वीरगञ्जस्थित बाल सुधार गृहमा पनि तनाव – Nepalboli

वीरगञ्जस्थित बाल सुधार गृहमा पनि तनाव

   २७ भाद्र २०८०, बुधबार  

पर्साको वीरगञ्जस्थित बाल सुधार गृह गएराती तनाव भएको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेपछि तनाव भएको हो । गएराति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । जसकाकारण तनाव भएको थियो ।

उनीहरुबीच तनाव बढेपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।

बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ । तर बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरेका छन् ।

यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो । सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै