Page 219 – Nepalboli

वार्ता तथा संवादका लागी जनमत पार्टीद्धारा दुई सदस्यीय कार्यदल गठन

जनमत पार्टीले मधेश केन्द्रित दलहरुवीच मोर्चाबन्दीका लागि कार्यदल बनाएको छ । जनमतको आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादवलाई मधेश केन्द्रित दलसँग संवाद गर्न जिम्मेवारी तोकेको छ ।

हिजो मात्रै लोसपा नेपालले समेत यस्तै कार्यदल गठन गरेका थिए । यस अघि जसपा नेपाल र जनता प्रगतीशिल पार्टी समेतले यस्तो कार्यदल गठन गरेका छन ।
पछिल्लो समयमा मधेश केन्दित दलहरुको विचमा मोर्चाबन्दी तथा एकताका लागी छलफलहरु प्रारम्भ भएका छन ।

 

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बनाऔ- काँग्रेस महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस झापा क्षेत्र नं १ ले मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उनले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिए ।

“राणा शासनपछि कुनै पनि प्रधानमन्त्री पाँच वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिने गरी व्यवस्था गर्न सकिन्छ । कतिपयले मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको कुरा पनि गरिरहेका छन्, तत्काल नेपालमा त्यसको आवश्यकता छैन । संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन”, महामन्त्री शर्माले भने ।

त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उनको भनाइ थियो । “लोकप्रिय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्छ । सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत लिने व्यवस्था पनि गर्न सकिन्छ”, महामन्त्री थापाले भने ।

यसैगरी उनले काँग्रेस र नेकपा (एमाले) संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै दुवै दलले एउटा व्यक्ति कति पटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताए ।

चिसोले तराई-मधेसको जनजीवन बन्यो कष्टकर

लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन्।

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए। कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो।

आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार बिहान ८:५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिए। प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिए।

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

 

 

 

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका

गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ। नगरपालिकाले गोरखा भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न ३२ योजनासहितको कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अन्र्तगत गोरखामा ऐतिहासिक, धार्मिक तथा खेल क्षेत्रको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि देशभरका सातवटै प्रदेशमा ‘जाउँ है गोरखा कार्यक्रम’देखि लिएर प्रदेशस्तरीय खेलकुद प्रतियोगितासमेतको आयोजना गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

‘गोरखालाई धार्मिक, ऐतिहासिक तथा खेल क्षेत्रसँग जोडेर यहाँको पर्यटनको विकासका लागि नगरपालिकाले नयाँनयाँ योजनाको थालनी गर्न लागेको हो,ु उनले भने, ‘अब पर्यटकलाई गोरखा घुम्न आउनका लागि प्रोत्साहित गर्छौँ।’

गोरखा घुम्न आउने पर्यटकलाई लक्षित गरेर नगरपालिकाले नगरभित्रका ५६ वटा धार्मिक एवं पर्यटकीयस्थलको पहिचान गरेर ‘बुकलेट’समेत तयार पारेको नगरप्रमुख रानामगरले जानकारी दिए। आँबुखैरेनी हुँदै गोरखा प्रवेश गर्ने पर्यटकका लागि पर्यटकीयस्थल पुग्ने बाटोको सूचना दिन क्यूआर कोडसहितको ‘स्टेट नम्बर’ राख्ने तयारी नगरपालिकाले गरेको छ ।

‘क्यूआर स्क्यान गरेपछि पर्यटकले सम्बन्धित पर्यटकीयस्थल र त्यसको महत्वका बारेमा थाहा सजिलै पाउन सक्छन्, उनले भने, ‘आउँदो माघ महिनाभित्रमा यो काम सम्पन्न गर्ने नगरपालिकाको कार्य योजना छ।’

त्यस्तै पर्यटकलाई जिल्ला पर्यटकीयस्थलको जानकारी दिने सदरमुकामस्थित बसपार्क नजिकै रहेको बहुउद्देश्यीय भवनमा नगरपालिकाले सूचना केन्द्र स्थापना गर्ने योजना बनाएको छ।

नगरपालिकाले धार्मिक पर्यटक भित्र्याउनका लागि गोरखामा विश्वनाथ योगीको सम्मेलन गर्ने, गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्ने, रोट महोत्सव तथा शान्ति पद्यात्रा कार्यक्रम गर्ने, काठमाडौँ, पोखरा, लुम्बिनी, बन्दीपुर सौराहलगायतका स्थानमा पर्यटन सञ्जाल गठन गर्ने कार्यतालिकामा उल्लेख गरेको छ।

‘गोरखा आउने पर्यटक सहजीकरणमा मद्दत पुर्‍याउनका लागि विविध पर्यटन प्रवर्द्धनसम्बन्धी तालिम सञ्चालन गरिनेछ, नगरप्रमुख रानामगरले भने, ‘त्यसबाहेक सामाजिक सञ्जालमार्फत पनि गोरखाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनसँग सम्बन्धित प्रतियोगिता आगामी फागनुमा गर्ने योजना बनाइएको छ।’

नगरपालिकाले गोरखा भ्रमण वर्ष सफल बनाउनका लागि होटल व्यवसायी सङ्घको आयोजनामा पर्यटन व्यवसायीको भेला, नगरपालिकामा गण्डकी प्रदेशस्तरीय न्यायिक भेला २०८१, पर्यटनसम्बन्धी छलफललगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ।

 

 

 

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरू

वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोकसँगै रहेको विपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ। महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि आइतबारदेखि डोजर लगाएरस्थान खाली गराउन थालेको हो।वीरगञ्ज महानगरपालिका, नगर प्रहरी प्रमुख हरि भुसालले दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घरटहरा खाली गराएको जानकारी दिए।

‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बिपी उद्यान खाली गर्न थालेका छौँ, उनले भने, ‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन।’ महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब २५० भन्दा धेरै अस्थायी रुपमा सञ्चालनमा रहेका छन्। नगर प्रहरी प्रमुख भुसालले महानगरले उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्न लागेको जानकारी दिए।

‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ,’ उनले भने,‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर रहेका छन् । अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन्।’

नगरप्रमुख भुसालले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर आकर्षक खालको पार्क अघि बढाउने बताए। विपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाहीले महानगरले आफूहरुलाई हटाएर बिचल्ली बनाएको दाबी गरे।

‘बिपी उद्यानमा दैनिक पाँच–दश केजी बङ्गुरको मासु बेच्दै आइरहेका थियौं,’ उनले भने,‘यहीबाट परिवारको गर्जा टार्दै आइरहेका थियौं। आजदेखि त हटाएपछि अब कहाँ के गर्ने भन्ने अन्योल सिर्जना भएको छ।’

उनले महानगरले आफूलाई मात्रै नभएर अन्यलाई पनि हटाउनुपर्ने बताए।

‘डोजर लगाएर हामीलाई त हटाएका छन्। अन्य कपडा पसल, तरकारी तथा फलफूल बिक्री वितरण गर्नेलाई नहटाउने हुन कि भन्ने आशंका उब्जिएको छ,’ उनले भने।

महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो। सो म्याद पनि यही पुस १० गते सकिएको थियो।

तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो।

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि भने आइतबार एक्साभेटर लगाएर खाली गरेको हो। महानगरले यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ।

 

आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी

सरकारले संसदको आगामी (हिउँदे) अधिवेशनमा ३० वटा विधेयक पारित गर्नेगरी काम अघि बढाएको छ ।  अहिले संसदमा १९ वटा विधेयकहरु रहेका छन् । जसमा केही विधेयकहरु सरकारले थप गरेर करिव ३० वटा भन्दा विधेयक आगामी अधिवेशनबाट पारित गर्नेगरी काम शुरु गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

संसदमा रहेका १९ वटा विधेयकबाहेक सरकारले संघीय प्रहरीसम्बन्धी दुई वटा र अर्थ सम्बन्धी केही विधेयकहरु गरी ११-१२ वटा विधेयक संसदमा दर्ता गराउने तयारी गरेको जानकारी दिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख सचेतक घिमिरेले संसदको अधिवेशन सकिएपछि सांसदहरु जिल्ला जाने र संसदीय समितिमा गणपूरक संख्या नपुग्दा बैठक बस्न नसकेको स्पष्ट पारे। उनले विधेयकमाथिको छलफल समयमा नसकिँदा प्रदेश र स्थानीय सरकारलाई थप कानून निर्माण गर्न समस्या आइरहेको अवस्थालाई मध्यनजर गरेर सरकारमा रहेका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले संसदमा विचाराधिन विधेयकमा सहमति जुटाउन संयन्त्र समेत बनाएको बताए ।

संयन्त्रले समितिबाट विधेयक चाँडो पास गर्नका लागि सांसदहरुसँग छलफल गरेर काम अघि बढाइरहेको उनको भनाइ छ । २ वर्षमा १७ वटा विधेयक मात्रै पारित हुनु दुखद् भएको उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको कमी नहुने पनि स्पष्ट पारे । हिउँदे अधिवेशनबाट ३० वटा विधेयक पारित गर्नसके ठूलो उपलब्धि हुने बताए ।

 

 

 

 

 

 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबार सुरु भएको छ। धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प स् आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको सहभागिता रहनेछ।

‘क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्छ’

गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपदबाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्ने बताउनुभएको हो ।

“डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए) को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनःनिर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । विपद् क्षतिको मूल्याङ्कन भइसकेको ठाउँमा पुनःनिर्माणका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताउनुभयो । “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौँ । आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्याङ्कन सुरु हुनेछ”, उहाँले भन्नुभयो ।

उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उहाँको भनाइ छ । गृहमन्त्री लेखकका अनुसार आइतबार साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दैछ । आजको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनःनिर्माणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ ।

 

 

वर्तमान संविधान नै खारेज गर्नुपर्छ, संशोधन गरेर केही हुदैन- प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधान खारेज गर्नुपर्ने माग अघि सारेको छ । संबिधान कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु गलत भएको दाबी गर्दै साहले संबिधान खारेज नै गर्नु पर्ने टिप्पणी गरेका छन् । आइतबार सिंहदरबारस्थित आजपा दलको कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष साहले संविधान संशोधन नभई खारेज नै गर्नुपर्ने बताए ।

‘संविधान कार्यान्वयन सम्बन्धी कानुन सरकारले ल्याउन चाहेन । प्रहरी ऐन अलपत्र छ, निजामती ऐन बेवारिसे छ । संविधान अनुरूपको सामाजिक न्याय प्रदान गर्ने शिक्षा र स्वास्थ्य ऐन अलपत्र छ,’ साहले भने, ‘संविधानमा भएका मौलिक हकहरु कार्यान्वयन गर्ने कुनै कानुन नै सरकारले बनाएनन् । यसरी सरकारलाई संविधान कार्यान्वयनमा कुनै चासो नै छैन ।’

हिजोको दिनमा संविधान निर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेको बताउँदै उनले संविधान नै कार्यान्वयन नगरीकन उही पार्टी र नेताहरूले संशोधनको कुरा गर्नु भनेको अपराध भएको टिप्पणी उनले गरे ।

यो व्यवस्थाले मुलुक र जनताको अवस्था परिवर्तन नहुने ठोकुवा गर्दै यस्तो ‘खिचडी व्यवस्था’ खारेज गर्नुको विकल्प नभएको उनले बताए । दलाल दलतन्त्र, लुटतन्त्रले आम नागरिक निराश भएको बताउँदै उनले यो व्यवस्था खारेज गरेर आम जनताको शासन हुने व्यवस्था आवश्यक भएको बताए ।

 

 

मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म छैन- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म नभएको बताउनुभएको छ। मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताउनुभयो। मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उहाँले स्पष्ट पार्नुभयो।

राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखि नै “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवर्ध्दन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताउनुभयो।

आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम मार्फत नेपाल सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाइ थियो।