लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर पनि कार्यक्रममा सहभागी
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा सोमवार लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गर्यो । बौद्ध धर्ममा विशेष केन्द्रित रहेको यो कार्यक्रममा भारत र नेपाल दुवैको समृद्ध सांस्कृतिक सम्पदा र परम्पराको उत्सवको रुपमा मनाइएको थियो। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डेले संयुक्त रूपमा गर्नु भएको थियो ।
कार्यक्रममा नागरिक समाजका सदस्यहरू, शिक्षाविद्हरू, वरिष्ठ भिक्षुहरूका साथै लुम्बिनी विकास कोषका सदस्यहरु सहितको सहभागिता रहेको थियो । कार्यक्रममा भारत र नेपाल दुवै देशका चर्चित कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। श्री सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा छ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो। साँझमा नेपाली ब्यान्डद्वारा परम्परागत संगीत पनि प्रस्तुत गरिएको थियो ।
यसै महोत्सवको एक भागको रूपमा सोमवार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया-नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी” शीर्षकको एक शैक्षिक गोष्ठी आयोजना समेत गरिएको थियो । गोष्ठीले भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न र जनता-जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न बौद्ध सम्पदाको महत्त्वबारे आफ्ना अन्तर्दृष्टि साझा गरेका थिए।

