युवाहरु बुथको रक्षक हुनुस् – अध्यक्ष ओली – Nepalboli

युवाहरु बुथको रक्षक हुनुस् – अध्यक्ष ओली

   १८ भाद्र २०७९, शनिबार  

नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुने निर्वाचनमा युवाहरुलाई दर्शकको रुपमा नभइ बुथको रक्षकको भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

जनताको मताधिकारको सुरक्षासहित सहज रुपमा मतदान गर्ने अवस्था सिर्जना गर्न हरेक बुथहरुमा रक्षकको भूमिका निर्वाह गर्ने तवरले तयारी रहन उहाँले निर्देशन दिनुभयो । गृह जिल्ला झापामा दूई दिनदेखि बिभिन्न कार्यक्रममा सहभागी रहनु भएका ओलीले राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ कमिटीले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै सो आग्रह गर्नुभयो । जनताको मताधिकारको सुरक्षा गर्ने दायित्व युवाहरुको काँधमा रहेको भन्दै निर्वाचनमा दर्शकको भुमिका निर्वाह नगर्न आग्रह गर्नुभयो ।

‘एमालेले मंसिर ४ को निर्वाचन हार्दा देशले हार्छ’ अध्यक्ष ओलीले भन्नुभयो, “जसरी पनि जित्ने तयारी गर्नुस्, एमालेलाई यो चुनाव हार्ने छुट छैन ।” सत्ताको दुरुपयोग र धाँधली हुनसक्ने आशंका व्यक्त गर्दै अध्यक्ष ओलीले चनाखो रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आफ्नो मतधिकारको सुरक्षा गर्दै सबै मतदाताको मतदानको अधिकार सुनिश्चित गर्दै शान्तिपुर्ण रुपमा जनताले मतदान गर्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो । सभ्य र शालिन भएर मतदातालाई मत हाल्न अभिप्रेरित गर्न उहाँले आग्रह गर्नुभयो ।

पछिल्लो समय राजनीतिक दल र नेताहरुप्रति वितृष्णा पैदा गर्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीले थप्नुभयो, “ कुनै एउटा नेता खराब भयो भन्दैमा सबै नेता र राजनीतिक दल खराब हुन्छन् भन्ने होइन, जनतालाई बुझाउनुपर्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै