आजको मौसम – लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज (मंगलबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भूभाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तरपश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।