नेकपाको १५ बुँदे निर्वाचन अपिल- व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ – Nepalboli

नेकपाको १५ बुँदे निर्वाचन अपिल- व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ

   २०८२ फाल्गुन १४, बिहीबार  

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १५ बुँदे निर्वाचन अपिल सार्वजनिक गरेको छ। । पार्टीले विगतमा व्यवस्था बदलेको दाबी गर्दै नेकपाले अब देशको अवस्था बदल्ने संकल्प गरेको हो ।संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गर्नुभएको अपिलमा पार्टीले विगतमा व्यवस्था बदलेको र अब देशको अवस्था बदल्ने उल्लेख छ ।

बुधबार जारी अपिलमा नेकापाले राष्ट्रिय स्वाधीनता, सुशासन र आर्थिक–सामाजिक रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डु र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने बाह्य हस्तक्षेपकारी गतिविधिप्रति सतर्क रहन आह्वान गरिएको छ।

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने उद्घोष

पार्टीले सुशासन र पारदर्शितालाई लोकतन्त्रको अपरिहार्य पक्ष मान्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति जाँचबुझ गर्ने र अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने नेकापाको योजना छ ।

वर्तमान निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भएकाले यसलाई सरल र कम खर्चिलो बनाउनुपर्नेमा अपिलले जोड दिएको छ । यस्तै, संविधानलाई कार्यान्वयनका क्रममा देखा परेका समस्या सुल्झाउन शासकीय स्वरूपलगायतका पक्षमा आवश्यक परिमार्जन गर्न सकिने पार्टीको धारणा छ ।

स्वाधीन अर्थतन्त्र र वैज्ञानिक समाजवाद

परनिर्भरता अन्त्य गरी स्वाधीन अर्थतन्त्रको जग बसाल्नुलाई नेकापाले मुख्य आर्थिक कार्यभार बताएको छ । कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास र रोजगारी सिर्जनामार्फत व्यापार घाटा कम गर्ने लक्ष्य राखिएको छ ।

पार्टीले नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई आफ्नो अन्तिम लक्ष्यका रूपमा प्रस्तुत गरेको छ । परराष्ट्र नीतिका सम्बन्धमा पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्र सङ्घको बडापत्रका आधारमा छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्ने र असमान सन्धि–सम्झौता खारेज गर्न पहल गर्ने प्रतिबद्धता अपिलमा उल्लेख छ । विगतका कमजोरीप्रति आत्मलोचित हुँदै पार्टीले यस पटक तारा चिह्नमा मतदान गरी देश बदल्ने अवसर दिन मतदातासँग आग्रह गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै