वेस्ट ब्याङ्कमा बढ्दो तनाव: युरोपेली कूटनीतिज्ञको टोली र फ्रान्सेली मेयरमाथि आक्रमण – Nepalboli

वेस्ट ब्याङ्कमा बढ्दो तनाव: युरोपेली कूटनीतिज्ञको टोली र फ्रान्सेली मेयरमाथि आक्रमण

   २०८३ कार्तिक २, आईतवार  

काठमाडौँ— इजरायली बस्ती नजिकै पश्चिमी तट (वेस्ट ब्याङ्क)मा हिंसाका घटना बढिरहेका बेला युरोपेली कूटनीतिज्ञहरूको टोली र एक फ्रान्सेली मेयरमाथि आक्रमण भएको छ । घटनाप्रति अमेरिका र फ्रान्सले गम्भीर चासो व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बर्नार्ड बाउडोक्स प्यालेस्टिनी किसानसँग जैतुन टिप्ने क्रममा मुख छोपेका व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणकारीले उनलाई लात्ती तथा फलामको बारले प्रहार गरेको बताइएको छ ।

घटनाको भोलिपल्ट अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि वेस्ट ब्याङ्कमा विदेशी नागरिकमाथि भएका आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

यसअघि द वासिङ्टन पोस्टकी अमेरिकी फोटो पत्रकार हेइडी लेभिनमाथि पनि इजरायली बस्तीका बासिन्दाबाट आक्रमण भएको थियो । आक्रमणमा उनको मेरुदण्डको हड्डी भाँचिएको बताइएको छ । अमेरिकी राजदूत माइक हुकाबीले घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन् ।

इजरायली विदेश मन्त्रालयले पछिल्ला घटनाको निन्दा गर्दै अनुसन्धान गर्ने जनाएको छ । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली बस्तीका बासिन्दाविरुद्ध बदनाम गर्ने अभियान चलाइएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नेतान्याहुका प्रमुख राजनीतिक प्रतिस्पर्धी गदी आइसेनकोटले भने वेस्ट ब्याङ्कमा भइरहेको हिंसाले इजरायलको अन्तर्राष्ट्रिय वैधानिकता कमजोर बनाइरहेको बताएका छन् ।

वेस्ट ब्याङ्कमा हरेक वर्ष जैतुन टिप्ने मौसममा तनाव र हिंसाका घटना बढ्ने गरेका छन् । प्यालेस्टिनी पक्षले इजरायली बस्तीका बासिन्दाबाट किसानमाथि आक्रमण तथा जग्गा कब्जाका घटना हुने आरोप लगाउँदै आएको छ ।

सन् १९६७ को युद्धपछि इजरायलको कब्जामा रहेको वेस्ट ब्याङ्कमा करिब ३० लाख प्यालेस्टिनी र पाँच लाख इजरायली बस्तीवासी बसोबास गर्छन् । अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्साले वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्तीलाई अन्तर्राष्ट्रिय कानुनविपरीत मान्दै आएको छ ।

पछिल्ला घटनाले भने प्यालेस्टिनी किसान र इजरायली बस्तीवासीबीचको पुरानो तनावसँगै विदेशी नागरिक र कूटनीतिक प्रतिनिधिमाथिको सुरक्षा चुनौतीसमेत थप गम्भीर बनेको संकेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै