सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेद्वारा निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयमा आज बिहान भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । आजैका दिनबाट सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउन निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।
बाँसरी जग्गा प्रकरणमा संलग्न रहेकाहरुको समेत बयान लिन निर्देशन दिइएको छ । यसक्रममा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदै छ ।