निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार
सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। भदौ २१ गते सरकारले शिक्षा र सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको थियो। बुधबार शिक्षा विधेयक संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयक भने संसद्मा अझै दर्ता हुन सकेको छैन।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विधेयक संसद्मा पेस गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा थप काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट विधेयकको मस्यौदा आएपछि तुरुन्तै संसद्मा दर्ता गर्न हामी तयार छौँ। अहिले संसद्मा दर्ता गर्नुभन्दा अगाडि फाइनल गर्न विधेयक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा छ।”
निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले प्रधानमन्त्री न्युयोर्क जानुअघि सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा दर्ता हुने आफूले जानकारी पाएको बताउनुभयो। मन्त्रीपरिषद्ले विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्र्णय गरिसकेपछि मस्यौदामा कतिपय प्रावधान परिमार्जन गर्न लागिएकाले विधेयकको मस्यौदा संसद्मा पेस गर्न अलमल भएको टे«ड युनियनको शङ्का छ।