भारतीय नोट रू २०० र ५०० अब नेपालमा चल्ने – Nepalboli

भारतीय नोट रू २०० र ५०० अब नेपालमा चल्ने

   २०८३ श्रावण ७, बिहीबार  

नेपालमा अब भारतीय रूपैयाँ (भारू) २०० र ५०० दरका नोट चल्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) सूचना जारी गर्दै नेपाली वा भारतीय नागरिकले यी दरका नोटहरू प्रतिव्यक्ति २५ हजार रूपैयाँसम्म ल्याउन–लैजान पाइने व्यवस्था गरेको हो।

सूचनामा भनिएको छ, ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५,००० को सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको छ।’

नेपालमा २०८२ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था गरिएको थियो।

नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै