चिनियाँ राजदूतको गैरकूटनीतिक अभिव्यक्ती बारेमा संसदीय समितिले परराष्ट्रमन्त्री संग छलफल गर्ने
नेपालका लागि चीनका राजदूत छन् सोङले कुटनितीक मर्यादा विपरित शनिवार नेपाल भारत व्यापार सम्बन्ध वारेमा दिएको अभिव्यक्तिबारेमा संसदीय समितिले परराष्ट्रमन्त्रीसंग छलफल गर्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्री एनपी साउदलाई छलफलका लागि बिहीवार बोलाएको छ । समितिमा राजदूत छन्को अभिब्यक्ति लगायतका अन्य महत्वपूर्ण विषय र एजेण्डामा छलफल गर्ने तयारी समितिको रहेको छ ।
समितिको बैठकमा नेपालमा रहेको विदेशी कुटनीतिज्ञहरुको आचारसंहिताका विषयमा समेत छलफल हुने एजेण्डा रहेको बताए । नेपालमा रहेका राजदूतहरुलाई आचारसंहिता कसरी पालना गराउने भन्ने विषय लगायतका एजेण्डामा पनि समितिमा छलफल हुने लागेको छ ।
नेपालका लागि चीनका राजदूत छन् सोङले शनिवार काठमाडौंमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका थिए । उनले कार्यक्रममा कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा गैरकुटनीतिक टिप्पणी गरेका थिए।
नेपाली कूटनीतिज्ञहरूले नेपाल र भारतको सम्बन्धमाथि चिनियाँ राजदूतले गरेको टिप्पणी आपत्तिजनक भएको बताएका छन् । उनीहरुले छिमेकी देशसँगको सम्बन्ध नेपालको नितान्त आन्तरिक मामिला भएकाले चीनका राजदूतले खुलेर आलोचनात्मक टिप्पणीगर्नु गैरकुटनीति भएको बताएका हुन् । सरकार माथी उनी संग स्पष्टिकरण सोध्नु पर्ने आवाज उठेको छ ।
नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा दीक्षितले भने, ‘चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उहाँले गर्नुभयो ।
यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस् भनेर भन्नुपर्छ ।’ यो उहाँले तत्कालै भन्नुपर्छ । परराष्ट्र मन्त्रालयको तहबाट नै चिनियाँ गभर्मेन्टलाई (बेईजिङ) लाई भनेर तिम्रो राजदूतले यस्तो यस्तो अभिव्यक्ति दिएको छ, यो विल्कुलै हाम्रो हितको कुरा होइन । यसको लागि तिमीले तुरुन्तै यो राजदूतलाई फर्काऊ भनेर हामीले भन्न सक्नुपर्छ ।’ दीक्षितले चिनियाँ राजदूतलाई फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई नै नेपालले पत्राचार गर्नुपर्ने बताए । उनले नेपालले चुच्चे नक्सा जारी गर्दा सबै मित्रराष्ट्रहरूलाई पत्राचार गरेको भए राम्रो हुने धारणा राखे ।