ई सेवाको कर्मचारी भन्दै ५० लाख ठगी गरेको भन्दै ८५ जना माथी मुद्दा दर्ता
अनलाइन बैंकिङ सेवा ई सेवाको कर्मचारी बनेर करिब ५० लाख ठगी गरेको आरोपमा ८५ जना विरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले करिब डेढ महिना हिरासतमा राखेर अनुसन्धान गरेपछि ८५ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
८५ जनाको गिरोहले ई सेवाका ७२ जना प्रयोगकर्ताबाट ४९ लाख १६ हजार ४३३ रुपैयाँ ठगी गरेको पाइएपछि ठगी र संगठित अपराधको कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले ई सेवाका कर्मचारी बनेर ठगी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेर गत कात्तिक १२ गते सार्वजनिक गरेको थियो। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। काठमाडौंको टोलीले करिब डेढ महिनासम्म गरेको अनुसन्धानमा यो ठगी धन्दामा ८५ जनाको संलग्नता रहेको खुलेपछि उनीहरुलाई विपक्षी बनाउँदै मुद्दा दायर गरिएको हो।
यो प्रकरणमा पाँच जना पक्राउ परेका छन् भने बाँकी ८० जना फरारको सूचीमा छन्। ८० जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।