महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने अनुमान – Nepalboli

महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने अनुमान

   २०८२ माघ २७, मंगलवार  

गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो । यस वर्ष महाशिवरात्रि फागुन ३ गते मनाइँदै छ । महाशिवरात्रि पर्व मनाउनको लागि संस्थानले पर्व अगाडी र पछाडि गर्नुपर्ने कार्यहरूको तयारी पूरा गरेको गुठी संस्थानमा प्रवक्ता जनक पोखरेलले जानकारी दिए ।

उनका अनुसार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौँका विभिन्न अखडाहरूमा साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनका लागि संस्थानले आवश्यक तयारी पूरा गरेको छ । संस्थानले महाशिवरात्रि पर्व अवधिभर पशुपति क्षेत्रका मठ-मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने उनले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार फागुन १ गते संस्थानको शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूलाई परम्परागत विधिअनुसार संकल्प गर्नको लागि राष्ट्रपति कार्यालयमा जाने तयारी छ ।

संकल्प सामग्रीमा राडी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूल लगायत २१ प्रकारका सामग्री समावेश छन् । सोही दिन पशुपति मन्दिर परिसरमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था गरिनेछ ।

फागुन २ गते अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरका साधुसन्तलाई भोजनको व्यवस्था गरिनेछ भने राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली तथा थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजनको प्रबन्ध मिलाइनेछ । मुख्य दिन फागुन ३ गते शाखा कार्यालय पशुपतिबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिने उनले जानकारी दिए ।

सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बालिनेछ । यसदिन साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिने उनले बताए ।

फागुन ४ गते पनि मन्दिर परिसर र अखडाहरूमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ भने फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङका कार्ड वितरण गरिनेछ । सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाइ गरिने उनले जानकारी दिए ।

गुठी संस्थानले यस वर्ष महाशिवरात्रि पर्वका लागि दाउरा खरिदमा ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।

गत वर्ष महाशिवरात्रि पर्वमा २ हजार ३८९ जना साधुसन्तलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो ।

दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ । साथै करिव ५० हजार केजी दाउराको प्रबन्ध गरिएको थियो ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै