतिशत मुलुकको चुनावमा सत्तारूढ दल पराजित भएका थिए ।

विश्व राजनीतिमा प्रभावशाली मानिएका दुई ठुला प्रजातान्त्रिक मुलुकहरू भारत र संयुक्तराज्य अमेरिकामा निर्वाचन भए । यी निर्वाचनको नतिजा भारतमा अप्रत्याशित नदेखिए पनि अमेरिकी चुनावी परिणामले धेरैलाई आश्चर्यचकित बनायो । संयुक्तराज्य अमेरिकाको ४७ औं राष्ट्रपतिका लागि नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभयो । उहाँले राष्ट्रपतिका लागि ५३८ इलेक्टोरल कलेज भोटमध्ये ३१२ मत पाउनुभएको थियो । डेमोक्रेटिक पार्टीका प्रभावशाली उम्मेदवार कमला ह्यारिसले यसपटक अमेरिकी सर्वोच्च पद राष्ट्रपतिमा विजयी हुने आँकलन थियो । तर स्वीङ स्टेट भनिने राज्यमै ह्यारिसले नराम्रो पराजय भोग्न बाध्य हुनुभयो । ट्रम्पको दल रिपब्लिकन पार्टीले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा समेत झिनो भए पनि बहुमत हासिल गरेको छ ।

ट्रम्पको विजयसँगै अमेरिकी दुबै सदनमा रिपब्लिकन पार्टीको विजयले ट्रम्पका केही एजेन्डालाई लिएर विश्वव्यापी चासो, चिन्ता व्यक्त हुँदै आएको छ । खासगरी ट्रम्पका आप्रवासन, सीमा सुरक्षा र विश्वमा हाल चलिरहेका गाजा, युक्रेन र सिरिया द्वन्द्व जस्ता विषयमा के हुने भन्ने अन्यौल कायमै छ । उता छिमेकी मुलुक क्यानाडा, युरोपेली मुलुकहरू र चीनसँगको व्यापार द्वन्द्व पनि सँघारमै छ । अमेरिका प्रथम को नारालाई सार्थक बनाउन अबरोध गर्ने जुनसुकै मुलुकमाथि करको डन्डा चलाउने ट्रम्पको योजनालाई लिएर विश्वव्यापी विरोध भइरहेकै छ ।

दक्षिण एसियामा चुनावी नतिजा
नेपालको निकट छिमेकी मुलुक भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) कै नेतृत्वमा केन्द्रमा सरकार बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भाजपाले एकल प्रचण्ड बहुमत सहितको नतिजा ल्याउन नसके पनि संसदमा सबैभन्दा ठुलो दलको हैसियतले सरकार बनाएको छ । ५४३ सदस्यीय लोकसभामा २४० स्थान जितेको भाजपाले गठबन्धनका दलहरूको समर्थनमा सरकार बनाएको छ । भारतलाई स्थिरता दिने गरी प्रधानमन्त्री मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिनुभएको छ ।

भारतको यस चुनावी नतिजाबाट छिमेकी मुलुकहरू उत्साहित बनेका छन् । खासगरी भारतले अघि सारेको नेभरहुड फर्स्ट नीति बमोजिम भारतले व्यवहार गरेको भनिए पनि छिमेकी मुलुकहरूले त्यस बमोजिम लाभ प्राप्त गर्न भने सकेका छैनन् । तैपनि, चीन भारतबिच गलवान क्षेत्रको तनावलाई मत्थर बनाएर दुबै देशबिच सम्बन्ध सामान्यीकरणको प्रयास भने जारी रहेका खबर आइरहेका छन् । चाँडै दुबै देशका उच्च नेतृत्वले एकअर्काका मुलुकको भ्रमण गर्ने तयारी भइरहेको समाचार छ । नेपालजस्तो दुबै देशको बीचमा रहेको मुलुकका लागि यो निश्चय पनि खुसीको कुरा हो ।

दक्षिण एसियाली मुलुक पाकिस्तानमा पनि यसै वर्षको फेब्रुअरी ८ मा संसद्का लागि चुनाव भयो । पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमा राखेर तथा उहाँको दल पाकिस्तान तेहरिक–ए इन्साफ (पिटिआई) लाई चुनावी प्रतिस्पर्धा गर्नबाट वञ्चित गराएर भएको आम निर्वाचनबाट पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (नवाज) सबैभन्दा ठुलो दल बन्न सफल भएको थियो, तर बहुमत थिएन । उसले बेनजिर भुट्टोका छोरा बिलाबल भुट्टोको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीको समर्थनमा सरकार बनाएको छ । यस चुनावमा अनेक चुनौतीका बिच इमरान खानको पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरुले संसदमा दोस्रो स्थान ओगटेका छन् । मार्च ९ मा सम्पन्न राष्ट्रपतिको चुनावमा पाकिस्तान पिपुल्स पार्टीको समर्थनमा उठेका आशिफ अलि जर्दारी राष्ट्रपति चुनिनुभएको छ ।

दक्षिण एसियाली मुलुक श्रीलङ्कामा राष्ट्रपति र संसदको चुनाव यसै वर्ष सम्पन्न भए । गत वर्ष जनविद्रोहबाट त्यहाँको महिन्दा राजपाक्षको सरकार पतन भएसँगै रनिल विक्रमासिंघेले अन्तरिम सरकारको नेतृत्व गरी चुनाव सम्पन्न गराउनुभएको थियो । २१ सेप्टेम्बर २०२४ मा सम्पन्न यस चुनावबाट श्रीलङ्काको जनथा विमुक्थी पेरामुना (जेभिपी) पार्टी समर्थित वामपन्थी नेता अनुरा कुमारा दिस्सानायके राष्ट्रपतिमा विजयी हुनुभयो ।

साथै २०२४ नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा पनि उहाँकै घटक दल (नेसनल पिपुल्स पावर) ले बहुमत हासिल गरेको छ । कोभिडपछि अस्तव्यस्त बनेको श्रीलङ्काली अर्थतन्त्र उकास्न, राजनीतिक तहमा रहेको नातावाद र भ्रष्टाचार रोक्न तथा देशको जर्जर अर्थव्यवस्थामा सुधार ल्याउन नयाँ सरकार सफल हुने अपेक्षासाथ श्रीलङ्काली जनताले अपार समर्थन र विश्वास गरेका छन् । चीनका कारण भारत र श्रीलङ्काबिचको सम्बन्धमा दरार उत्पन्न भएको भन्दै आलोचना भइरहेको समयमा श्रीलङ्काली नवनिर्वाचित राष्ट्रपति दिस्सानायकेले भारतको भ्रमण गरी सम्बन्ध सामान्यीकरण गर्ने प्रयास थाल्नुभएको छ ।

उता माल्दिभ्समा समेत यसै वर्ष २०२४ अप्रिल २१ मा संसद्को चुनाव भयो । यी चुनावमा राष्ट्रपति मोहम्मद मोइज्जुको दल पिपुल्स नेसनल कंग्रेस (पिएनसी) ले बहुमत हासिल गरेको छ । यसबिच छिमेकी मुलुक भारतसँगको तिक्ततापूर्ण सम्बन्धमा सुधार ल्याउन मोइज्जुले भारतको पटकपटक भ्रमण गर्नुभएको छ ।

बङ्गलादेशमा जनवरी ७ मा सम्पन्न आम निर्वाचन भने विवादको घेरामा परेको थियो । प्रमुख विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टीले बहिस्कार गरेको यस चुनावमा शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिगले प्रचण्ड बहुमत हासिल गरेको थियो । शेख हसिना पुनः प्रधानमन्त्रीमा चुनिए पनि जनताले विद्रोह गरेपछि शेख हसिना स्वयं देश छाडेर हाल भारतमा आश्रय लिइरहनुभएको छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अहिले नयाँ अन्तरिम सरकार बनेको छ, यसले सम्भवतः यसै वर्ष चुनाव गर्दैछ ।

भुटानमा पनि यसै वर्ष जनवरी ९ मा ४७ सदस्यीय नेसनल एसेम्ब्लीका लागि निर्वाचन सम्पन्न भयो । चुनावमा पिपुल्स डेमोक्रेटिक पार्टीले २४ स्थानमा विजयी हुँदै सरकार बनाएको छ । चुनावपछि छिरिङ तोग्बे प्रधानमन्त्री बन्नुभएको छ ।

दक्षिण अमेरिका र अफ्रिका
संयुक्तराज्य अमेरिकाको छिमेकी मुलुक मेक्सिकोमा पनि यसै वर्ष राष्ट्रपति र संसद्को दुबै सदनका लागि २०२४ जुन २ मा चुनाव भयो । चुनावमा तत्कालीन राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरकै दल समर्थित उम्मेदवार क्याउडिया शेनबम इतिहासमै सर्वाधिक मत ल्याएर विजयी हुनुभयो । उहाँ मेक्सिकोको इतिहासमै पहिलो महिला राष्ट्रपति हुनुहुन्छ ।

मध्य एवं दक्षिण अमेरिकी मुलुकहरु उरुग्वे र भेनेजुएलामा पनि चुनाव सम्पन्न भए, तर भेनेजुएलाको निर्वाचन विवादास्पद थियो । भेनेजुएलामा जुलाई २८ मा भएको निर्वाचनबाट छ वर्षे कार्यकालका लागि निकोलस मदुरो पुनः राष्ट्रपतिमा विजयी भएको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय चुनावी पर्यवेक्षकहरुले यो चुनाव स्वतन्त्र र निष्पक्ष नभएको बताएका छन् । चुनावमा पराजित भएको भनिएका विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजले भेनेजुएला छाडेर स्पेनमा शरण लिनुभएको छ ।

नेल्सन मण्डेलाको देश दक्षिण अफ्रिकामा मे २९ मा नेसनल एसेम्ब्लीका लागि आम निर्वाचन भएको थियो । सन् १९९४ यता सातौँ पटक भएको यस चुनावमा मण्डेलाले स्थापना गरेको अफ्रिकन नेसनल कंग्रेस (एएनसी) लाइ ठुलो झड्का लागेको थियो । पार्टीभित्रको तीव्र विवादका बिच संसदमा सबैभन्दा ठुलो पार्टी हुन एएनसीले सफलता हासिल गरे पनि बहुमत गुमाएको थियो । एएनसीकै पूर्व नेता एवं पूर्व राष्ट्रपति ज्याकोब जुमाले एएनसीलाई कडा टक्कर दिएका थिए । साना तीन पार्टीको समर्थनमा एएनसीका नेता सिरिल रामाफोसा पुनः राष्ट्रपतिमा निर्वाचित भएर नयाँ गठबन्धन सरकार निर्माण भएको छ ।

अफ्रिकी मुलुकहरु घाना, चाड, मोजाम्बिक, नामिबिया, रुवान्डा, सेनेगल, टोगो, ट्युनिसिया, अल्जेरिया, बोत्सवाना, मौरिटानिया, मौरिसस समेतका मुलुकमा राष्ट्रपति वा संसद्का लागि चुनाव सम्पन्न भएका छन् ।

एसियाली मुलुकहरूमा चुनाव
एसियाली मुलुकमध्ये सन् २०२४ को जलवायु सम्मेलन (कोप २९) आयोजना गरेको अजरबैजानमा फेब्रुअरी ७ मा सम्पन्न निर्वाचनमा इल्हाम अलियेभले ९२ प्रतिशत मत पाएर पाँचौं पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००३ देखि निरन्तर अजरबैजानको राष्ट्रपति हुनुहुन्छ । यसै मुलुकमा सेप्टेम्बर १ मा संसद्को पनि चुनाव भएको थियो र अलियेभकै न्यू अजरबैजान पार्टीले बहुमत हासिल गरेको छ ।

बीस करोडभन्दा बढी जनसङ्ख्या रहेको इन्डोनेसियामा यसै वर्षको फेब्रुअरी १४ मा राष्ट्रपति, उपराष्ट्रपति र संसद्का लागि निर्वाचन भएको थियो । चुनावबाट पूर्व सेनाप्रमुख एवम् रक्षामन्त्री प्रबोओ सुबिआन्तो राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो तर उहाँको दल भने संसदमा तेस्रो स्थानमा थियो ।

अर्को एसियाली मुलुक इरानमा पनि जुलाई ५ मा राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । इरानी राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि नयाँ राष्ट्रपतिका लागि निर्वाचन हो । चुनावबाट स्वतन्त्र एवं सुधारवादी उम्मेदवार मसुद पेजेस्कियान निर्वाचित हुनुभयो । गाजा युद्ध, लेबनानमाथि इजरायली हमला, सिरियामा विद्रोहीको सत्तारोहण तथा इजरायल र इरानबिच एकअर्का मुलुक लक्षित क्षेप्यास्त्र प्रहारजस्ता भूराजनीतिक घटनाले इरानी नयाँ सरकारमाथि चौतर्फी दबाब छ ।

उता जापानमा पनि अक्टोबर २७ मा संसदका लागि चुनाव भयो । भ्रष्टाचार काण्डहरुबाट गुज्रेको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले चुनावमा निकै ठूलो हार व्यहोर्नु परेको थियो, तथापि संसदमा सबैभन्दा ठुलो दल बनेको थियो । साना दलसँग मिलेर एलडिपीले सरकार बनाएको छ ।

युरोपेली मुलुकमा चुनाव
युरोपेली मुलुकहरु अस्ट्रिया, बेलारुस, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, फिनल्यान्ड, जर्जिया, हंगेरी, आइसल्यान्ड, लिथुआनिया, मोल्दोभा, स्लोभाकिया र बेलायतमा राष्ट्रपति वा संसदका लागि चुनाव भएका थिए । यी चुनावमा खासगरी आप्रवासन, आर्थिक तथा युक्रेन मामिलालाई लिएर जनमत बाँडिएको छ ।

अर्को विवादास्पद चुनाव रसियाको राष्ट्रपतिका लागि मार्चमा भएको थियो । यहाँ राष्ट्रपति भ्लादिमिर पुटिन पुनः उम्मेदवार बन्नुभएको थियो र ८८ प्रतिशतभन्दा बढी मतसहित पाँचौं कार्यकालका लागि विजयी हुनुभयो । खासगरी उहाँका प्रखर विरोधी अलेक्सी नाभाल्नीको विवादास्पद रुपमा फेब्रुअरीमा जेलभित्रै निधन भएपछि त पुटिनका लागि चुनाव अझ सहज ठानिएको थियो । युक्रेन युद्धमा तीन वर्षदेखि होमिएको रसियामा नाभाल्नीलाई राष्ट्रपतिको उम्मेदवार हुन वञ्चित गरिएको थियो ।

उता, फ्रान्सको ५७७ सदस्यीय नेसनल एसेम्ब्लीका लागि जुन ३० र जुलाई ७ मा गरी दुई चरणमा आम निर्वाचन भयो । चुनावमा राष्ट्रपति इमानुएल म्याँक्रोको दललाई ठुलो झड्का लागेको थियो जसका कारण फ्रान्सेली सरकार अस्थिरताको भुमरीमा परेको छ ।

बेलायतमा भने जुलाई ४ मा भएको निर्वाचनले उलटफेर नतिजा ल्यायो । कन्जरभेटिभ्स पार्टीका नेता एवम् प्रधानमन्त्री ऋषि सुनकको दलले नराम्रो पराजय व्यहोर्‍यो । छ सय ५० सदस्यीय हाउस अफ कमन्सका लागि भएको चुनावमा विपक्षी लेबर पार्टीले ४११ स्थान जितेर सरकार बनायो । अघिल्लो चुनावमा ३६५ स्थान जितेको ऋषि सुनकको दलले यस चुनावमा १२१ स्थान मात्र जितेर नमिठो हार व्यहोरेको थियो ।

विश्वभर हाल भइरहेका चुनावी प्रक्रियाहरूले लोकतान्त्रिक विधिलाई थप सबल बनाउन भूमिका खेलेको देखिए पनि कतिपय चुनावी परिणामलाई आम जनता र स्वतन्त्र चुनावी पर्यवेक्षणले शङ्काको घेरामा राखेका छन् । स्वतन्त्र, भयरहित र निष्पक्ष चुनावमार्फत समावेशी नेतृत्व चयन गर्न सकिए सबै वर्ग, लिङ्ग, क्षेत्र, समुदायको उत्थान र अपनत्व विकास हुने निश्चित छ ।