अर्थतन्त्र सुधारतिर, शोधनान्तर स्थिति १ खर्ब बचतमा – राष्ट्र बैंक – Nepalboli

अर्थतन्त्र सुधारतिर, शोधनान्तर स्थिति १ खर्ब बचतमा – राष्ट्र बैंक

   २८ मंसिर २०८०, बिहीबार  

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको तथ्यांक सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्मको वित्तीय विवरण प्रकाशित गर्दै राष्ट्र बैंकले मुलुकको बाह्य क्षेत्र निकै मजबुत अवस्थामा रहेको दाबी गरेको छ।

समीक्षा अवधिमा मुलुकको गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको बिहीबार सार्वजनिक तथ्यांकमा उल्लेख छ। चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेकोले अर्थतन्त्र सुधारतिर अघि बढेको राष्ट्र बैंकको दाबी छ। गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको थियो।

मुलुकको बाह्य क्षेत्रमा सुधार भएसँगै विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। आयातमा भएको कमी र रेमिट्यान्समा वृद्धिका कारण विदेशी मुद्राको सञ्चिति बढेको तथ्यांकमा उल्लेख छ। गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ८.९ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपालसँग १२ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। उक्त सञ्चितिले १३.६ महिनाको वस्तु तथा ११.३ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त हुन्छ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अर्थतन्त्रका अधिकांश सूचकहरु उकालो लागेका छन्।

अर्थतन्त्रका सूचकहरु सकारात्मक विन्दुमा उभो लागेका कारण अर्थतन्त्रले विस्तारै लय समाउन लागेको दाबी अर्थमन्त्री डा प्रकाशशरण महतले समेत गरे।  राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले पनि यही देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनालाई आयात धान्ने डलर सञ्चिति रहेको छ भने महँगी पनि घटेको छ। त्यस्तै रेमिट्यान्स पनि राम्रै भित्रेको देखिन्छ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा रेमिट्यान्स २६.४ प्रतिशतले वृद्धि भई ४७७ अर्ब ९६ करोड भित्रिएको छ। राष्ट्र बैंकले बिहीबार चार महिने समीक्षा अवधिको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १३७,४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८,८४१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १९६,७३५ र ८७,४२८ रहेको थियो।

त्यस्तै कात्तिकमा महँगी पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। असोजको तुलनामा कात्तिकमा महँगी ०.२२ प्रतिशतले महँगी घटेको हो।

गतवर्षको कात्तिकमा ८.०८ प्रतिशतले महँगी बढेको थियो। २०७८ फागुनमा रुस–युक्रेन युद्ध सुरु हुनुका साथै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएपछि महँगी वृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतमा समेत महँगी घट्दा नेपालमा मूल्यवृद्धि घटेको हो। चालु आर्थिक वर्षमा सरकारले महँगी ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ।

कात्तिकमा खाद्य पदार्थको मूल्यवृद्धि ६.०१ प्रतिशतले बढ्दा गैरखाद्यपदार्थको मूल्य ४.८९ प्रतिशतले बढेको छ। गतवर्षको तुलनामा चालु आर्थिक वर्षको कात्तिकमा तरकारीको मूल्य ५.३५ प्रतिशत र घ्यू तेलको १४.२३ प्रतिशतले घट्दा दालको मूल्य १२.०२ प्रतिशत, दुग्ध पदार्थको ११ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, चिनीको १४.५९ प्रतिशत र मसलाको मूल्य ३६.४६ प्रतिशतले बढेको छ।

यस्तै, राष्ट्र बैंकका अनुसार सूर्तिजन्य पदार्थको मूल्य १.२५ प्रतिशत, माछामासुको मूल्य १.४१ प्रतिशत र मदिराको मूल्य ५.४६ प्रतिशतले बढेको छ। गैरखाद्यपदार्थमा यातायात क्षेत्रको मूल्य १.८६ प्रतिशतले घट्दा लत्ताकपडाको ४.९६ प्रतिशत, घरको ४.३२ प्रतिशत र स्वास्थ्यको ३.४९ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार डलरमा मुद्रा सञ्चिति पनि बढेको छ। एक महिनामा विदेशी मुद्राको सञ्चिती ४२ करोड डलरले बढेको राष्ट्र बैंकको तथ्याकमा उल्लेख छ। असोजमा १२ अर्ब ३३ करोड डलर रहेको विदेशी विनिमय सञ्चिती कात्तिकमा १२ अर्ब ७५ करोड डलर रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै