निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय भएको छ ।
प्रवक्ता अर्यालले बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१-८२–२०८५-८६) स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो । यस्तै, सरकारले विक्रम संवत् २०८३ सालका लागि वैशाख १ देखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गरेको प्रवक्ता अर्यालले चर्चा गर्नुभयो ।
बैठकले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्राप्त हुने चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।बैठकले ऊर्जा क्षेत्रमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनबेँशी खोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने निर्णय भएको प्रवक्ताले उल्लेख गर्नुभयो ।
प्रवक्ता अर्यालले बैठकले जेनजी परिषद् गठन गर्ने र नेपाल सरकारका सचिवद्वय डा। रामप्रसाद घिमिरे र डा। हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिँदै धन्यवाद दिने निर्णय गरेको जानकारी दिनुभयो ।
साथै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई फ्रान्समा आयोजना हुने २१ औँ इन्टरपोल सम्मेलनमा सहभागी हुन स्वीकृति दिने लगायतका निर्णयहरू भएको उहाँले बताउनुभयो ।

