शीर्ष ६ सुरक्षित गर्ने लक्ष्यमा नेपाल, आज क्यानडासँग निर्णायक भिडन्त – Nepalboli

शीर्ष ६ सुरक्षित गर्ने लक्ष्यमा नेपाल, आज क्यानडासँग निर्णायक भिडन्त

   २०८३ कार्तिक १, शनिबार  

काठमाडौं—आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आफ्नो शीर्ष ६ को स्थान सुरक्षित गर्ने लक्ष्यसहित आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी ओडीआई शृङ्खलाको तेस्रो खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपालका लागि आजको खेल अंकतालिकामा आफ्नो स्थिति मजबुत बनाउने महत्वपूर्ण अवसर हो । नेपालले शृङ्खलाका यसअघिका दुवै खेलमा जित निकालिसकेको छ । पहिलो खेलमा क्यानडालाई तथा दोस्रो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

लिग–२ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । नेपालभन्दा एक स्थान तल रहेको क्यानडाको ३५ खेलबाट २७ अंक छ ।

शृङ्खलाको सुरुवाती खेलमा ओमान र नेपालसँग पराजित भएको क्यानडाले बिहीबार ओमानलाई हराउँदै आफ्नो अंक बढाएको हो । क्यानडाको उक्त जितपछि नेपालको शीर्ष ६ मा स्थान तत्कालै सुरक्षित हुन सकेन ।

त्यसैले आजको खेल नेपालका लागि विशेष महत्त्वपूर्ण बनेको छ। क्यानडालाई पराजित गर्न सके नेपालले लिग–२ को शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ ।

तर क्यानडासँग पराजित भए नेपालको शीर्ष ६ को यात्रा अन्तिम खेलसम्म लम्बिनेछ। यस्तो अवस्थामा नेपालले सोमबार हुने आफ्नो अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।

यसर्थ आजको खेल नेपालका लागि केवल अर्को लिग–२ खेल नभई ८८शीर्ष ६ सुरक्षित गर्ने निर्णायक अवसरका रूपमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै