Page 221 – Nepalboli

नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा सम्बोधन गर्ने हुनुभएको छ । उहाँले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै हुनुहुन्छ ।

 

 

मधेस केन्द्रित दलहरुका नेताहरूद्धारा आपसी मोर्चाबन्दी र एकतामा जोड

मधेसी दलका नेताहरूले मधेसी दलको बिचमा मोर्चाबन्दी तथा एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन । शनिबार काठमाडौँमा मधेशी पत्रकार समाजले आयोजनले गरेको छलफल कार्यक्रममा मधेस दल बिचको मोर्चाबन्दी र एकताको आवश्यकता बारे छलफल भएको हो । कार्यक्रममा बोल्ने अधिकांश नेताले सहकार्य तथा एकताको आवश्यकता रहे पनि विगतमा भएको यस्तो मोर्चा र पार्टी एकता किन भङ्ग भयो भन्ने बारेमा समीक्षा हुनुपर्ने कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा लोसपाका वरिष्ठ नेता लक्ष्मण लाल कर्ण, अनिल झा सहित जसपाका नेता रेणु यादव, जसपा नेपालका नेता राजकिशोर यादव लगायतकाले प्रमुख दुुई दलहरु काग्रेस र एमालेले संविधान संशोधन गरेर देशलाई दुई दलीय शासनमा अघि वढान खोजेको भन्दै मधेशी दलहरुको आपसी मोर्चाबन्दी तथा एकतामा जोड दिएका हुन ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले विगतमा भएको मोर्चा एकताको बारेमा समीक्षा हुन आवश्यक रहेको बताए । उनले दलहरूको बिचमा एकता हुनु आवश्यक रहे पनि नेतृत्व परिवर्तन गरेर मात्र एकता र गठबन्धन हुने कुरा उल्लेख गरे ।

जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले मधेसी दलको बिच एकता सम्भव नभए पनि लुज एलायन्स बनाउनुपर्ने कुरामा जोड दिए । ‘विगतमा बनेका मोर्चाहरू किन चलेन किन टिकेन त्यसको बारेमा समीक्षा हुँदै गर्छ तर त्यस अघि एउटा लुज एलायन्स बनाएर छलफललाई अगाडि बढाउनु पर्छ,’ उनले भने ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले मधेसको राजनीतीको अहिले सम्मको अवस्थाको गहिरो अध्यान अनुुसन्धान गरेर अगाडीको वाटो तय गर्नुपर्नेमा जोड दिएका थिए । उनले विगत देखि अहिले सम्मको गम्भिर समिकक्षा गर्दै अगाडी वढनुपर्ने तर्क अघि सारेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव डा सुरेन्द्र झाले सुरेन्द्र झाले एकता र मोर्चाको लागि केही अध्ययन गर्न आवश्यक रहेको बताए । जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा शिवजी यादवले पनि मधेसी दलहरूबिच एकता सम्भव नभएको स्पष्ट पारे । यद्यपि एउटा मोर्चा वा गठबन्धन बनाएर जान सकिने उनको भनाई थियो ।

यसअघि भएका एकता किन टिकेन भन्ने बारे समीक्षा हुन आवश्यक रहेको उनले बताए । उनले भने, ‘यहाँ अस्तित्वको लडाइँ छ । पहिचानको लडाइँ छ । त्यसका लागि सहकार्य गर्न आवश्यक छ । यसका लागि पहल हुनुपर्छ ।’ राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले मधेसी दलबिच एकता वा सहकार्य हुनुपर्छ तर यसका लागि विगतको समीक्षा हुन आवश्य रहेको दोहोर्‍याए । छलफल कार्यक्रममा विषय प्रवेश गराउदै मधेशका युवा नेता संजय यादवले मधेशी दलहरुको आन्तरिक अवस्था र देशको वर्तमान राजनितीक परिस्थिती वारेमा विश्लेषण गरेर सुनाएका थिए ।

 

 

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

उहाँको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

 

 

 

देशभर एकै साथ जलपंछी गणना गरिँदै

कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए ।

उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ । गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो ।

‘यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौँ’ उनले भने, ‘गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन सकेको छैन, यी ताल र अन्य संभावित सिमसार क्षेत्रमा चरा अबलोकनमा जानेको विवरण माग गरेका छौँ इच्छुक जो सुकैले जान सक्छन् ।’

विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने उनले बताए । भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो । यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।

सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणनाकार्य नियमितरुपमा हँुदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ ।

यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन्को अवस्था र जलवायू परिवर्तनको अवस्था बारे जानकारी पाउन सकिने उनी बताउँछन् । जलपंछी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको उनको भनाइ छ ।

यसले रामसार महासन्धी, प्रवासी प्रजातीसम्बन्धी महासन्धी, जैविक विविधताको महत्वपूर्ण पंछी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिष्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलपंछी सङ्ख्या अनुमान कार्यक्रमजस्ता विभिन्न अन्र्तराष्ट्रिय सन्धि तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पुरयाउने उनको बुझाइ छ ।

गत वर्ष सन् २०२४मा गरिएको जलपंछी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्र्तगत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपंछी रेकर्ड गरेका थिए ।

यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए । बरिष्ठ पछीविद पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अबसरमा सार्वजनिक गरिने छ ।

विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपंछीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

स्थानीयरुपमा जलपंछी गणनाकार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साईट–कोअर्डिनेटरका रुपमा खटाइएको छ । उत्तरी धुव्र रुस, चिन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनूकुल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङगल क्षेत्रमा आउने गर्दछन् ।

उत्तरी धु्रवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजिमा नेपालमा आउने गर्दछन् । यहाँका ताल तलैया, नदीमा माछा, किराफटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्नेकार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ । नेपालमा हिउँदमा बसाइँसराई गरी आउने जलपछीमा हाँसका विभिन्न प्रजाती, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन ।

गएको असोजमा आएको बाढी र पहिरोको क्षतिमा १२ अर्ब ८६ करोड ६६ लाख बीमा दावी

गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको रु एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ बराबर भुक्तानी भएको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ । रु नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दावी परेको छ । त्यसमा रु दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ।

मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा रु ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ। मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ।

त्यसमा रु २८ करोड ९९ लाख १६ हजार बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा रु चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा रु तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ।

कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा रु एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा रु ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दावी भएको छ । प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ।

बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको बभुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ।

कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

 

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ । कल्प संस्थाद्वारा शुक्रबार आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताउनुभयो ।

हिजो छोरीहरुको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उहाँको भनाइ थियो । “व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परि।वर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ । हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ । प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुन सक्छन् । आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ ।”

प्रधानमन्त्री ओलीले महिलाहरुमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।

 

 

 

सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले पछिल्लो कार्यकालमा भ्रष्टाचार, सामाजिक विभेदविरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मैले अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी राम्रोसँग जानुपर्छ भन्नेकुरा मा दुईमत छैन । एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेकुरा पनि साँचो हो । तर जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेका छन् गम्भीर ढङ्गले जनताले हेर्न चाहेका छन् इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । सहमति त्यसको निम्तिहुनुपर्छ ।’’

उहाँले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताउनुभयो । उहाँले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेकुरामा आफू सहमत रहेको जिकिर गर्नुभयो ।

‘‘पछिल्लो कार्यकाल मैले भ्रष्टाचार विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ । मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु भन्ने मेरो विश्वास छ ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘कहिले कहीँ शब्द तलमाथि पर्नसक्छ, किनभने म अलि भावुक छु । तर नेरो नियत र निष्ठा सफा छ भन्नेकुरा अब विस्तारै जनताले र सबै साथीले बुझ्दै जानुभएको छ ।’’

अध्यक्ष प्रचण्डले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

 

ओठेभक्ति प्रदर्शनले देश बन्दैन- नेता केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले ओठेभक्तिको प्रदर्शनले देश नबन्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको बताउनुभयो । उहाँँले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताउनुभयो । उहाँले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचेत गराउनुभयो । भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने उहाँको भनाइ छ । भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा नष्पक्ष ढङगबाट न्याय दिनसक्ने पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह गर्नुभयो ।

‘देश अत्यन्त जटिलतम र चुनौतिपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति प्रदर्शन गरिरहेका छौँ, तर सुशासनको पहिलो र प्रमुख शर्त भनेको भ्रष्टाचार मुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज हुन सक्दैन, त्यति बेलासम्म सुशासन कायम हुँदैन, उहाँले भन्नुभयो ।

“सुशासनको सट्टा अहिले दुःशासनको परिदृश्य निर्माण भएको अवस्था छ । पूर्व प्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेतालाई के भन्न खोजिरहेको छु भने हामीले धेरै ब्लेन गेमहरु गनरौं” उहाँले भन्नुभयो, “एउटाले अर्कोलाई दोष लगाउने, सत्ता बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने, सत्तामा हुँदा जो भए पनि बिर्सिनेखालको परिस्थिति छ, त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ । मानक बनाऔँ भ्रष्टाचार नियन्त्रणको निम्ति ।”

भ्रष्टाचार निवारण गर्न मुखले ओठेभक्ति गरेर मात्र नपुग्ने उहाँको भनाइ छ । अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न उहाँले सुझाव दिनुभयो । नेता केसीले सत्तामा पुगेकालाई नियतबस भ्रम फैल्याएर बद्नाम गर्न खोजिएको बताउनुभयो ।

 

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्री डा राणा शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवम् नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नुहुँदै नेपाली जनता, नेपाल सरकार र आफ्ना तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँका परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

पूर्वराष्ट्रपति एवम् कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो । मन्त्री डा राणाले सो शोकपुस्तिकामा पूर्वराष्ट्रपति कार्टर एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भन्नुभएको छ ।

मन्त्री डा राणाले शोक सन्देशमा भन्नुभएको छ, “पूर्व राष्ट्रपति कार्टर, परोपकार, शान्ति तथा प्रजातन्त्रका क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । अमेरिकाको राष्ट्रपतिका साथै कार्टर सेन्टरको संस्थापकका रुपमा रहेर उहाँले मानवअधिकार तथा प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुने गर्दछ ।”

नेपालमा संविधानसभाको निर्वाचनका समयमा सन् २००७ र २०१३ मा स्वर्गीय कार्टरले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै मन्त्री डा राणाले स्वर्गीय कार्टर नेपालका एक सच्चा मित्र र शुभचिन्तकका रुपमा नेपालमा सधैँ शान्ति र प्रजातन्त्रका पक्षमा रहनुभएको उल्लेख गर्नुभएको छ ।

 

 

 

 

आवश्यकताको सिद्धान्त अनुसार कांग्रेस–एमालेको सरकार- नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले ठुलो सङ्घर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसक्नुभएका सिंहले पार्टी सङ्गठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसको सङ्गठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

उहाँले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताउनुभयो । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले आवश्यकताको सिद्धान्तअनुसार कांग्रेस–एमालेको सरकार बनेको बताउनुभयो ।

‘‘अहिले संसदका दुई ठुला दल मिलेर सरकार बन्दा कहीँ नभएको भयो भनेको सुन्छु । आवश्यकताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,’’ उहाँले भन्नुभयो, ‘‘साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेको हो ।’’

उहाँले आवश्यकताको सिद्धान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको बताउनुभयो ।

राजनीति स्थायित्व बिना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताउनुभयो । सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ भने लहान नगरपालिकाको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।