जनकपुरमा विवाहपञ्चमी-उत्सव
मधेश प्रदेशको राजधानी तथा मिथिलाञ्चलको केन्द्र जनकपुरधाममा आज उत्सवमय बनेको छ। मङ्सिर शुक्लपञ्चमीका दिन मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको दिनको सम्झनामा आज यो ठाउ उत्सवमय बनेको हो।
जनकपुरधाममा वैदिक विधिको मैथिल परम्पराअनुसार आज साँझ जनकपुरधामस्थित रङ्भूमि मैदानमा आयोजना हुने स्वयम्बर समारोह भएको र त्यसपछि जानकी मन्दिरको विवाहमण्डपमा सम्पन्न हुने विवाह कार्यक्रम हेर्न यहाँका गाउँ-नगर बस्तीबाट श्रद्धालु भक्तजन जनकपुर पुगेका छन ।
“कई दिनस नियाइरक फुर्सत मिलैने छीं, आई त रामजानकीके विवाह देखब कहिक ? कति दिन पहिलेदेखि फुर्सदको चाँजो मिलाएकी हुँ, रामजानकी विवाह हेर्न भनेर !”भङ्गाहा–३ बाट उत्सव हेर्न १५ जनाको समूहमा जनकपुर आएकी रामराजी यादवले भने, “हमरासभके मेला देखवाक याह एकटा अवसर अई (हामी गृहिणीका लागि मेलाजात्रा हेर्ने यही अवसर हो) ।”
आज बिहानैदेखि सार्वजनिक सवारीसाधनले पनि विवाह महोत्सवमा सहभागी हुनेलाई ओसारिरहेका छन्। महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबासलगायत क्षेत्रबाट जनकपुर जाने बसमा यात्रु कोचिएर यात्रा गरिरहेका छन्। यात्रुको चापलाई मध्यनजर गरी ग्रामीण क्षेत्रमा सार्वजनिक सवारीसाधन थप गरिए पनि अपूग भएको बलवा बजारका शिवनारायण झाले बताए।
विवाहपञ्चमी उत्सवमा सहभागी हुन मधेशका अधिकांश जिल्लाका साथै छिमेकी मुलुक भारतका मधुवनी, सीतामढी, शिवहर, पूर्वी तथा पश्चिमी चम्पारन, दरभङ्गा, समस्तीपुर, मुजफ्फरपुरलगायत जिल्लाका श्रद्धालु सीमा नाकाबाट प्रवेश गरिरहेका उनले जानकारी दिएकी छ।
पछिल्लो एक दशकको तुलनामा भारतीय दर्शनार्थीको घुइँचो यस वर्ष बढेको भिठ्ठामोर भन्सार कार्यालय नजिक घर भएका रुपेश शर्माले बताए। यस वर्ष प्रदेश सरकार, मिथिला क्षेत्रका स्थानीय तह र सम्बद्ध मठमन्दिरले तयारी थालेपछि महोत्सवको आकर्षण बढेको उनको भनाइ छ।
जनकपुरधामबाट महोत्सव सुरु हुन केहीपूर्व मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोली अयोध्या गएर जन्ती आउने निमन्त्रणा दिनेदेखि तिलकोत्सव सम्पन्न भएपछि प्रचारप्रसार बढेको जलेश्वर–५ का पूर्वउपप्राध्यापक ध्रुव रायले बताए।
“यो वर्ष अयोध्याबाट श्रीराम ट्रष्टका महासचिव चम्पत राय, अयोध्या नगर निगमका प्रमुख गिरिशपति त्रिपाठी र विश्व हिन्दू परिषद्का केन्द्रीयमन्त्री राजेन्द्र सिंह पङ्कजसहितका उच्चपदस्थ व्यक्तित्व जन्तीमा सहभागी भएका छन्”, रायले भननुभयो, “उनिहरू नेपाल प्रवेश गरेदेखि स्वागत तथा सम्मानका समारोह भएका छन्, यसले पनि महोत्सवलाई विशेष बनाएको हो।”
विवाह महोत्सवका लागि महोत्तरीको भङ्गाहा र भारतको जयनगरबाट जनकपुरका लागि चल्ने रेलमा अतिरिक्त सेवा थपिएको छ।